अनिवार्य भ्याटले साना इलेक्ट्रोनिक्सलाई मर्का

विजनेश संवाददाता
बाँके : उपमहानगरपालिका भित्रका सबैखाले इलेक्ट्रोनिक्स व्यवसाय अनिवार्य मूल्य अभिबृद्धि कर ( भ्याट) मा जाने व्यवस्थाले साना व्यवसायीलाई मर्कामा पारेको छ । थोरै लगानीमा सन्चालनमा रहेका इलेक्ट्रोनिक्स व्यवसायीले अनि अनिवार्य भ्याटमा जाने व्यवस्थाको बिरोध गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका इलेक्ट्रोनिक्स व्यवसायीले भ्याटमा जाने निर्णयले खर्च व्यवस्थापन र लेखाप्रणाली राख्न मुस्किल हुने बताएका छन् । नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष चिरञ्जीवि ओलीले सबै प्रकारका व्यवसायी भ्याट जाने निर्णयबाट साना व्यवसायी बिस्थापित हुने खतरा रहेको बताए । उनले यस्ता नीति, नियमहरु सच्याउन माग गर्दै सरोकारवाला निकायको ध्यानार्कषण गराईएको बताए ।
अध्यक्ष ओलीले लगानी र कारोवारको आधारमा भ्याटमा जाने व्यवस्था गर्नुपर्ने माग रहेको जनाएका छन् । उनले साना व्यवसायीलाई पान नम्बरका आधारमा व्यवसाय गर्न दिनुपर्ने माग गरेका छन् । इलेक्ट्रोनिक्स व्यवसायीले निम्न बिजिकरण पनि बन्द गर्न माग गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई ज्ञापनपत्र बुझाउ एशोसियसनले निम्न बिजिकरणले वार्षिक कारोवार न्यून देखिएर बैंकले ऋण प्रस्ताव मुल्यांकन कम गर्ने गरेको अध्यक्ष ओलीले बताए ।
एशोसियसनका महासचिव बिष्णु जोशीले करदाता व्यवसायीलाई सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने र करदाता व्यवसायीलाई न्यून ब्याजदरमा ऋण प्रवाह गर्ने व्यवस्था गर्न पनि माग गरिएको जोशीले बताए । त्यस्तै चेक बाउन्सको कारवाहीको नीति राम्रो भएपनि कारवाहीको अवस्था कमजोर भएको भन्दै एशोसियसन अध्यक्ष ओली कडाईका कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     1:38:29 PM