ज्योति समूह : स्टील, अटो र स्वास्थ्यमा लगानी बढाउँदै

पद्म ज्योति
अध्यक्ष
ज्योति समूह

सन् १९४० मा स्थापना भएको ज्योति समूह नेपालमा फलाम तथा स्टीलका डण्डी उत्पादकको पहिचान बनाएको विशिष्ट व्यावसायिक समूह हो । यस समूहले सवारीसाधन, ऊर्जा, बीमा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।

समूहले नेपालको स्टील, अटो र स्वास्थ्य क्षेत्रमा अझै धेरै लगानी बढाउने योजना बनाएको छ । समूहले फलामे डण्डी, अक्सिजन, धागो, कपडा, खेत जोत्ने ट्र्याक्टर, सिँचाइका लागि चाहिने पम्पसेट, जेनेरेटर, वेल्डिङ मेशिन विक्रीवितरण गर्नुका साथै औषधि उत्पादन गर्दछ । विभिन्न व्यावसायिक फर्ममार्फत देशभर आफ्नो सञ्जाल विस्तार गरेको समूहले ३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

पद्म ज्योति अध्यक्ष ज्योति समूह

सन् १९६० पछि यो समूहले सिमेण्ट, टेक्सटायल (स्पिनिङ मिल्स एण्ड यार्न प्रोसेसिङ प्लाण्ट), स्टील तथा वायर, औषधि र ग्यास उद्योग स्थापना गरेको हो । त्यसै समयमा समूहले इञ्जिनीयरिङ, आयात–निर्यात, लजिष्टिक सोलुसन्स र पर्यटन क्षेत्रमा प्रवेश गरेको हो ।

सन् १९६७ मा स्याकार कम्पनीको स्थापना भएपछि समूहले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको कारोबार थालेको हो । स्याकार नेपालमा होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता हो । समूह अहिले होण्डाका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन तथा फिलिप्स ब्राण्डका घरायसी सामग्रीको विक्रीवितरणमा पनि संलग्न छ । समूहले हिरो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण नेपाल जनरल मार्केटिङमार्फत गर्छ । यो समूह सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्राण्डी सिटी अस्पतालको मुख्य प्रवर्द्धक पनि हो ।

ज्योति समूहको इतिहास
ज्योति समूहको स्थापना कपडा पसलबाट शुरू भएको थियो । भाजुरत्न कंसाकारले कपडा पसल खोलेसँगै यो समूहको पारिवारिक व्यवसाय आरम्भ भएको हो । त्यसपछि उनले तामाका भाँडा बनाउन शुरू गरेका थिए । साथै, सन् १९२१ मा उनी कालिङपोङबाट घरायसी सामग्री तिब्बत निर्यात गर्थे । भाजुरत्नको व्यापार व्यवसाय समयसँगै तिब्बतमा लोकप्रिय बन्यो । तिब्बतमा भाजुरत्नको कम्पनीलाई स्यामुकापु (तिब्बती भाषामा सेतो टोपी) भनिन्थ्यो । त्यहाँको राजनीतिक परिवर्तनपछि भाजुरत्नले तिब्बतको व्यापार बन्द गरेका थिए ।

सन् १९४० मा भाजुरत्नले कोलकाता गएर फलाम व्यवसायमा हात हाले । सन् १९६० को दशकमा कोलकाताबाट स्वदेश फर्केपछि कंसाकारका छोरा मणिहर्ष कंसाकारले सन् १९६१ मा हिमाल आइरन एण्ड स्टीलको स्थापना गरे । सन् १९६० पछि यो समूहले सिमेण्ट, टेक्सटायल (स्पिनिङ मिल्स एण्ड यार्न प्रोसेसिङ प्लाण्ट), स्टील तथा वायर, औषधि र ग्यास उद्योग स्थापना गर्‍यो ।

त्यसै समय इञ्जिनीयरिङ, आयातनिर्यात, लजिष्टिक सोलुसन्स, पर्यटनलगायत सेवामूलक व्यवसायमा समूहले प्रवेश गरेको हो । हिमाल एजेन्सिजले नेपालबाट निर्यात हुने वस्तु भारतको कोलकाता बन्दरगाहसम्म पु¥याउने र सो बन्दरगाह हुँदे नेपाल आयात हुने वस्तुलाई वीरगञ्जसम्म क्लियरिङ एण्ड फर्वार्डिङ लजिष्टिक सोलुसन सेवा दिन्छ । सन् १९६७ मा स्याकार कम्पनीको स्थापनापछि समूहले दुईपाङ्ग्रे सवारीसाधनको बजारमा आफ्नो बलियो उपस्थिति बनाएको छ । अहिले समूहले चारपाङ्ग्रे ट्र्याक्टर तथा सवारीसाधनको कारोबार पनि गर्छ ।

ज्योति समूहको प्रमुख व्यवसाय

हिमाल आइरन एण्ड स्टील
मणिहर्ष कंसाकारले सन् १९६१ मा स्थापना गरेको हिमाल आइरन एण्ड स्टील उद्योग नेपालको पहिलो स्टील उद्योग हो । यही उद्योग ज्योति समूहको आधारस्तम्भका रूपमा रहेको छ ।

यसको स्थापना सन् १९६१ मा भएको थियो । बजारमा जति धेरै कम्पनी आए पनि गुणस्तरमा सम्झौता नगरेकाले ग्राहकले हिमाल स्टीललाई नै मन पराइरहेको कम्पनीको दाबी छ । यसले स्टील बनाउँदा कवाडीबाट नभएर प्राइम बिलेटलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्छ । पछिल्लो समय उच्चतम प्रविधि, कम्प्यूटराइज्ड वेट ट्याग र ग्राहक सुविधालाई विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ । साथै, यसको मूल्य अखबारहरूमा पनि प्रकाशित हुँदै आएको छ । ग्राहकले सोही प्रकाशित मूल्यमा सामान खरीद गर्न सक्छन् ।

