‘उपभोक्ता ठगी गर्नेले उन्मुक्ति पाउँदैन’

 

कृष्ण प्रसाद पौडल : निमित्त प्रमुख वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँके

 

 

सरोकारवाला निकायको दैनिक जसो निगरानी र उपभोक्ता सचेतनाका कारण बजारमा हुने ठगीमा कमी आएको छ । बजारमा हुने ठगीको हिजोको अवस्था र आजको अवस्थामा ठुलो भिन्नता आएको छ । तर यसैमा ढुक्क भएर बस्ने अवस्था छैन । ठगी हुँदैन भनेर चुप लाग्यौं भने समस्या बिकराल बन्छ । त्यसकार निरन्तर अनुगमन र उपभोक्ता जागरणका कार्यक्रम गरेर बजारलाई ठगी मुक्त बनाउने अभियानमा हामी सक्रिय भएर लागिरहेका छौं । यसमा आम उपभोक्ताहरुको पनि सक्रिय सहयोग र साथ चाहिन्छ । उद्योगी, व्यवसायीहरुले पनि हातेमालो गर्दै आउनु भएको छ ।
नेपालगन्ज बजार देशकै ठुलो शहर भित्र पर्छ । पश्चिम क्षेत्रको ठुलो बजार हिस्सा भएका कारण पनि यहाँको बजारलाई व्यवस्थित बनाउन चुनौतीपूर्ण कुरा हो । यहाँको बजारलाई उपभोक्तामैत्री बनाउने र ठगी जस्ता कुराबाट जोगाउने कार्य मुस्किल नै हो । किनकी बजार ठुलो छ । यद्यपी हामी निरन्तर काममा खटिएका छौं । उपभोक्ता जागरण मात्र होइन व्यवसायीलाई समेत जागरण गर्ने काम भईरहेको छ । यसका साथै कानुनी कारवाहीको बिकल्प पनि हामीसंग सुरक्षित छ । अटेरी गर्ने, भनेको मान्दै नमान्नेलाई जरिवाना गर्ने देखि तारेख लगाउने कामसम्म गरेका छौं ।
नेपालगन्जमा मिठाई र मासु पसल सुधार्नका लागि ठुलो चुनौती व्यहोर्नुपर्यो । सफा र चिटिक्क पार भनेर निर्देशन दिएर फर्किएपछि फेरी पहिल्येकै अवस्थामा ल्याउने गर्नाले टाउकै खाएको थियो । तर कारवाही गर्न थालेपछि अहिले सुध्रिन थालेको छ । बजारमा उपभोक्ता ठगी रोक्नका लागि मुल्य सुचि राख्ने कुरालाई नेपालगन्जमा हामीले निकै कडीकडाउ गरेका छौं । धेरै हदसम्म मुल्यसुचि नराखी पसल सन्चालन गर्ने कार्य रोकिएको छ अहिले । त्यसका लागि कडा भएर प्रस्तुत हुनु परेको थियो ।
चाडपर्वहरु आएका छन् । यतिबेला बजारमा ठुलो कारोबार हुन्छ । सबैलाई त आरोप नलगाउ तर यस्तो बेला कोही कसैले कृत्रिम अभाव सिर्जना गर्न खोज्छन् । हामी त्यस्तालाई बेलैमा सचेत गराउँछौ । हामीले ठगी रोक्न सक्रियतापूर्वक बजार अनुगमन गरिरहेका छौं । कोही कसैले अनेकन छिद्र खोजेर उपभोक्ता ठगी गर्छु भन्ने नसोंचे हुन्छ । हामी ठाउँको ठाउँ गर्छौ । उपभोक्तालाई ठगी हुनबाट जोगाउन नेपालगन्ज उद्योग वाणिज्य संघले समेत सहयोग गरिरहेको छ ।
( कुराकानीमा आधारित)

प्रकाशित मितिः बिहिबार, कार्तिक २९, २०७५     9:43:21 AM