सरकारले तोकेको शुल्कमा सेवा दिन सक्दैनौं : नीजि स्वास्थ्य संस्था

भगतराम थारु
बाँके : स्वास्थ्य सेवा धरासायी बनाउने प्रकारको मूल्य निर्धारणमा सहमत हुन नसकिने नीजि तथा सामुदायिक अस्पताल, पोलिक्लिनिक डाइग्नोष्टिक सेन्टर तथा डेन्टल क्लिनिकका संचालकहरुले बताएका छन् ।
सरकारी मुल्य निर्धारण अनुसार आफुहरुले सेवा सुविधा दिन नसक्ने उनीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको बाँके जिल्लामा संचालित सरकारी निजी तथा सामुदायीक अस्पताल पोलिक्लिनिक, डाइग्नोष्टिक सेन्टर तथा डेन्टल क्लिनीकहरुको सेवा शुल्क सम्बन्धि छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सेवा प्रदायक शुल्क पनि फरक—फरक हुने उनीहरुले बताएका छन् । सवै ठाउँमा एकै प्रकारको सेवा सुविधा उपलव्ध नभएको हुनाले सेवा सुविधा अनुसार शुल्क पनि फरक फरक हुन पर्ने उनिहरुले बताएका छन् ।
सवैलाई मर्का नपर्ने खालको मूल्य निर्धारण गरिनुपर्ने उपभोक्त हित संरक्षण समितिका अध्यक्ष बसन्त गौतमले बताए । सेवाको नाममा सेवा ग्राहीलाई मर्कामा पार्न नहुने उनले जनाए । जवसम्म डाक्टर र अस्पतालको सेटिङ अन्त्य हुदैन तव सम्म मूल्य निर्धारणमा एकरुपता आउन नसकिने नेपाल औषधि व्यवसायी संघका अध्यक्ष अभय बस्नेतले बताए ।
हाल जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा दर्ता भएको १७ अस्पताल, १२ पोलिक्लिनीक, ४० प्याथालोजी तथा डाइग्नोष्टिक सेन्टर, ५७ स्वास्थ्य क्लिनीक, ६ एक्सरे, ५ भिडियो एक्सरे, ३ आँखा अस्पताल, ११ दात क्लिनीक र २ फिजियो केयर रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राम बहादुर चन्दले बताए । १ सय ५३ वटा जम्मा सरकारी निजी तथा सामुदायीक अस्पताल पोलिक्लिनिक, डाइग्नोष्टिक सेन्टर तथा डेन्टल क्लिनीकहरु दर्ता रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राम बहादुर चन्दले बताए । हाल सुगर चेकजाँचमा २५, सिविसीमा १२५ मुल्य लिइरहेको जनस्वास्थ्य अधिकृत चन्दले बताए ।

प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५     3:10:24 PM