नेपालगन्ज उद्योग वाणिज्य संघ र महिला उद्यमीहरुको सहभागिता –

रचना श्रेष्ठ
मेरो व्यवसायिक जीवनको शुरुवात २०५५ साल पुस महिनादेखि हो । मेरी आमा सामाजिक क्षेत्रमा एकदमै सक्रिय रहे तापनि उहाँले नेपालगन्जको मुटु धम्वोझी चोकमा पसल थियो । तर पनि मेरो आमा बुबाको छोरीलाई धेरै पढाएर ठुलो मान्छे बनाउने सपना हँुदाहुँदै वाल्यावस्थादेखि नै व्यापार व्यवसायमा मेरो रुचि जाग्यो र मैले विद्यालयमा अध्ययनका साथसाथै व्यापार व्यवसाय नै गर्छु भन्ने सोंच बनाएर व्यापार व्यवसाय नैं रोजें । विवाह पछि मेरो श्रीमान् पनि व्यापारिक क्षेत्रमै कार्यरत भएको कारण पनि मलाई आफ्नो रुचि अनुसारको व्यवसाय गर्न धेरै सहयोग र प्रोत्साहन मिल्यो । त्यसैले मेरो रुचिलाई निरन्तरता दिन सफल भएँ ।
तर, हाम्रो जस्तो पुरुष प्रधान सामाजिक परिवेश र संकुचित सोंचका कारण कतिपय महिलाहरुले व्यापार व्यवसाय गर्न अनेकौं चुनौती र धेरै समस्याहरु झेल्नु परिरहेको हुन्छ । झन् एउटा महिला भएर उद्योग, व्यापार, व्यवसाय गर्दा अनेकौं नकारात्मक टिकाटिप्पणी गर्ने प्रवृत्तिले गर्दा झन् गा¥हो हुन्छ । किनभने पितृ सत्तात्मक समाजमा हुर्केको हाम्रा महिलाहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । अझै पनि महिलाहरु व्यापार, व्यवसाय खुलेर गर्ने सहज अवस्था र वातावरण छैन । महिलाले सञ्चालन गरेको व्यवसायमा प्रायः पुरुषहरुको अनावश्यक भीड धेरै हुन्छ । जस्तै– खाजा पसल, होटल, रेष्टुरेन्ट अथवा किराना पसल, बुटिक लगायतका व्यवसायहरुमा पुरुषहरुको नै भीड बढी देखिन्छ ।
फेरि शुरुवातको दिनमा मेरो चिसो पेय पदार्थ, किराना लगायत मदिरा विक्री वितरण पनि थियो । राती अबेरसम्म पसलमै समय बढी दिनु पर्ने । ग्राहकहरु सामान लिन राती पनि आउने भएकोले अबेरसम्म पसल कुरिराख्नुपर्ने वाध्यता थियो । तैपनि मेरो श्रीमान र घर परिवारका सदस्यहरुले साथ दिनु भएको कारण पनि अरु महिलाहरुलाई झैं मलाई यो व्यवसायमा टिकीराख्न केही अप्ठ्यारो महसुस भने भएन ।
समयको लामो अन्तराल पश्चात् आफुले सम्हालेको व्यापार व्यवसायबाट बटुलेको अनुभवले अब मैले समयको परिवर्तन संगै र सचेत उपभोक्ताहरुको माग र चाहना अनुरुप व्यवसाय परिवर्तन गरेर नयाँ व्यवसाय शुरु गर्नुपर्छ भन्ने सोंच राखेर मैले अर्को व्यवसायमा हात हालें र सञ्चालनमा ल्याएँ । त्यो व्यवसाय हो– शुद्ध खानेपानी उत्पादन गर्ने उद्योग व्यवसाय ।
मेरो आफ्नो छोराको नामबाट २०६७ सालमा “अनमोल ड्रिङ्किङ्ग वाटर इन्डष्ट्रिज” सञ्चालनमा ल्याएँ । यस उद्योगमा मैले महिलाहरु मात्र अवसर, प्रोत्साहन र प्राथमिकता दिनु पर्छ भन्ने सोंचका साथ उद्योगलाई आवश्यक पर्ने सबै कामदारहरु महिला राखेर सञ्चालन गरें । उद्योगमा मैले महिलाहरुलाई दिएको अवसर र प्रोत्साहन तथा उद्योगलाई सफलताका साथ सञ्चालन गरेकै कारण मेरो कामको उच्च मूल्याङ्कन गर्दै मलाई नेपाल सरकार उद्योग मन्त्रालयले २०६९ सालमा “उत्कृष्ट महिला उद्यमी”को रुपमा सम्मान समेत गरेको छ । यसरी व्यापार व्यवसायमा लागेर मैले सम्मान, नाम, इज्जत पनि पाउन सफल भएकी छु ।

