महिला नेतृ केसीको अगुवाईमा ‘ग्याविन तार,जाली’ उद्योग खुल्दै, ४० जनाले रोजगारी पाउने

उद्योगका लागि भित्रिएको मेशिन ।

बाँके २९ बैशाख : नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्याविन एण्ड वायर ईण्डष्ट्रिज प्रालि सन्चालनको अन्तिम तयारीमा छ । तत्कालिन नेकपा एमाले (हालको नेकपा)को केन्द्रीय तहका बिभागमा रही काम गरिसक्नु भएकी महिला नेतृ बिमला केसी लगायतको समूहले उक्त उद्योग सन्चालन गर्न लागेको हो ।

ग्याविनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गर्ने गरी उद्योगको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । उद्योगका लागि आवश्यक पर्ने महत्वपूर्ण मेशिनरी सामाग्री आईसकेको केसीले जानकारी दिनुभयो । ‘उत्पादनमुलक काम नगर्दासम्म देशमा आर्थिक उन्नती हुने सम्भावना देखिन्न्’ लामो समय राजनीतिमा सक्रिय भई उत्पादनमुलक उद्योगमा हात हाल्नुभएकी महिला नेतृ केसीले भन्नुभयो–‘त्यही सोंचेर उद्योग खोलेका हौं ।’

उक्त उद्योग पूर्णरुपमा सन्चालन हुँदा झण्डै चालिस जनाले रोजगारी पाउँने छन् । कम्तिमा जेठ महिनाभित्र उद्योगले ग्याविन तार र वायर उत्पादन गरी बजारमा पठाउने लक्ष्य राखको छ । ‘ग्याविन तारको स्थानीय माग पुरा गर्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो’ उद्योगकी अध्यक्ष केसीले भन्नुभयो–‘सम्भवत जेठबाट उत्पादन शुरु हुन्छ ।’

बिमला केसी : महिला नेतृ एवं उद्योगकी अध्यक्ष ।

पश्चिम नेपालमा पूर्वाधार निर्माणको काम बढ्दै गएकाले स्वत ग्याविन तार,जालीको माग बढ्ने उद्योगका अर्का सन्चालक प्रेम कडायतले बताउनुभयो । ‘सडक, पुल पुलेसा, तटबन्ध जस्ता कामहरु बढ्दै गएका छन् । त्यसलाई हेर्दा यहाँ तारजालीको माग बढ्ने निश्चित छ ।’ उहाँले भन्नुभयो–‘यस्ता सामाग्रीहरु पुर्वबाट मगाउनुभन्दा यही उत्पादन गरेर बिक्री गर्दा प्रभावकारी हुन्छ ।’ उक्त उद्योगमा अत्याधुनिक मेशिनहरु जडान गरिदैछ । प्रति घण्टा १ सय ५० देखि २ सय ५० मिटर तारजाली उत्पादन गर्ने क्षमताका मेशिन जडान गरिएको छ । बाँकेमा कालिका सगमरमाथा स्टिल पछि तारजाली उत्पादन गर्ने दोस्रो उद्योग बन्दैछ ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     2:49:14 PM