भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र

डा. दिनेश चौधरी : प्रबन्धक निर्देशक, आईडियल फर्मास्यिुटिकल्स्

नेपालगन्ज, २८ बैशाख : ‘आईडियल फर्मास्यिुटिकल्स कम्पनी प्रालि’ले नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा झण्डै रु ४० करोडको लगानीमा पूर्वाधार निर्माणको काम शुरु गरेको छ । आगामी एकवर्ष भित्र औषधी उत्पादन गरेर बजारमा ल्याउने गरी अहिले पूर्वाधार निर्माणको काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डा दिनेश कुमार चौधरीले जानकारी दिनुभएको छ ।

‘स्वास्थ्यक्षेत्रमा आवद्ध रहनुभएका चिकित्सकदेखि अन्य बिशिष्ट व्यक्तित्वहरु मिलेर औषधी उत्पादनको तयारी गरिरहेका छौं’ डा चौधरीले भन्नुभयो–‘अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । कम्तिमा २०७७ को मध्यतिर औषध उत्पादन गरी बजार पठाउने लक्ष्य छ ।’ पहिलो चरणमा झण्डै ४० करोडको लगानी हुने अनुमान गरिएको छ । तीन बिगाह जग्गामा उद्योग स्थापना भइरहेको छ ।

पहिलो चरणमा ट्यावलेट, क्याप्सुल, मल्हम, आँखा, कानमा राख्ने औषधी उत्पादन गरिने बताउँदै डा चौधरीले भन्नुभयो,–‘त्यसपछि आवश्यकताका आधारमा इन्जेक्सन लगायतका औषधी उत्पादन गर्छौै ।’ औषधी उद्योग सन्चालन भएपछि करिव दुई सय जनाले रोजगारी पाउने छन् । दक्ष वा अदक्ष जो भएपनि स्थानीयलाई उच्च प्राथमिकता दिएर रोजगारी दिने डा चौधरीले जानकारी दिनुभयो ।

सांकेतिक मात्र ।

२०७० सालमा उक्त औषधी उत्पादक कम्पनी उद्योग बिभागमा दर्ता भएको थियो । ‘डा कुमारसान शाह र मैले नेपालगन्जबाट गुणस्तरयुक्त औषधी उत्पादन गर्ने गरी उद्योग खोलौ न भन्ने योजना बनाएका थियौं । त्यसपछि पूर्व, पश्चिमका धेरै सहकर्मीहरुसंग मिलेर यो योजना कार्यान्वयन गर्दैछौं ।’– डा चौधरीले भने । उनका अनुसार औषधी उत्पादनको मात्रा भन्दा गुणस्तरलाई बिशेष प्राथमिकता दिने योजना बनाईएको छ ।

नेपालगन्जमा पानस फर्मास्यिुटिकल्स पछि आईडियल फर्मास्यिुटिक्लस् दोस्रो औषधी उत्पादक कम्पनी बनेको छ । आईडियलले स्वदेशी बजार पछि भविष्यमा बिदेशमा समेत औषधी निर्यात गर्ने गरी उद्योगलाई अपग्रेड गर्दै लैजाने छ । डा चौधरीले भने,–‘त्यो भन्दा पहिलो प्राथमिकता त स्वदेशमै गुणस्तरिय औषधी पुर्याएर जनताको मन जित्नु नै हुनेछ ।’

प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६     12:53:48 PM