उद्योग व्यवसायमा मेरो निरन्तर संलग्नताकै कारण २०६३ सालमा नेपाली उद्योगी–व्यवसायीहरुको संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिको सदस्यको रुपमा मनोनित हुने अवसर पाएँ । संघको विधानमा २ जना महिला सदस्यलाई मनोनित गर्ने प्रावधान भएको हुँदा मलाई पनि मनोनयन गरियो । संघका तत्कालीन अध्यक्ष श्री दामोदर आचार्यको कार्यकालमा कार्यसमिति सदस्यको रुपमा काम गर्ने मौका पाएँ । संघले म सँगै श्रीमती पार्वती सापकोटालाई मनोनित गरेको थियो । त्यतिखेर महिला उद्यमी संघको संयोजक पार्वती सापकोटा हुनुहुन्थ्यो भने मलाई सहसंयोजकको जिम्मेवारी दिइएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिला उद्यम प्रदर्शनी तथा तिज महोत्सव सफलतापूर्वक सञ्चालन गर्न सफल भयौं । त्यतिबेला हाम्रो काम, कर्तव्य के हो भन्ने कुरा नै थाहा थिएन । तर, विस्तारै विस्तारै सिक्दै र थाहा हुँदै गयो ।
मनोनित सदस्यको रुपमा प्रवेश पाएको संघको उक्त कार्यकाल पछि २०६७ सालमा अर्को कार्यकालका लागि भएको कार्यसमितिको निर्वाचनको प्रतिस्पर्धामा सदस्य पदमा उठेका तीन महिला मध्ये म मात्र निर्वाचित हुने मौका पाएँ र त्यसमा पनि नेपालगन्जका उद्योगी–व्यापारी सदस्य साथीहरुले चुनावी प्रतिस्पर्धामा होम्मिएका पदाधिकारी र सदस्यहरु मध्ये मलाई सर्वाधिक मत दिएर विजयी गराएका थिए । त्यसबेला मैले चुनावमा म पनि उठ्छु भनेर अग्रजहरुका सामु प्रस्ताव राखें र चुनाव लडें, अत्यधिक बहुमतले जित्ने अवसर पनि पाएँ । नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक चुनाव जितेर जाने महिलामा म नै पहिलो महिला उद्यमी थिएँ । मलाई एकदमै गर्वको अनुभूति भयो । श्री सुनिल कुमार शर्माको नेतृत्वमा रहेको तत्कालीन संघमा अब उद्यमी महिलाहरुको नेतृत्व लिनुपर्छ भनि महिला उद्यमी विकास समितिको संयोजकको जिम्मेवारी लिएर नेतृत्वदायी भूमिका निर्वाह गरेको थिएँ ।
संघमा मेरो दोस्रो कार्यकाल अर्थात् श्री सुनिल कुमार शर्मा अध्यक्ष र म संघको उपमहासचिवको रुपमा निर्वाचित भएको तेस्रो कार्यकालमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा व्यापार मेला तथा औद्योगिक महोत्सव भव्य रुपमा सम्पन्न गर्न सफल भयौं ।
संस्थागत हिसाबमा पश्चिम नेपालकै अग्रणी व्यवसायिक संगठनको रुपमा आफ्नो पहिचान बनाउन सफल नेपालगन्ज उद्योग वाणिज्य संघले महिलाहरुलाई नेतृत्वमा पु¥याउन सकारात्मक भूमिका भने खेल्न सकेको देखिएन । महिला नेतृत्वको कुरा गर्दा मलाई कुनै औपचारिक कार्यक्रममा परिचय गर्दा पनि कता कता म महिला सदस्य अथवा मनोनित सदस्य भनेर आफुलाई परिचय गराउँदा अलिकति हिनतावोध र खिन्न भएको महसुस हुन्थ्यो । कहीं कतै कार्यक्रममा मनोनित सदस्य अर्थात् महिला सदस्यको पालो पछि आउँथ्यो । नेपालगन्ज उद्योग वाणिज्य संघमा पनि त्यही प्रचलन थियो । त्यसैले पनि मनमा खिन्न भएर आउँथ्यो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासले आज ५०औं बसन्त पार गरेर संघले स्वर्ण महोत्सव मनाउने तरखर गरेको छ । ५० वर्षको यति लामो अवधिमा पनि संघले किन एउटा महिला नेतृत्व तयार गर्न सकेन ? महिलाहरु स्वयम् सक्षम नभएर हो वा सक्षम महिलाहरुको खुट्टा तान्ने