पूर्व सैनिकको जनप्रतिनिधि यात्रा

गुर्भाकोट ( सुर्खेत) : जीवनको उर्जावान समय नेपाली सेनाको सेवामा बिताए, प्रशन्न शाहले । सैनिक भएर देशको सेवा गरेका अधिकांस सेवानिबृत्तहरु घरमै बसिरहेका हुन्छन् । पेन्सन पकाएर आराम गर्नेहरुको पनि कमी छैन । तर गुर्भाकोट ४ सहारे सुर्खेतका प्रशन्न शाहले पेन्सन पकाएर आरामको जीवन बिताउँन चाहेनन् । सेनाको जमदारबाट सेवानिबृत्त भएपछि पनि निरन्तर सामाजिक सेवामा सक्रिय भए, राजनीतिको बाटो समातेर ।
सैनिक जीवनमा उनले राजनीति त बुझे तर कहिल्यै गरेनन् । राजनीति गर्ने त्यो सेनाको धर्म पनि होइन । सेनाको कडा अनुशासन पालना गर्दै कर्तव्यनिष्ठ सिपाही
बने ।  सेवानिबृत्त भएका साथीहरु नातीनतिना खेलाएर बसेपनि तर उनको मनले आराम गर्न दिएनन् । सेवानिबृत्त भएपछि सहारे गाउँ फर्किए । त्यहाँ उनी समाजिक काममै सक्रिय भइरहेका बेला तत्कालिन नेकपा एमालेले उनलाई संगठित गरेको थियो ।
युथफोर्सको जिम्मा थियो । उनी त्यसै मार्फत राजनीतिमा सक्रिय भए । पछि प्रारायु संघको जिल्ला उपाध्यक्ष हुँदै सम्मेलन आयोजक कमिटिको संयोजक समेत बने । पार्टी राजनीतिमा गाउँ कमिटि अध्यक्ष बने । पार्टी राजनीतिमा प्रशन्नले लप्पनछप्पन जानेका छैनन् । सोझो राजनीति त उनको । सेनामा हुँदा आदेश पालन गरे जस्तै । गत वर्षको स्थानीय तहको निर्वाचनमा उनी गुर्भाकोट नगरपालिका ४ बाट वडा अध्यक्षमा बिजयी भए । पूर्व सैनिक प्रशन्न अहिले जनप्रतिनिधि बनेर आफ्नो गाउँको विकासको रेखा कोरिरहेका छन् ।
‘हिजो अरुले विकास गरेनन् भनेर गुनासो गर्ने ठाउँमा थियौं । आज गुनासो सुन्ने ठाउँमा छौं ।’ शाहले भने,‘सबैलाई साथ लिएर काम गरिरहेका छौं । ’ कडा अनुशासनमा बसेर लामो समय सैनिक जीवन बिताएर पूर्व सैनिक प्रशन्नलाई अहिले जनतासंग काम गर्दा कस्तो लागिरहेको छ त ? उनको जबाफ छ,–‘अबस्था ठिक उल्टो छ । सैनिकमा हुँदा माथि आदेश जस्ताको त्यस्तै मान्नुपथ्र्यो । आफुले पनि आदेश जस्ताको त्यस्तै पालना गराउनुपथ्र्यो । तर जनतासंग काम गर्दा त्यस्तो हुँदैन । कानुन कार्यान्वयन गराउने कुरा त छंदैछ । तर व्यवहारिकता पनि हेर्नुपर्छ । मैले भनेकै हुनुपर्छ भन्ने छैन ।’
जनतासंग काम गर्दा नरम व्यवहार नगरी नहुने उनले बुझेका छन् । जनताबाट आउने अनेकन गुनासाहरु कसरी सम्बोधन गर्ने भन्ने कुरामा अभ्यस्त भइसकेका छन् उनी । ‘जनप्रतिनिधि जनतासंग झर्केर त काम चल्दैन नी हजुर । मिलेर, बुझाएरै काम चलाउनुपरेको छ ।’– उनी भन्छन् । सेवा निबृत्त भएर राजनीतिमा प्रवेश गर्दा उनले खर्च पेन्सनबाटै उठाए । कसैसंग मागेनन् । अहिले पनि आर्थिक विषयमा कुनै पनि कुरामा जोडिन नपरोस् भन्ने उनले चाहेका छन् ।
गुर्भाकोट नगरपालिकाको ऐतिहासिक महत्व छ । राजारजौटासंग जोडिएके ठाउँ हो । बास्तबिक गुर्भाकोट वडा नम्बर ४ नै हो । जसको नेतृत्व शाहले गरेका छन् । प्राकिृतरुपमा पहाड र समधर भुगाले भरिएको गुर्भाकोटलाई पर्यटकियस्थल निर्माणको अभियान थालनी गर्नुपर्ने शाहले बताए । त्यसका लागि वडा तहबाट बजेट पनि छुट्याएका छन् । यि बिषयमा त्यसक्षेत्रका प्रतिनिधिसभा सदस्य ध्रुबकुमार शाही, प्रदेश सभाषद ठम्बर बिष्ट, नगरपालिकाका मेयर हस्तबहादुर पुन लगायतका जनप्रतिनिधि सकारात्मक छन् । ‘आदरणिय नेताहरु यो काम लागिरहनुभएको छ । आशा छ, गुर्भाकोट पर्यटकिय क्षेत्र बन्छ ।’–उनले भने ।

प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५     8:24:00 AM