प्रदेश ५ मा स्मार्ट कृषि गाउँ कार्यक्रम शुभारम्भ

रुपन्देही : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मगलबार रुपन्देहीको देवदह नगरपालिका घोडाहामा स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गरेका छन् । परम्परागत खेती प्रणालीलाई बदलेर आधुनिक र व्यवसायिकरण गर्दै समृद्धिको प्रस्थानविन्दु मानेको प्रदेश सरकारले ५२ वटा स्मार्ट गाउँ छनौट गरेको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्रीले पराम्परागत प्रणालीलाई आधुनिक बनाउन नसक्दा नयाँ पुस्तालाई कृषिमा जोड्न नसकिएकोले कृषिलाई आधुनिक बनाएर नयाँ पुस्तालाई जोडिने बताए । उनले स्मार्ट कृषि कार्यक्रमले किसानको घरदैलोमा प्रविधि लिएर आएको र किसानले व्यवहारमा सिकेको अनुभवलाई पनि आत्मसात गरी कार्यक्रम अघि बढाइने बताए । आफ्नो जमिनमा धेरै उत्पादन हुने र बजारमा धेरै बिक्ने बस्तु छनौट गरी उत्पादनमा लाग्नुपर्ने उनको भनाई छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिको व्यवसायीकरणमा स्मार्ट कृषि भिलेजले महत्वपूर्ण भूमिका खेल्ने बताईन ।
प्रदेशसभा सदस्य जाल्पा भुसाल, कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, कृषि तथा वन विश्वविद्यालयका कृषि तथा पशु अध्ययन संस्थानका डिन जयप्रकाश दत्त, प्राध्यापक डा. आइपी कडेरिया लगायतले स्मार्ट कृषि कार्यक्रमलाई नमुना बनाएर प्रविधिलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताए । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले स्मार्ट कृषि कार्यक्रम बारे प्रकाश पारे ।

प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५     4:59:37 PM