प्रविधिको सदुपयोगबाट चम्किएका युवा

निकेश खत्री

काठमाडौं । तपाईंंको हातमा मोबाइल छ ? छ भने अब ढुक्क हुनुहोस् । तपाईंले एक क्लिकबाट घरमै बसीबसी सहजै सबै काम गर्न सक्नुहुनेछ । भोक लाग्यो, कहीँ जानुपर्‍यो, बिजुलीको बिल तिर्नुपर्‍यो, बस/जहाज वा फिल्मको टिकट किन्नुपर्‍यो, लुगा धुनुपर्‍यो, कि घरमै बसेर किनमेल गर्नुपर्‍यो ?

हो, पछिल्लो समय सृजनशील र परिश्रमी युवाले प्रविधिको सदुपयोग गर्दै तपाईंंको जीवन सहज बनाउने कोशिश गरिरहेका छन् । इन्टरनेट र प्रविधिको प्रयोग गरेर उनीहरूले सानै उमेरमा आफ्नै बलबुतामा व्यवसायी बन्ने कोशिश गरेका छन् ।

पढेलेखेका युवाकै सक्रियतामा तपाईंंका लुगा धुने ‘नेपाली धोबी’को जन्म भएको छ । घरमा बसीबसी होटलको खाना खान मन लागेमा ‘फुडमान्डु’को उपयोग गर्न सकिन्छ । मिठो पकाउने कला भए घरमै पकाएर बेच्न सकिने प्लेटफर्म ‘फुडमारियो’ले ल्याएको छ ।

बिल तिर्न ई–सेवा, केकका लागि ‘केक सेवा’, कवाडी सामान बेच्न ‘खाली सिसी’, जागिर/कर्मचारी चाहिए ‘मेरो जब’जस्ता अनलाइन माध्यमको प्रयोग गर्न सकिन्छ । ट्याक्सी सेवाका लागि ‘सारथि क्याब’, मोटरसाइकल ट्याक्सीका लागि टुटल, सामान किनमेल गर्न ‘स्मार्ट डोको’ अनि बिजुली, खानेपानी, मुभी टिकट, रिचार्ज कार्ड, इन्टरनेट महसुल, प्लेन र गाडीको टिकट काट्न ‘खल्ती वालेट’को प्रयोग गर्न सकिन्छ ।

यी हुन् नेपाली युवाले सञ्चालन गरेका ११ ओटा स्टार्टअप कम्पनी

नेपाली धोबी
नेपालमा स्नातक गरेका निकुञ्ज भण्डारी, स्कटल्यान्डमा आईटी पढेका विकास सुवेदी र अस्ट्रेलियामा नर्सिङ पढेकी ऋचा धमलाको सृजना हो ‘नेपाली धोबी’ । यसमा वेबसाइट, मोबाइल एप र फोनको माध्यमबाट कपडा धुने र आइरन गर्ने अर्डर दिन सकिन्छ । यसले प्रतिकिलो रू. १२० मा कपडा धोएको र आइरन गरेको रू. १५० लिने गरेको । अर्डरपछि घरबाटै कपडा लग्ने र पुर्‍याउन ल्याउने व्यवस्था पनि गरेको छ ।

२०७४ सालमा खुलेको ‘नेपाली धोबी’ले १ वर्षभित्रै कुपण्डोलमा नयाँ आउटलेट खोलिसकेको छ । विकास सुवेदीका अनुसार अरूले सञ्चालन गरिरहेको व्यवसायभन्दा केही नयाँ गर्ने चाहनाले ‘नेपाली धोबी’ जन्मिएको हो ।

खाली सीसी
व्यवस्थापनमा स्नातक गरेकी आयुषी केसीले पुनः प्रयोग गर्न मिल्ने फोहोर (कवाडी) व्यवस्थापनकै लागि यूएसएडको जागिर छाडिन् । र, ‘खालीसीसीडटकम’ खोलेर दिनरात नभनी यो काममा लागिन् । पुनः प्रयोग गर्न सकिने फोहोरलाई ल्यान्डफिल साइटसम्म पुग्न नदिनु नै उनको अनलाइन कम्पनीको उद्देश्य हो । अमेरिकामा फोहोर व्यवस्थापन गर्न प्रयोग गरिने प्रविधिबाट मोहित भएकी उनको अफिस बालुवाटारमा छ ।

पुनः प्रयोग गर्न मिल्ने फोहोर संकलन गरेर ‘खालीसीसीडटकम’ वा फेसबुक पेजबाट व्यवस्थापन टीमलाई घरमै बोलाउन सकिन्छ । ‘खाली सीसी’लाई आयुषी उद्यमकै रूप दिन चाहन्छिन् ।

ई–सेवा
विश्वास ढकालले इन्टरनेटको भरपुर प्रयोग गर्दै बिल भुक्तानीका लागि ९ वर्षअघि ई–सेवाको शुरू गरेका हुन् । यसबाट ग्राहकले घरमै बसेर अनलाइन मार्फत गरिने किनमेल तथा विभिन्न बिल भुक्तानीको काम गर्दै आएका छन् ।

ई–सेवाका प्रयोगकर्ताले खानेपानी, टेलिकम, इन्टरनेट, फिल्म, एयरलाइन्स, यातायात, बिजुली, स्कूल/कलेज र अनलाइन किनमेल लगायत २५० भन्दा बढी प्रकारको सेवा पाउन सक्छन् । यसबाट पैसा पाउन र पठाउन मात्र नभई बैंक खातामा पैसा जम्मा गर्न पनि सकिन्छ ।

अहिले ई–सेवाका ग्राहक देशभर ७५ लाखभन्दा बढी छन् । यसले आप्mना ग्राहकलाई बिजुली, पानी र टेलिफोन महसुल तथा विद्यालय शुल्क आदि बुझाउन हरेक ठाउँमा लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति दिलाएको छ ।

