कैलाशको ‘गेटवे’ मा भारतीय भिआईपीको आवातजावत

बाँके : नेपालगन्जले अर्को परिचय पाएको छ, त्यो हो हिन्दुहरुको आस्थाको केन्द्र कैलाश मानसरोवरको ‘ढोका’ । संसारकै हिन्दुहरुले भगवान शिवको बासस्थान मानिने मानसरोवरको एकपटक दर्शन गर्ने चाहाना राख्छन् । अति नै महत्व बोकेको कैलाश मानसरोवारको ‘गेट वे’को रुपमा नेपालगन्जले आफ्नो परिचय बनाएको छ ।
चिनको तिब्बतमा रहेको मानसरोवर जानका लागि सबैभन्दा धेरै भारतीइ तिर्थालु आउँछन् । तातोपानी नाका प्रयोग गर्दै आएका तिर्थालुहरु २०७२ सालमा भुकम्प आएर तातोपानी नाकामा अवरोध भएपछि त्यसपछिको सबैभन्दा छोटो रुट मानिने नेपालगन्ज हुम्लालाई उपयोग गर्न लागे । त्यसपछि नेपालगन्ज कैलाश मानसरोवर दर्शनको ढोका बन्न पायो । कैलाश दर्शन गर्न आउने सामान्य नागरिकदेखि भिभिआईपी तिर्थालुसम्मले नेपालगन्जको भुमि नटेकी सुःखै छैन । ‘नेपालगन्जले पाएको सबैभन्दा ठुलो अवसर हो ।’— नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने,—‘मानसरोवरको गेट वे बनेपछि यसले बिभिन्न क्षेत्रमा फाईदा पु¥याएको छ ।’
मानसरोवरको गेटवेले नेपालगन्जलाई बिदेशमा चिनाउन सहयोग त गरेको छ नै आर्थिक पक्ष समेत बलियो बनाउन सहयोग गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । कैलाश दर्शन गर्नेहरुकै कारण नेपालगन्जमा तारे होटलहरु खुलिरहेका छन् भने हवाई क्षेत्रमा राम्रै आम्दानी भईरहेको छ । नेपालगन्जदेखि हुम्ला र त्यसपछि तिब्बतको कैलाश मानसरोवार रुट पर्छ त्यसक्षेत्रमा हेलिकप्टर, हवाईजहाज र होटल क्षेत्रमा राम्रै लगानी भएको छ भने आम्दानी पनि बढ्दै छ । ‘नेपालगन्जको आर्थिकक्षेत्र चलायामान बनाउनका लागि मानसरोवरको ट्रान्जिटले महत्वपूर्ण भुमिका खेलेको छ ।’ नेपाल होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने,—‘यसैलाई लक्षित गरी करोडौको लगानीमा अहिले धमाधम होटल खुलिरहेका छन् ।’
कैलाश मानसरोवर रुटका कारण नेपालगन्जमा भारतीय राजनीतिज्ञ, कलाकार जस्ता भिआईपीको आवागमन सामान्य जस्तै बन्ने कुराले पनि यसको महत्व दर्शाउँछ । पछिल्लो समयमा कुनै न कुनै महिना भारतीय भिआईपीहरुले नेपालगन्जको भुमि टेकेका छन् । नेपालगन्जमा रात बिताएर राँझा बिमानस्थल हुँदै हुम्ला पुगेका छन् । अनि त्यहाँबाट मानसरोवर । भदौमा भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाण्डौं हुँदै कैलाश दर्शन गर्न पुगे । त्यसको चर्चामा थियो, नेपालगन्ज । उनी नेपालगन्ज रुट पारेर कैलाश दर्शन गर्ने बिषयले भारतीय सन्चारमाध्यम छाएको थियो । तर उनी पछि काठमाण्डौं हुँदै कैलाश पुगे । त्यसअघि भारतीय चर्चित अभिनेत्री जुहि चावला, नेता तथा कलाकार नवोजित सिद्धु, भारतीय योग गुरु रामदेव यही बाटो भएर कैलाश दर्शन गरिसकेका छन् ।‘टुरिजम प्रर्वधनमा कैलाशले नेपालगन्जलाई ठुलो सहयोग गरेको छ ।’—नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले भने,—‘अब यसलाई दिगो बनाउन जरुरी छ ।’ हालै मात्र नेपालगन्ज— दिल्ली सिधा हवाई उडान गर्ने बिषयले पनि चर्चा पाएको छ । त्यसो हुन सके कैलाश मानसरोवार आउने तिर्थयात्रुहरुलाई अझै सहज हुने छ ।

प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५     2:23:34 PM