असफलतामा नआत्तिने, सफलतामा नमात्तिने राजेश मास्केको उद्यम यात्रा

बाग्मती अञ्चलको ललितपुर जिल्ला ललितपुर नगरमा बि.सं.२०२० सालमा जन्मिनु भएका र शिक्षामा स्नातक तह उतिर्ण गर्नुभएका राजेश मास्के करिब १३ वर्षको उमेरमा बुवा श्री कृष्णनाथ मास्केको हात समाउदै २०३३ सालमा जन्मथलो छोडी कर्मथलो नेपालगंज आईपुग्नु भएको हो । तत्पश्चात उहाँको सम्पूर्ण समय नेपालगंज औद्योगिक क्षेत्रमा वित्यो ।

त्यहिताका मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रको व्यापारिक केन्द्रकोरुपमा रहेको नेपालगंज नगरमा औद्योगिकरणको जग बसाउने भन्दै नेपाल सरकारबाट नेपालगंज औद्योगिक क्षेत्र स्थापना हुदै थियो । कसरी उद्योग खोल्ने तिर हात हालियो भन्ने हाम्रो जिज्ञासामा वहाँको भनाई यस्तो रह्यो — “त्यसै त हाम्रो जातै व्यापारी(नेवार),त्यसैमा बुवाको उद्यमी सोचले कुनै आफ्नै काम गरौं भन्ने उद्देश्यले यस भेगमा पहिलो पटक नौलो देखिने पाउरोटी कारखाना खाल्ने विचार गरी श्री बागेश्वरी वेकरी एण्ड कन्फेक्सनरी नामको उद्योग खोली पाउरोटी उत्पादनको कार्य थाल्यौं” । यसरी पहिलो पटक वि.सं.२०३३ सालमा नेपालगंज औद्योगिक क्षेत्रभित्र पहिलो पटक बुवाको सहयोगले वहाँले सानो पाउरोटी उद्योग स्थापना गर्नुभयो । उद्योग त खोलियो तर उद्योग चल्न नसकेको कारण प्रष्टाउँदै मास्के भन्नु हुन्छ— “बजारको पर्याप्त अध्ययन एवं विष्लेषण बिना उद्योग स्थापना गरिएकोले दुर्भाग्यबस रोटीमात्र खाने जमात बढी भएको मध्यपश्चिममा पाउरोटी खाई दिने मानिसको कमीले हाम्रो पहिलो प्रयास असफल भयो ।” । घोडा चढ्ने मान्छे लड्छ, चढ्न छोड्नु हुदैन भन्ने बुवा श्री कृष्णनाथ मास्केको भनाईलाई स्मरण गर्दै अगाडि भन्नु हुन्छ, “त्यही कारण हामीले पनि हिम्मत हारेनौं, निरन्तर लागि नै रहयौं उद्योगमा ।” असफलतालाई सफलताको पहिलो खुड्किलाको रुपमा लिदै दोश्रो प्रयासस्वरुप वि.सं.२०३७ सालमा नेपाल औद्योगिक विकास निगमको वित्तिय सहयोगका साथै तत्कालिन औद्योगिक क्षेत्र व्यवस्थापनको प्रोत्साहनमा श्री जय खाद्य उद्योग प्रा.लि.,को नाममा खाद्यान्नहरू उत्पादन गर्ने निधो गर्नुभयो र वि.सं.२०४४ सालमा उत्पादन शुरु भयो दाल, तेल, पिठो र च्यूराको । वि.सं.२०४५ सालमा नेपाल भारतको दुई पक्षिय सम्वन्धमा आएको तित्तताले गर्दा उद्योगको अतिरिक्त उत्पादनको रुपमा रहेको धानको भुस, पिना आदिको निकासी बन्द भयो,जसबाट सो उत्पादन विक्रि नभई उद्योगले धान्न नसक्ने गरी घाटा बेहोर्नु परेको अवस्थाले गर्दा अचानक उद्योग धराशासी हुने अवस्थामा पुग्यो ।

आफ्नो काबु बाहिरको परिस्थितिजन्य कारणले गर्दा वहाँलाई पुनः असफलता हात लाग्यो । दोश्रो असफलतापछि उद्योग चलाउने जिम्मा पूर्णरुपले वहाँको आफ्नो काँधमा आइपुग्यो । वहाँ अगाडि भन्नु हुन्छ, वि.सं.२०३३ देखि २०४६ सम्म उद्योगमा भएको प्रतिफल बिनाको लगानीले बैंकको सावाँ व्याज, औद्योगिक क्षेत्रको बक्यौताले दिन प्रति दिन अवस्था प्रतिकुल हुदै थियो । उद्योग चलाउन पूजि त चाहियो नै । पूजिको अभाव छ भन्दैमा स्थापित उद्योग छोड्न सक्ने अवस्था त थिएन, असफलता लिएर काठमाण्डौं फर्किने मन पनि थिएन, उद्योग नै चलाउने दृढ इच्छा शक्तिका कारण मरता क्या नहि करता भन्दै नयाँ जोश र उमङ्गका साथ वहाँ लाग्नु भयो नयाँ किसिमको उद्योग चलाउने तिर । तर ऋण त थुप्रिएको थियो ऋणको व्यवस्थापन नगरी सफलता हासिल गर्न सकिदैन भन्ने मनशायले पहिलो पाइला चाल्नु भयो ऋण व्यवस्थापन गर्ने तिर । रुग्ण उद्योगको रुपमा स्वीकार गरी ऋण व्यवस्थापनमा केही सहयोगको योजनासहित वहाँ पुग्नु भयो NIDC कार्यालयमा तर त्यहाँको झण्झटिलो प्रशासनिक प्रकृया एवं कर्मचारीहरूसमेतको असहयोगले गर्दा हार खादै पुख्र्यौली सम्पत्तिको कुशल व्यवस्थापन गरी वि.सं.२०५४ सालमा NIDC को सम्पुर्ण ऋण चुक्ता गर्नुभयो ।

