कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

नेपालगन्ज, ३० बैशाख : कर्णाली र सुदुरपश्चिम प्रदेशमा भइरहेको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिने क्रम बढेको छ । यि दुई प्रदेशमा जलविद्युत, सिंचाई जस्ता ठुला परियोजनादेखि सडक, पुलपुलेसा जस्ता पूर्वाधार निर्माणको कामले गति लिएपछि त्यसका लागि आवश्यक पर्ने सिमेन्ट, छड, वायर, कंक्रिट जस्ता उद्योग बाँकेमा थपिएका हुन ।

‘पश्चिम नेपालमा पूर्वाधार निर्माणको कामले गति लिएको छ । यो गति अझ तिव्र हुने छ’ देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेको जय अम्बे स्टिल नेपालगन्जका प्रमुख अनुज श्रेष्ठले भन्नुभयो–‘पूर्वाधारका लागि आवश्यक पर्ने सामाग्री टाडाबाट ल्याउनुभन्दा यही उत्पादन गरेर पठाउँदा धेरै फाईदाजनक हुन्छ ।’ बाँकेमा सन्चालन हुने गरी उद्योेग बिभागमा हालसम्म ८८ वटा उद्योग दर्ता भई अधिकांस सन्चालनमा छन् । त्यसमध्ये सबैभन्दा धेरै ५६ वटा उद्योग उत्पादनमुलक रहेका छन् । उद्योग थपिने क्रम अझै बढेको छ ।

बाँकेको जानकी गाउँपालिकामा रु ३ अर्वको लागतमा निर्माणाधिन अम्बे स्टिल जेठ महिना पछि छड उत्पादन गर्दैछ । भैरहवा समेत छड उत्पादन गर्दै आएको उक्त समूहले त्यो भन्दा पनि ठुलो उद्योग बाँकेमा स्थापना गर्नुका पछाडी कारण पनि पश्चिमको बढ्दै गएको पूर्वाधार निर्माणको बजार नै हो । श्रेष्ठ भन्नुहुन्छ,–‘हिजो माग थोरै भएका बेला पूर्वक्षेत्रका उद्योगबाट उत्पादित सामाग्री ल्याउँदा पनि केही फरक पर्दैनथ्यो । तर अहिले माग धेरै बढेको बेला पनि उतैबाट ल्याउने हो भने उद्योगलाई ढुवानी खर्च धेरै लाग्छ भने सेवाग्राहीले भनेका बेला सामाग्री पाउँदैनन् ।’

बाँकेमा उद्योग सुरु भएपछि निर्माणका सामाग्री अभाव नहुने मात्र नभई भविष्यमा मूल्यमा समेत फरक पर्ने उद्योगीहरुले बताएका छन् । बाँकेमा चाचान समूहले जय बागेश्वरी सिमेन्ट उद्योग सन्चालनमा ल्याईसकेको छ । उक्त सिमेन्टको बजार पनि पश्चिम नेपाल नै हो । त्यस्तै सगमरमाथा स्टिलले बिभिन्न वायर तथा अन्य सामाग्रीहरुको उत्पादन गरिरहेको छ । बाँके जिल्लाको कोहलपुरमा अत्याधुनिक प्रविधिको कंक्रिट उत्पादन गर्ने कोहलपुर आरएमसि प्रालिमा सन्चालनमा आएको छ । त्यस्ते जेठ महिनाभित्रै नेपालगन्जमा कालिका ग्यालविन तथा वायर उद्योग सन्चालन हुँदैछ ।

उक्त उद्योगको अध्यक्ष बिमला केसीले पश्चिम नेपालको विकास निर्माणलाई लक्षित गरी उद्योग सन्चालनको तयारी गरिरहेको बताईन । उक्त उद्योगले तटबन्ध जस्ता काममा प्रयोग ग्यालविन तार उत्पादन गर्ने जनाईएको छ । बाँकेमा अहिलेसम्म स्वदेशी तथा भारतबाट ल्याईने निर्माण सामाग्री ‘स्टक’ गरेर राखिन्थ्यो । त्यसरी राखिएको सामाग्री दुबै प्रदेशमा पठाईन्थ्यो । तर माग बढेसंगै अब स्टक गरेका सामाग्री बिक्री गरेर सम्भव हुने नदेखेपछि उद्योगीहरुले यही उत्पादन शुरु गरेका हुन ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     12:36:39 PM