पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

१. रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ?

  • रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला  गर्नुपर्दछ ।

२. रोजगारीको आयमा कर छुट छ, छैन भएमा कति छुट हुन्छ ?

  • रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा देहाय बमोजिम कर लाग्दछ ।

३. रोजगारी आय हुनेले कुन समयमा कर तिर्नुपर्दछ ?

  • रोजगारी आय हुने व्यक्तिको पारिश्रमिक भुक्तानी प्राप्त गर्दाका बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला
    गर्नुपर्दछ ।

४. करको गणना कसले गर्छ ?

  • लाग्ने करको गणना भुक्तानीकर्ताले गर्छ । सो ठीक भए नभएको सम्बन्धमा भुक्तानी पाउने व्यक्ति पनि सचेत
    हुनुपर्दछ ।

५. करको गणना कसरी गरिन्छ ?

  • कुल निर्धारणयोग्य आयमा दफा १२ अनुसार कर छुट पाएका संस्थाहरुलाई दिइएका चन्दा उपहार र दफा ६४ बमोजिम स्वीकृत अवकाश कोषमा जम्मा गरिएको तोकिएको सीमासम्मको भुक्तानी घटाई हुन आउने करयोग्य आयमा ऐनको अनुसूची–१ बमोजिम पाउने सुविधा कट्टा गरि बाँकी हुन आउने रकममा सोही अनूसूचीमा उल्लेखित करको दरले गणना गरी हुने कर रकममा दफा ५१ बमोजिम औषधि उपचार खर्च भए बढीमा रु. ७५०।०० कर मिलान गरी बाँकि हुन आउने रकमलाई दामासाहीले मासिक रुपमा विभाजन गरी पारिश्रमिक आय प्राप्त गर्दाका बखत अग्रिम रुपमा कर तिर्नुपर्दछ ।

६. रोजगारी आयमा कुन कुन कुरा समावेश हुन्छन् ?

  • रोजगारी आयमा रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका ज्याला, तलब, बिदा वापतको रकम, अतिरिक्त समय काम गरे वापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु वापतको भुक्तानी, महगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात वापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानीहरु, निज वा निजका सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि गरेको खर्चको फछर्याैट वा शोधभर्ना वापत प्राप्त गरिएको भुक्तानी, रोजगारीको कुनै शर्तमा सहमति जनाए वापत गरिएका भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापत गरिएका भुक्तानी, अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी र कर लेखांकन रकमहरुको परिमाणिकरण, बांडफांड र चारित्रीकरण गर्दा समावेश गरिर्नुपर्ने अन्य रकमहरु समावेश हुन्छन्।

७. पारिश्रमिक आय हुनेलाई विशेष सुविधा केही छ, छैन ?

  • नेपाल सरकारले तोकको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता वापत तोकिए बमोजिम “ङ” वर्गको क्षेत्रका लागि रु. १०,,००० देखि “क” वर्गका क्षेत्रका लागि बढीमा ५०,००० रुपैयासम्म र नेपाल राज्यका विदेश स्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको बैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाई बांकि रहने रकममा मात्र कर लगाइने विशेष सुविधा छ । यस बाहेक जीवन बीमा बापत प्रिमियम रकम वा रु.२०,००० मध्ये जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाइन्छ । त्यसैगरि, निवृत्तिभरण आयमा १ प्रतिशत कर नलाग्ने र १ प्रतिशतले कर लाग्ने आयको २५ प्रतिशतले हुने रकम करको गणना गर्दा करयोग्य आयबाट घटाउन पाउने व्यवस्था छ, तर यस्तो रकम निवृत्तिभरण आयभन्दा बढी हुनुहुंदैन । यसको अलवा कुनै कर्मचारी अपाé रहेछ भने उसले १ प्रतिशत कर लाग्ने आयको ५० प्रतिशतले हुने रकम करको गणना गर्दा करयोग्य आयबाट घटाउन पाउने व्यवस्था छ, । साथै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला भएमा तिर्नुपर्ने कर रकममा १० प्रतिशत रकम छुट पाउने व्यवस्था पनि आयकर ऐनमा रहेको छ ।

८. पारिश्रमिक आयमा करको चुक्ता प्रमाणपत्र कसले दिन्छ ?

  • पारिश्रमिक आयको कर चुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुले दिन्छन्।

९. वार्षिक पारिश्रमिक आय कसले प्रमाणित गर्नुपर्छ ?

  • भुक्तानीकर्ता\रोजगारदाताले वार्षिक पारिश्रमिक आय प्रमाणित गर्नुपर्दछ ।

१०. रोजगारदाताले कर कट्टी नगरेमा के हुन्छ ?

  • रोजगारदाताले कर कट्टी नगरेमा निजबाट लाग्ने कर रकम र दफा ११९ अनुसार १५ प्रतिशतका दरले व्याज असुल गरिन्छ । अग्रिम कर कट्टी गर्ने रोजगारदाताले कट्टी गरिएको करको विवरण पेश नगरेमा अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम शुल्क लाग्दछ ।

११. पारिश्रमिक वापत वासिन्दा । गैर वासिन्दा प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा समान दरमा अग्रिम कर कट्टी गर्नु पर्दछ कि छुट्टा छुट्टै दरमा ?

  •  पारिश्रमिक वापत वासिन्दा प्राकृतिक व्यक्तिलाई वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ र गैर वासिन्दा प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा भुक्तानी गर्ने रकमको २५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।

१२. पारिश्रमिक आयमा बढी दाखिला भएको कर अर्को वर्ष मिलान गर्न पाउँछ पाउँदैन ?

  • पारिश्रमिक आयमा तिरेको कर सो आय वर्षको दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्दा बढी भएमा आगामी वर्षमा मिलान गर्न पाउँछ ।

१३. मेरो दुइ स्थानमा रोजगारी छ । के मैले आय विवरण पेश गर्नु पर्दछ ?

  • दुई स्थानमा रोजगारी आय भएमा आय विवरण पेश गर्नु पर्दछ ।

१४. मेरो औषधि खर्च बापत कर मिलान दावी गर्न के गर्नु पर्दछ ?

  • स्वीकृत औषधि उपचार खर्च वापत बढीमा रू. ७५०÷– सम्म कर मिलान गर्न पाइन्छ । स्वीकृत औषधि उपचार खर्चको प्रमाण पेश गर्नुपर्दछ ।

१५. पारिश्रमिक आय हुने प्राकृतिक व्यक्तिले चन्दा खर्च दावी गर्न पाउँछ वा पाउदैन ?

  •  पारिश्रमिक आय हुने प्राकृतिक व्यक्तिले ऐनको दफा १२ अनुसार आयकर छुट प्राप्त संस्थालाई दिएको बढीमा एक लाख रुपैया वा समायोजित कर योग्य आयको पांच प्रतिशत रकम मध्ये जुन घटी हुन्छ सो रकम सम्मको चन्दा खर्च दाबी गर्न पाउँछ । तर चन्दा खर्च दावी गर्न आय विवरण पेश गर्नुपर्दछ ।

स्रोत : आन्तरिक राजश्व बिभाग

प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५     8:50:48 AM