प्रवृत्ति हावी भएर हो ? बुझ्न गा¥हो छ । जबकि बाँके जिल्लामा थुप्रै महिलाहरु उद्योग व्यवसाय स्वयम् सञ्चालन गर्दै आइरहेका छन् । चाहे त्यो ठूला उद्योग व्यवसाय होस् या सानोतिनो किराना पसल होस्, उनीहरु स्वयम् ती व्यवसायहरु सञ्चालन गरिरहेका छन् । किनकी संघमा श्रीमती पदमा भट्टराई, श्रीमती मीना श्रेष्ठ, श्रीमती पार्वती शर्मा, श्रीमती कुशुम बस्नेत, बन्दना सिंह, गंगा लम्साल लगायत महिला उद्यमीहरुको सहभागिता नभएको होइन । तर, उहाँहरुलाई नेतृत्व तहमा पु¥याउन संघले कुनै भूमिका खेल्न सकेको देखिंदैन । विडम्वना नै भन्नु पर्छ कि वर्तमान कार्यसमितिले चयन गरेको सात सदस्यीय सल्लाहकार समितिमा एक जना पनि महिलालाई राखिएको छैन । सल्लाहकार समितिमा रहेका सदस्यहरु पनि एक पटक पनि संघको कुनै पनि तहमा सहभागिता भएको देखिंदैन ।
तथापि आफ्नो नाममा अचल सम्पत्ती नभएर, आर्थिक क्षेत्रमा स्वामित्व नभएर, शहर बजारमा महँगो घरभाडा लगायतका थुप्रै समस्याहरु, आफुले उत्पादन गरेका सामानको उचित बजार व्यवस्थापनको अभाव, प्राविधिक सीप, अनि अनेकौं अड्चनहरु भएकै कारण पनि कैयौं महिला उद्यमीहरुको ईच्छा र चाहना भएर पनि उद्योग व्यवसायमा प्रत्यक्ष रुपमा आवद्ध हुन सकिरहेका छैनन् । तर पनि तराई क्षेत्रमा पहाडी र मधेशी समुदायका धेरै महिलाहरु उद्योग व्यवसाय सञ्चालन गरेर बसेका छन् र उनीहरुले घर परिवारको आर्थिक व्यवस्थापनलाई सशक्त रुपमा सम्हाल्दै आएका छन् । ती महिला दिदीबहिनीहरु नेतृत्वमा जान हिच्किचाउनु हुन्छ । एक त उनीहरुलाई घर परिवारको साथ हुँदैन, अर्कोतिर पुरुषहरुले पनि नेतृत्वमा पु¥याउन कन्जुस्याइँ गर्छन् ।
एक्काइसौ शताव्दीको युगमा प्रवेश गरिसकेको नेपालमा ठुलो राजनीतिक परिवर्तन भइसकेको छ । महिलाहरु वर्तमान नयाँ नेपालको राष्ट्राध्यक्ष, संसद्को प्रमुख, सर्वोच्च न्यायालयको सर्वोच्च पद लगायत उच्च ओहदाहरुमा पुगी सकेका छन् । धेरै टाढा नजाउँ, नेपाल उद्योग वाणिज्य महासंघकै नेतृत्वमा बाँकेकै महिला उद्यमी श्रीमती भवानी राणा आसिन हुनुहुन्छ । महिलाहरुलाई केही गर्न सक्दैनन्, नेतृत्व तहमा पुग्ने क्षमता छैन भन्ने जस्ता संकुचित सोंच राखेर अवमूल्यन गर्ने प्रवृत्ति त्याग्नु पर्दछ । त्यसैले पुरुषहरुमा महिला उद्यमीहरु प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनु जरुरी छ भने उद्योगी–व्यवसायीहरुको अभिभावक संगठन संघले पनि महिलाहरुलाई उत्प्रेरणा र प्राथमिकता दिने खालको स्पष्ट नीति तर्जूमा गर्नु आवश्यक देखिन्छ । संघको विधान नै संशोधन गरेर भए पनि महिलाहरुलाई नेतृत्व तहसम्म पु¥याउने सकारात्मक भूमिका निर्वाह गरेर संघको वर्तमान नेतृत्वले नयाँ इतिहास रच्न अग्रसर हुनु पर्दछ । लैङ्गिक समानता र समावेशीताको वर्तमान राजनीतिक अवधारणा, सिद्धान्त नेपालको नयाँ संविधानले अंगीकार गरेको प्रावधान अनुरुप समयको माग पनि हो ।
(लेखक रचना श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघकी निवर्तमान उपमहासचिव, सफल उद्यमी तथा महिला अधिकारकर्मी हुनुहुन्छ । –सम्पादक)
०००

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     2:52:47 PM