बाँके राप्तीसोनारीको जन्ती जीप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन

बाँके : बाँकेको राप्तीसोनारी वडा नम्बर ८ को बिवाहको जीप बिहिवार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको छ ।
चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । मानबहादुर केसी र विमला खत्री बेहुला यज्ञ खत्रीका आमा बुवा हुन् ।
शवलाई लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खिमबहादुर बस्नेतले घटनाको पुष्टि गर्दै गाउँ शोक छाएको बताए । घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रहेका बिसीले भने, ‘कसैले कल्पना नै गरेको बज्रपात  आईलाग्यो । हामी स्तब्ध छौं ।’

प्रकाशित मितिः बिहिबार, मंसिर २७, २०७५     7:45:21 AM