नरैनापुरलाई स्मार्ट भिलेज बनाइने

विजनेश संवाददाता
बाँके २५ कात्र्तिक : सुगम जिल्ला बाँकेको दुर्गम गाउँपालिका भनेर चिनिने नरैनापुरलाई ‘स्मार्ट भिलेज’का रुपमा विकास गरिने भएको छ । सीमाक्षेत्रसंग जोडिएको र सदरमुकाम नेपालगन्जसंग भौगोलिकरुमा टाडा रहेको नरैनापुर विकासका दृष्टिकोणले निकै पछि छ । सदरमुकाम नेपालगन्ज आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताले पनि त्यसक्षेत्रको विकासको अवस्था कस्तो छ भन्ने तर्साउँछ ।
विकासमा पछि परेको सोही क्षेत्रलाई अब स्मार्ट भिलेज बनाईने संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए । ५ बर्षभित्रमा बाँकेको ग्रामिण क्षेत्रमा पर्ने नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले त्यसक्षेत्रका जनताको मुहारमा खुसी ल्याउने काम गरेका छन् । तर त्यो खुसी कार्यान्वयन भईसकेपछि अझ झल्किने छ । मन्त्री भएपछि पहिलोपटक नरैनापुर पुग्नुभएका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडि परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता ब्यक्त गरे । उनले भने,— ‘मैले आफ्नो मन्त्रालय अन्तर्गत्का केही योजना यो बर्ष पारेको छु, अन्य योजना आगामी बर्षमा थपिँदै जान्छन्, अरु मन्त्रालयसंग पनि कुरा गरेर आवश्यक योजना ल्याउँछु ।’
उनले बस्ती सुधार कार्यक्रम अन्तर्गत् नरैनापुरलाई स्मार्ट भिलेज बनाइने बताए । प्रदेश ५ मा ४ वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकोमा बाँकेमा नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाउने योजना परेको जानकारी मन्त्री राईले दिए । जनता आवास कार्यक्रम अन्तर्गत् यो बर्ष नरैनापुरका ३ सय परिवारलाई आवास दिइने पनि उनले बताए । । जनता आवास कार्यक्रम अन्तर्गत् फूसलाई छानामा परिणत गर्ने र अति विपन्नलाई घर बनाएर दिइने मन्त्री राईले जानकारी दिए । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबले नरैनापुरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्कता औंल्याए । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको विकास र समृद्धिका लागि आफू क्रियाशील रहेको बताउँदै बघौडालाई विशेष रुपमा हेर्न मन्त्री राईको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक २५, २०७५     11:06:21 AM