जथाभावी ऋण लिनेको बिजोग, गाउँपालिकामा आउन थाले गुनासा

बाँके : सहकारी र लद्युबित्तबाट ऋण लिएर कतिले त राम्रै उद्यम गरिरहेका छन् । तर कतिको भने हरिबिजोग नै हुन थालेको छ । बाँकेको ग्रामिणक्षेत्रमा सहकारी, लद्युबित्त संस्थामा सदस्य बनेर ऋण लिएर ऋणीहरु बेपत्ता भएका छन् । यस्ता घटनाको उजुरी गाउँपालिकाको न्यायिक समितिसम्म पुग्न थालेको गाउँपालिकाका न्यायिक समितिको अध्यक्षले बताए । ऋण लिएकाहरुले आफु मात्र होइन समूहका सदस्यहरुलाई समेत डुबाएर बेपत्ता भएका छन् । श्रीमान, श्रीमती र बालबच्चा बोकेर कुलेलाम ठोकेका छन् । यस्ता मुद्दा लिएर सहकारी, लद्युबित्त सन्चाक र समूहका जमानी बसेका सदस्यहरु आउने गरेका खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले बताईन ।
खजुरामा बुधवार आयोजित एक अन्तरक्रियामा बिकले ऋण लिएर बिजोग भएकाहरुको भयावह अवस्थाका बारेमा जानकारी दिदै उनले भनिन्—‘सबैथोक बर्बाद भयो । जोगाइदिनुप¥यो भन्दै मानिसहरु गाउँपालिकामा मानिसहरु आइरहेका छन् ।’ तर गाउँपालिकाले यस्तो मुद्दा हेर्न नमिल्ने भएकाले सम्बन्धित ठाउँमा पु¥याइने गरिएको बिकले बताईन । खजुरा गाउँपालिका मात्र नभई अन्यत्र पनि यस्तो समस्या छ । समूहबाट ऋण लिदा समूहका सदस्य र श्रीमान समेत जमानी बस्नुपर्ने भएकाले ऋण नतिर्ने अवस्थामा सबै फस्ने गरेका छन् ।
‘परिवारिक कलह मात्र होइन समाजमा समेत यसले निकै ठुलो तनाव सिर्जना गरेको छ ।’— उपाध्यक्ष बिकले भनिन् । ऋण लिएको पैसा सही ठाउँमा लगानी नगरेर अन्यत्र खर्च गर्ने भएका कारण यस्तो समस्या सिर्जना भएको छ । निर्धन उत्थान लद्युबित्त बित्तिय संस्था खजुराका प्रमुख लेखनाथ काफ्लेले ऋण लिएको रकम सही ठाउँमा प्रयोग नभएका त्यसले जोखिम निम्त्याउनेमा सचेत रहनुपर्ने बताए ।

प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५     1:52:22 PM