मध्य पश्चिमेलाई पाउरोटी खुवाएर पारलाग्ने नदेखेपछि नयाँ काम गर्ने सोचका साथ वि.सं. २०५५ मा श्री जय खाद्य उद्योगको ठाउँमा श्री विनायक फुड प्रोडक्ट्सको स्थापना गर्नुभयो, जुन सफलताको खुड्किलो बन्यो जस्को उत्पादन थियो धानको भुजा र सोयावडी(न्युट्रिनगेटस्) । सोयावडीलाई गरिबको पोषिलो खाद्य पदार्थको रुपमा लिइन्छ । मध्य पश्चिमको पहाडी क्षेत्रमा यसको माग अत्यधिक छ , जुन नेपालको मध्यपश्चिम तथा सुदुरपश्चिम भेग मा नै पहिलो उत्पादन बन्यो । औद्योगिक क्षेत्र व्यवस्थापनको सहयोग र प्रोत्साहनलाई पनि सफलताको हातेमालोको रुपमा लिएकोछु भन्नु हुन्छ मास्के । बिनायक फुडको सफलतामा हौसिदै भाईलाई पनि उद्यमी बनाउने भन्दै औद्योगिक क्षेत्रले उपलब्ध गराएको जमिनको पूर्ण सदुपयोग गर्ने उद्देश्यले अनुत्पादकरुपमा रहदै आएको जमिनमा अर्को उद्योग  सिद्धि विनायक फुड वि.सं. .२०६५ सालमा स्थापना गर्नु भयो र जस्को रेखदेखको जिम्मा दिनुभयो श्री मिनेश मास्केलाई । जस्ले विनायक फुडको लागि आवश्यक विशेष किसिमको चामलको उत्पादन गर्ने उद्देश्य लिएको उद्योग हाल परिक्षण उत्पादन को अवस्थामा रहेकाछ ।

मास्के भनाई अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लि.का तत्कालिन महाप्रबन्धक श्री कौशलनाथ भट्टराईको प्रोत्शाहनमा लिमिटेडको अर्को औद्योगिक क्षेत्र बीरेन्द्रनगरमा पनि भुजा र सोयावडीको उत्पादन गर्ने उद्योग विस्तार गर्ने सोचले बीरेन्द्रनगरमा क्षेत्रको भवनसहित बन्द अवस्थामा रहेको उद्योग खरिद गर्नु भयो र २०६५ सालबाट उद्योग सञ्चालन गर्न शुरुगर्नु भयो उक्त उद्योग पनि हाल सन्तोषजनकरुपमा चलिरहेकोछ र त्यस क्षेत्रको जनतालाई भूजा र सोयाबडी उपलव्ध गराई सेवा पू¥याईरहेको छ । सफलतातर्फ अग्रसर श्री मास्के अहिले नेपालगंज औद्योगिक क्षेत्रमा रहेको शूद्ध खानेपानी उत्पादन गर्ने श्री त्रिष्टिलो वाटर उद्योगमा पनि सहभागी भई उक्त उद्योगलाई विष्तृत रुपमा परिमार्जन गरी सफलता तिर डो¥याउने प्रयासमा लाग्नु भएकोछ । आफ्नो उद्योगको हितमा मात्र सन्तुष्ट नभई औद्योगिक क्षेत्रभित्रका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्मारिका / डघ सम्पुर्ण उद्योगको हकहितलाई अझ बढी उजागर गर्ने उद्देश्यले स्थापित नेपालगंज औद्योगिक क्षेत्र उद्योगसँघको अध्यक्ष, हालै मात्र महासँघको केन्द्रीय सदस्य  पदमा रहि उद्योगको हकहितमा क्रियाशिल रहनु भएको छ । यो यात्राको क्रममा आइपरेको दुःख सुखका दिनमा साथ दिने वित्तिय संस्थाहरू र उद्योगपतिको रुपमा स्थापित गराउन सहयोग गर्ने सबैलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु भन्दै मास्के अगाडि भन्नु हुन्छ —देशको विकास औद्योगिकरणबाट मात्र सम्भव छ, असफलता नै सफलताको जननी हो भन्ने कुरा मनन गर्दै अगाडि बढ्ने प्रयास नछोडौं उद्यमी बनौँ उद्योग खोलौँ ।

(उद्यमी श्री मास्केसँग अधिकृत श्री भूषण उपाध्यायले गर्नुभएको कुराकानीमा आधारित— संपादन समूह)

नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०६९ सालमा प्रकाशन गरेको स्मारिकाबाट संपादन सहित साभार गरिएको हो ।

प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५     11:57:03 AM