पहिलो पटक नरैनापुरमा बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण

बाँके : बाँकेको विकट नरैनापुर गाउँपालिकामा पहिलो पटक बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर १ का ८६ बर्षीय अस्ताफा खाँलाई बिहिवार चेक हस्तान्तरण गरी बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात गरे ।
नरैनापुरमा रहेको सनराइज बैंक लिमिटेड मार्फत् भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । गाउँपालिकाका २ हजार ७ सय ९० जनाले सनराइज बैंकमा खाता खोलेपछि बैंक मार्फत् भत्ता वितरणको काम सम्भव भएको बस्नेतले बताए । पहिलो चौमासिकमा १ करोड ५४ लाख रुपैयाँ वितरण गरिने उनँले जानकारी दिए ।
बिहिवारदेखि शुरु गरिएको वितरण कार्य एक सातासम्म चल्नेछ ।  ‘विद्युत, इन्टरनेट नभएको ठाउँ, त्यसमा पनि लेखपढ गर्न जान्ने मान्छे नगण्य भएको ठाउँमा हामीले निकै कसरत गरेर बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको काम सम्भव बनाएका छौं, अध्यक्ष शाहले भने । ‘यो काममा सहयोग पुर्याउने स्थानीय, कर्मचारी, बैंक, जनप्रतिनिधि सबैलाई धन्यबाद दिन्छौं,’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने ।

प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५     6:21:50 PM