नेपालगन्जमा सहज विद्युत आपूर्तिका लागि क्षमता बढाउन प्राधिकरणको ध्यानार्कषण


नेपालगन्ज ३१ बैशाख : नेपालगन्ज उद्योग वाणिज्य संघले आज मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रसंग विद्युतको आपूर्ति सहज गर्न माग गरेको छ । अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा गएको टोलीले प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवलाई भेटेर बिद्युत समस्याका बिषयमा ध्यानार्कषण गराएको हो ।

संघले अति गर्मी हुने ठाउँको उपमा पाएको नेपालगन्जमा गर्मीमा विद्युत आपूर्तिमा अनियमितता भई उद्योगधन्दाको सञ्चालन अस्तव्यस्त हुनुका साथै सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बन्न पुगेको छ जनाएको छ । संघका अध्यक्ष बैश्यले जेष्ठ महिनामा मुस्लिम समुदायको महान चाड रमजान(ईद) पनि भएकोले नेपालको मुख्य प्रसारण लाईनबाट कम्तिमा १५ मेघा वाट विद्युत नियमित आपूर्तिका पुन आग्रह गरेको बताउनुभएको छ ।

त्यसका लागि यसअघि पटक पटक अनुरोध गर्दा गत वर्ष विद्युत उपलब्ध भएता पनि यस वर्ष फेरी त्यही अवस्था दोहिरिएकाले १५ मेघा वाट विद्युत तत्काल कोहलपुर सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनको आपूर्ति क्षमतामा अभिबृद्धि गरी नेपालगन्जमा विद्युत आपूर्ति सहज र नियमित बनाउन माग गरिएको छ । प्राधिकरण बितरण केन्द्र नेपालगन्जका प्रमुख यादवले बिगत भन्दा अहिले बिद्युत आपूर्ति सहज भएपनि आगामी दिनमा थप सुधारका काम गरिने बताउनुभयो । संघको टोलीमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी,उपाध्यक्ष दुर्गा भण्डारी, कोषाध्यक्ष शतिश अग्रवाल, प्रवक्ता अभय बस्नेत, बरिष्ठ सदस्य बसन्त लामिछाने, नारायाण ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     4:50:06 PM