हिमाल आइरन नेपालमा कम्प्यूटराइज्ड विलिङ सिष्टम ल्याउने पहिलो कम्पनी पनि हो । यसका देशभर ८० ओटा भन्दा धेरै डिपो छन् । २०७२ सालको भूकम्पपछि आम उपभोक्तामा सचेतना बढेकाले पहिला मूल्य हेरेर सामान किन्ने गरिथ्यो भने अहिले गुणस्तरमा ध्यान दिन थालिएको कम्पनीको दाबी छ । गुणस्तरको कुरा आउनेबित्तिकै हिमाल स्टील पहिलो रोजाइमा पर्छ । केही महँगो भए पनि दीर्घकालीन रूपमा उत्पादनको मूल्य सस्तो पर्न जाने कम्पनीको भनाइ छ ।

नेपाल जनरल मार्केटिङ
नेपाल जनरल मार्केटिङ प्रालिको स्थापना सन् २०१२ मा भएको हो । यो हिरो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता हो । १०० र १२५ सीसी मोटरसाइकलमा हिरो मार्केट लिडरका रूपमा रहेको छ । माइलेजबारे सतर्क हुन खोज्ने उपभोक्ताले हिरो ब्राण्ड बढी खोजी गर्ने कम्पनीको भनाइ छ । हिरो ब्राण्डको खास गरी क्वालिटी, माइलेज र प्राइजमा फोकस छ । हिरो कम्पनीले सबै वर्गका ग्राहकलाई लक्षित गरी दुईपाङ्ग्रे सवारीसाधन उत्पादन गरेको छ । हलुका, किफायती तथा चलाउन सजिलो भएका कारण पनि विद्यार्थी तथा कामकाजी महिलाको रोजाइमा हिरोका स्कूटर लोकप्रिय छन् ।

बुटवल पावर कम्पनी
सन् १९६५ मा स्थापना भएको बुटवल पावर कम्पनी नेपालको ऊर्जा क्षेत्रमा ५३ वर्षभन्दा लामो इतिहास रहेको प्राइभेट कम्पनी हो । सन् १९९३ मा पब्लिकमा रूपान्तरण भएको कम्पनीलाई सन् २००३ मा निजीकरण गरिएको थियो । बुटवल पावर कम्पनीसँग हाल ९ दशमलव ४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक आयोजनाको सम्पूर्ण स्वामित्व रहेको छ । त्यस्तै, ४ मेगावाटको खुदी हाइड्रोपावर आयोजनाको अधिकांश स्वामित्व तथा ६० मेगावाटको खिम्ती हाइड्रोपावर आयोजनाको स्वामित्व रहेको हिमाल पावर लिमिटेडको १८ दशमलव ६६ प्रतिशत स्वामित्व यस कम्पनीसँग छ ।

कम्पनीले आफ्ना भगिनी कम्पनी काबेली इनर्जीमार्फत ३७ दशमलव ६ मेगावाटको काबेली–ए हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट तथा ङ्यादी हाइड्रोपावरबाट ३० मेगावाटको ङ्यादी हाइड्रोपावर प्रोजेक्टको सन् २०१७ देखि निर्माण शुरू गरेको छ । यी दुवै आयोजना सन् २०२० सम्ममा सञ्चालनमा ल्याउने कम्पनीकोे लक्ष्य रहेको छ । कम्पनीअन्तर्गत सहायक कम्पनीका रूपमा बीपीसी सर्भिसेज लिमिटेड, हाइड्रो कन्सल्ट इञ्जिनीयरिङ लिमिटेड, काबेली इनर्जी लिमिटेड, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र खुदी हाइड्रोपावर लिमिटेड रहेका छन् ।

क्षेत्रगत उपस्थिति

ट्रेड

स्यामुकापु (सन् १९२०)
भाजुरत्न इञ्जिनीयरिङ एण्ड सेल्स प्रालि (सन् १९६४)
स्याकार कम्पनी लिमिटेड (सन् १९७६)
भाजुरत्न फर्मा प्रालि (सन् १९९१)
नेपाल जनरल मार्केटिङ प्रालि (सन् २०१२)
उत्पादन

हिमाल आइरन एण्ड स्टील प्रालि (सन् १९६१)
हिमाल अक्सिजन प्रालि (सन् १९७२)
हिमाल वायर्स प्रालि (सन् १९८२)
ज्योति यार्न प्रोसेसिङ (सन् १९९४)
जय स्पिनिङ प्रालि (सन् २०१२)
सेवा

सुरुचि ट्राभल एण्ड टुर्स (सन् १९९०)
हिमाल एजेन्सिज (लजिष्टिक सोलुसन्स)
हाइड्रो

बुटवल पावर कम्पनी
बीमा

सगरमाथा इन्स्योरेन्स कम्पनी
स्वास्थ्य

ग्राण्डी सिटी हस्पिटल
कृषि

हिमाल एग्रिकल्चर फर्म
ज्वाइण्ट भेञ्चर

मह एग्रिकल्चर र ज्योती गु्रपको संयुक्त लगानीमा हिमाल एग्रिकल्चर फर्मको स्थापना भएको छ ।
वार्षिक कारोबार

१५ अर्ब ३हजार
रोजगार

३ हजार

(आर्थिक अभियान दैनिकले तयार गरेको कम्पनी प्रोफाईलबाट साभार गरिएको हो ।)

प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५     11:04:47 AM