आर्थिक गतिविधिको विस्तार र कारोवारको विविधिकरणले कर प्रशासनमा चिुनौतिहरु थपिएका छन्

  • विष्णुप्रसाद नेपाल
    महानिर्देशक

हामी आर्थिक वर्ष २०७५/०७६ को पहिलो सात महिना पूरा गरी आठौं महिनामा प्रवेश गरेका छौं । यस अवधिमा हामीले राजस्व संकलनमा विगत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएका छौं । राजस्व संकलनको बृद्धि दर सकारात्मक भएतापनि लक्षित रुपमा राजस्व संकलनको प्रगति हासिल हुन नसकेको हुनाले हामीले विशेष रणनीतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । यसका लागि कर परिवारका सबैले सक्रियतापूर्वक दत्तचित्त भई आ–आफ्नो जिम्मेवारी पूरा गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

विज्ञान प्रविधिको द्रुततर विकास तथा सूचना प्रविधिको सुलभताका कारण व्यापार व्यवसायका क्षेत्रमा नयाँ नयाँ प्रयोग तथा तिनको अनुगमनमा विभिन्न जटिलताहरु देखा परिरहेका छन् । विभागले पनि सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै करदाताहरुको आयकर, मूल्य अभिवृद्धि कर एवं अन्त शुल्कको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्नुका साथै कर संकलन (भुक्तानी) गर्ने कार्य समेत विद्युतीय माध्यमबाट प्राप्त गर्ने कार्यको थालनी गरेको छ । यसको अलावा ठूलो कारोबार गर्ने केही करदाताको कारोबारको तत् समय (Real Time) मा केन्द्रिय बिजक अनुगमन प्रणाली (-Central Billing Monitoring System,CBMS) मार्फत विभागको सूचना सञ्जालमा जोड्ने काम भएको छ । यिनै विकास र सुधारका प्रयासले सूचना प्रविधिको उपयोगमा मुलुककै अग्रणी संस्थाको रुपमा आफूलाई स्थापित गराउन सफल भएको यस विभागले करदाताका सवै किसिमका सूचनामा पहुंच कायम गरी तथ्य र सूचनामा आधारित भएर कर निर्धारण तथा अनुसन्धानका कार्यहरु गुणस्तरीय रुपमा सम्पादन गर्नु परेको छ । आय आर्जन गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुलाई करको दायरामा ल्याउने, आयकर तथा मूल्य अभिवृद्धि करको कर सहभागिता वृद्धि गर्दै क्रेडिट विवरण, शुन्य विवरण तथा नन् फाईलर घटाउनतर्फ सार्थक पहल गर्न सकेमा मात्र कार्यालय तथा समग्र विभागको उद्देश्य हासिल हुने हुनाले यसतर्फ विशेष क्रियाशील हुनका लागि सबै अधिकृत कर्मचारीलाई निर्देश गर्दछु ।
आर्थिक गतिविधिमा भएको विस्तार र कारोवारको प्रकृतिमा भएको विविधिकरणले गर्दा कर प्रशासनमा विभिन्न चुनौतिहरु थप भएका छन् । त्यस्ता चुनौतिहरुको सामना गर्नका लागि कर प्रशासनमा आवद्ध जनशक्तिहरु सक्षम, जुझारु तथा अध्ययनशील हुनु अत्यन्तै आवश्यक छ । कुनै पनि संगठनको कार्यक्षमता त्यहाँ कार्यरत कर्मचारीको कार्यकुशलता र कार्य दक्षतामा निर्भर रहन्छ । कर्मचारीहरुको दक्षता, सीप र अवधारणामा सकारात्मक अभिबृद्धि ल्याउने अभिप्रायले आवश्यकतामा आधारित तालिमहरु निरन्तर रुपमा प्रदान गर्न विभाग सदैव अग्रसर रहेको छ । यसै अनुरुप विभिन्न प्रकारका विषयगत तालिम आयोजना गरिरहेका छौं । तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्दै गुणस्तरीय कार्य सम्पादनको माध्यमबाट विभागको कार्य प्रगतिमा सकारात्मक योगदान पु¥याउन सम्बन्धित सबैमा विशेष आग्रह गर्दछु । कर कानूनको कार्यान्वयन गर्दा गराउँदा सेवाग्राहीसँग हार्दिकता, पारदर्शिता, स्पष्टता तथा सदाचारिता प्रदर्शन गर्ने र अनियमितता भएको पाईएमा कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न समेत तत्पर रहँदै आफ्नो पेशामा सदैव व्यावसायिकता (Professionalism) को विकास गर्न सम्पूर्ण कर्मचारीहरुलाई अभिप्रेरित गर्दछु । धन्यवाद !!

आन्तरिक राजश्व बिभागको कर बुलेटिन,माघ अंकबाट

प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५     10:14:50 AM