खेतबारीमा भेटिन्छन् ५८ वर्षिय ‘राणा साहेब’

नाम : सुमेर शमसेर राणा
उमेर : ५८ वर्ष

तर कृषिक्षेत्रमा उनको सक्रियता कुनै लक्काजवानको जोश,जाँगर भन्दा कम  देखिन्न । जानकी गाउँपालिका–२ मा ७४ बिगाहमा फैलिएको राधेपुर कार्प हेचरी (माछाको भुरा उत्पादन) फार्म सम्हालेका छन् । सामान्य कृषक जस्तै काम गरिरहेको भेटिने सुमेर राणा खानदानमा जन्मिए । नेपालगन्जमा कहलिएका कैलाश शमसेर राणाका छोरा हुन । सुमेरका भाई डा धवल शमसेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर छन् ।

बुवा कैलाश शमसेर राणाको पदचाप पछ्याउँदै सुमेरले पनि कृषि पढे । भारतबाट बिएससी एजि गरे । उनका बुवाले पनि कृषि पढेका थिए । कैलाश शमसेर अमेरिकाबाट कृषिक्षेत्रको इन्जिनियरिङ्ग अध्ययन गर्ने सम्भवत पहिलो नेपाली हुन ।  कृषिक्षेत्रमै संलग्न हुँदा हालको राधेपुर फार्म जोडे । त्यही फार्ममा छोराहरुले पनि कृषि कार्यलाई निरन्तरता दिए । अहिले फार्मभित्र डा धवल शमसेर राणाको आप बँगैचा रहेको
छ । लाखौ रुपैयाको आप उत्पादन हुने उक्त बगैचा ठेक्कामा दिईन्छ । जानकारहरुका अनुसार कृषिक्षेत्रमा मेयर राणाको लगाव पनि कम छैन । फार्ममा गए भने कुनै न कुनै काम गर्न पछि पर्दैनन् ।

आँपको बैगचा पछि बाँकी जग्गामा सुमेर शमसेरको २६ वर्ष पुरानो माछाको भुरा उत्पादन हुने राधेपुर कार्प हेचरी सन्चालन गर्दै आएका छन् ।  यो हेचरी पश्चिम नेपालको माछाको भुरा उत्पादनको इतिहास हो । सबैभन्दा पुरानो भुरा उत्पादन केन्द्र जुन अहिलेसम्म निरन्तर चलिरहेको छ । मनबाटै कृषिकर्ममा जुटेका सुमेरले जस्तोसुकै समस्या परेपनि हेचरी तलमाथि हुन दिएका छैनन् । खानदानी परिवारका उनलाई फार्ममा बसेर कुटो र कोदालो चलाउन कुनै खिन्नता महसुस हुँदैन । कामदारलाई निर्देशन दिने मात्र होइन आफै पनि काममा सक्रिय हुन्छन् । त्यसैले फार्ममा काम गर्ने कामदारहरु भन्दै थिए,‘उहाँ मालिक हो भन्ने महसुस कहिल्यै हुँदैन । संधै हामी जस्तै बराबर भएर काममा जुट्नुहुन्छ ।’ उनलाई धेरैले सम्मानले ‘राजा र राणा साहेब’ पनि भन्छन् ।
२४ घण्टामा कति पटक फार्ममा आउँछन् त सुमेर ?
हाँस्दै जवाफ फर्काउछन्,–‘२४ घण्टा नै ।’
कसरी ?
उनी भन्छन,–‘दिनभर यही हुन्छु । रातीमा सुते पनि यहीको सपना देख्छु । अनि भएन त २४ घण्टा ….।’
कृषिक्षेत्रमा सुमेर शमसेरको मनबाटै लगाव छ । त्यसैले उनी भन्छन्,–‘सरकारी जागिर खाएको भए रिटायर्ड हुने बेला हुन्थ्यो । तर यता भने म अझै सक्रिय छु । काम सकियो भन्ने महसुस नै हुँदैन । किसान नेभर रिटायर्ड ।’ कृषिक्षेत्रमा सुमेरको यही सक्रियतालाई देखेर सरकारले २०७३ र २०७४ मा उत्कृष्ट कृषक पुरस्कार समेत दिएको थियो ।

२०४४ सालतिर उनले नेपालगन्जको पुरैनी तालमा माछापालन गर्थे । भुरा ल्याउन भने भारत जानुपर्ने बाध्यता रहेछ । नेपालमा पाइनै मुस्किल पर्ने । त्यही समस्या देखेर सुमेरले भुरा यही उत्पादन गर्ने सोंच बनाए । सरकारी मत्स्य बिभागले सहयोग गरेपछि उनको सपना २०४८ सालमा सकारा भयो । पुख्र्यौली फार्ममा राधेपुर कार्प हेचरी सुरु गरे । उनले कार्प हेचरी शुरु गर्ने बेला भैरहवादेखि पश्चिम नेपालमा माछाको भुरा उत्पादन हुँदैन थियो । उनले सुरु गरेपछि पश्चिम नेपालका माछापालक कृषकलाई राहात महसुस भयो । नयाँ माछापालक कृषकहरु थपिदै गए । ‘त्यस पछि व्यवसायीकरुपमा माछापालन शुरु भयो ’– सुमेरले भने,–‘त्यसबेला देखिका कृषक अहिले पनि फार्ममा निरन्तर आइरहनुभएको छ ।’ अहिले वार्षिकरुपमा २५ लाख भन्दा बढि भुरा बिक्री बितरण भइरहेको छ ।

सुमेरले हेचरीका साथ–साथै आप, लिची, बिउँ बिजन उत्पादन समेत गर्दै आएका छन् । त्यसमा नयाँ प्रविधि भित्रा्एका छन् । बिएससी एजि पढेका भएपनि उनी नयाँ–नयाँ प्रविधिसंग जानकार भइरहन्छन् । युट्युव हेर्छन । ‘मैले पढेको भन्दा अहिले धेरै कुरा परिवर्तन भइसक्यो नी । नयाँ कुरा के आयो भनेर अपडेट भइरहन्छु ’– उनले भने ।

प्रस्तुती : कमल डाँगी/ नेपालगन्ज बिजनेश

प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५     5:10:59 PM