२०७५ साल : बाँकेमा लगानीको आधार तयार , २०७६ मा स्पष्ट नतिजा देखिने बिश्वास

२०७५ साल देशभर जस्तै बाँके जिल्लाको नीजिक्षेत्रका लागि पनि उत्साहप्रद बनेको छ । राजनीतिक स्थीरतासंगै ‘लगानीका लागि आधारशिला’ तयार भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । ‘२०७५ साल पनि नीजिक्षेत्रका लागि समस्यारहित बन्न सकेन । तर लगानीको वातावरण भने तयार भएको छ ।’–उनीहरु दुबै जनाको तर्क थियो । ब्याजदर बृद्धि र तहपिच्छे कर तिर्नुपर्ने अन्यौलता बाहेक नीजिक्षेत्रले खासै समस्या भोग्न नपरेको उद्योगी, व्यवसायीले बताए ।

  • कृष्णप्रसाद श्रेष्ठ,
    केन्द्रीय सदस्य
    नेपाल उद्योग वाणिज्य महासंघ

राजनीतिक अस्थिरताको मारमै सबैभन्दा धेरै नीजिक्षेत्र परेको सर्बवितितै छ । दश वर्षेद्धन्द्धकालमा साविकको मध्यपश्चिम र अझ त्यसको पनि नेपालगन्ज आक्रान्त बन्न पुगेको थियो । लगानीका लागि उपयुक्त क्षेत्र भएपनि अस्थिर राजनीतिक माहोलका कारण यहाँ थप उद्योग खोल्ने
त परै जाओस भएकै उद्योग बिस्थापित भए । त्यो निरासाजनक अवस्थाको अन्त्य होस् भन्ने कामना आमनागरिक जस्तै हामीले पनि गरेका थियौं । आखिर हामीले कामना गरे जस्तै देशमा स्थीरता आएको छ ।

राज्यपुर्नसंरचना गरेर तीन तहका सरकार बनेको छ । स्थीर राजनीतिका कारण देशभर जस्तै बाँकेमा पनि लगानीका लागि उत्साह थपिएको छ । देशकै ठुलो मध्येको एक औद्योगिक शहर हो नेपालगन्ज । पुरानो भएपनि अपेक्षा गरेजति लगानी भित्रिन सकेको थिएन । अब बिस्तारै लगानी थपिदै गएको महसुस गरेको छु । लगानीको आधारशिला तयार भएको छ । २०७६ मा त्यसमा जग हाल्ने काम हुन्छ भन्ने बिश्वास छ ।

  • नन्दलाल बैश्य
    अध्यक्ष
    नेपालगन्ज उद्योग वाणिज्य संघ

२०७५ साल बाँकेमा नीजिक्षेत्रका लागि राम्रो नै भयो । देशका अन्य ठाउँ जस्तै बाँकेमा पनि ब्याजदर बृद्धि र बिभिन्न तहका करका समस्याहरु बाहेक अन्य समस्या देखिएनन् भन्दा हुन्छ । चन्दा, आतंक, बिद्युतको समस्या, राजनीतिक हड्ताल पहिलेको जस्तो भोग्नुपरेन । राजनीतिक स्थीरता हुँदा मात्र पनि आमनागरिकदेखि उद्योगी, व्यवसायी सम्मले कतिसम्म राहातको अनुभुती गर्न पाउने रहेछन् भन्ने कुराको महसुस भइरहेको छ । २०७६ सालमा यो भन्दा अझ राम्रो होस् मैले कामना गरेको छु ।

२०७५ मा लगानी सम्मेलन भयो । त्यसमा पहिलो पटक बाँकेको नौबस्तास्थित औद्योगिक क्षेत्र पनि पर्न सफल भयो । त्यति ठुलो फोरममा बाँकेको नाम जोडिनु आफैमा ठुलो कुरा हो । यसैवर्ष हामीहरुले भारत उत्तरप्रदेशका मुख्यमन्त्री ज्यूसंग भेटेर नेपालगन्जसंग जोडिएका समस्या र समाधानका मुद्दामा खुलेर कुराकानी गर्ने अवसर पायौं । आगामी दिनमा त्यस कुराकानीका नतिजाहरु आउलान् नै । त्यस्तै सुख्खा बन्दरगाहको भारत तर्फको काम अगाडी बढ्नु पनि हाम्रा लागि ठुलो कुरा हो । त्यसबेला भारतीय गृहमन्त्रीलाई नेपालगन्जका बिषयमा थोरै भएपनि कुरा राख्ने अवसर मिल्यो । यही वर्षमा हामीले नेपालगन्ज दिल्ली उडानको कुरालाई पनि ब्यापकरुपमा चर्चामा ल्याउन सफल बन्यौ । नेपालगन्ज दिल्ली उडान निकट भविष्यमै हुन्छ भन्ने बिश्वास छ । सरकारले नेपालगन्ज रंगशालाको स्तरबृद्धि गर्ने काम गर्नु त्यसैको परिणाम हो । बाँकेका पछिल्लो एक वर्षमा साना ठुला दर्जन उद्योगहरु खुलेका छन् । होटल क्षेत्रमा उत्साहजनक लगानी थपियो । अब हामीले नीजिक्षेत्रलाई जोगाइराख्न सबै जुट्न जरुरी छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५     4:56:37 PM