खल्ती
इन्जिनीयरिङका विद्यार्थी अरविन साह, ध्रुव अधिकारी, अमित अग्रवाल र मनीष मोदीको उद्यम हो ‘खल्ती वालेट’ । यसले खल्तीमा अर्थात् पर्समा खुद्रा पैसा बोकेर हिँड्नुपर्ने बाध्यताबाट मुक्ति दिन्छ । यसबाट सेवाग्राहीले घरमै बसेर रिचार्ज कार्ड किन्न, खानेपानी, बिजुली र इन्टरनेटको बिल तिर्न अनि जहाज, गाडी र फिल्मको टिकट काट्न सक्छन् । खल्ती वालेटबाट पैसा एकजनाबाट अर्को जनामा तुरुन्तै ट्रान्सफर समेत गर्न सकिन्छ

वेबसाइट र मोबाइल एपको माध्यमबाट चल्ने खल्तीले इन्टरनेटको उपयोग गर्दै सेवाग्राहीलाई सहजता प्रदान गरेको छ । देशभर आठ हजार ग्राहक रहेका खल्तीको धनगढीमा र वीरगञ्जमा शाखा कार्यालय पनि छन्

मेरो जब
बेरोजगार युवा र रोजगारदाता कम्पनीलाई एकै ठाउँमा ल्याउने अनलाइन माध्यम हो शैलेन्द्र गिरीको ‘मेरो जब’ । उनले यसलाई १० वर्षअघि (सन् २००९) देखि सञ्चालनमा ल्याएका हुन् ।

‘मेरो जब’ आएपछि युवाले जागिर खोज्दै हिँड्नुपर्ने अवस्थाबाट छुटकारा पाएका छन् भने कम्पनीहरू जनशक्ति नपाएर खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । ‘मेरो जब’मा अनलाइनको माध्यमबाट जागिरका लागि आवेदन दिन सकिन्छ । यो मोबाइल एप र वेबसाइट मार्फत सञ्चालित डिजिटल प्लेटफर्म हो ।

टुटल
सन् २०१७ देखि सञ्चालनमा आएको अनलाइन प्लेटफर्म ‘टुटल’का जन्मदाता हुन् शिक्षित भट्ट । काठमाडौंका बेरोजगार तर बाइक÷स्कूटर भने भएकाहरूलाई विश्वासमा लिएर शुरू गरिएको व्यवसाय टुटल वेबसाइट र मोबाइल एपबाट सञ्चालन हुन्छ ।

मिटरमा जान नमान्ने तथा महँगो भाडा असुल गर्ने ट्याक्सीबाट दिक्क भएका यात्रु टुटलबाट सुरक्षित तवरमा र सुपथ मूल्यमा समयमै गन्तव्यमा पुग्न सक्ने भएका छन् । अहिलेसम्म टुटलमा उपत्यकाका १० हजार बाइक/स्कूटर आबद्ध भइसकेका छन् ।

बिहान ६ देखि साँझ ९ बजेसम्म सेवा दिने टुटलले सेवाशुल्कको २० प्रतिशत राखेर बाँकी रकम चालकलाई दिन्छ । प्रतिकिलोमिटर औसत रू. २० लाग्ने टुटलले अव्यवस्थित सार्वजनिक यातायातबाट आजित भएका काठमाडौंवासीलाई राहत दिएको छ ।

सारथि
आईटीका दुई विद्यार्थी रवि सिंघल र प्रकाश न्यौपानेको संयुक्त योजना हो ‘सारथि क्याब’ । सन् २०१७ देखि काठमाडौं उपत्यका केन्द्रित ट्याक्सी सेवामा आबद्ध सारथि क्याब अनलाइन प्लेटफर्म हो ।

प्रयोगकर्ताले सारथिलाई मोबाइल एप्लिकेशन र फोनको माध्यमबाट बोलाउन सक्छन् । उपत्यकामा २४ घण्टा सेवा दिनेगरी सञ्चालनमा आएको सारथिमा आबद्ध ट्याक्सीले मिटरका आधारमा उठेको शुल्क लिएर सेवा दिन्छन् ।

यस्ता ट्याक्सी चालकले अनिवार्य रूपमा आफूसँग ट्याब्लेट राख्नुपर्छ, जसबाट सेवाग्राहीले यात्राको दूरी, समय, रकमको जानकारी सहजै लिन सक्छन् । सारथिका ट्याक्सीमा डेबिट/क्रेडिट कार्डबाट पनि भाडा भुक्तानी गर्न सकिन्छ ।

केकसेवा
अनलाइन मार्फत केक अर्डर लिएर घरमै पुर्‍याइदिने व्यवसाय ‘केकसेवा’ आईटीका विद्यार्थीहरू सन्तोष ढकाल र सौर्य पौडेलले शुरू गरेका हुन् । उनीहरूले ग्राहकको अर्डर अनुसार केक तयार पारेर घरमै पुर्‍याउँदै आएका छन् ।

सन् २०१८ डिसेम्बरदेखि सञ्चालनमा आएको ‘केक सेवा’मा विदेशबाट समेत केक अर्डर गरेर आफन्तकहाँ पठाउन र अनलाइनबाट भुक्तानी गर्न मिल्छ । वेबसाइट र मोबाइल एपका साथै फेसबुक, इन्स्टाग्राम र फोनबाट समेत केक अर्डर गर्न सकिन्छ ।

अर्डरको डेलिभरी घरमै हुने भएकाले सञ्चालनमा आएलगत्तै यसले बजार लिन थालिसकेको छ । खाना र खाजामा फुडमान्डु र फुडमारियोले बजार लिइरहेको समयमा केकसेवा सञ्चालनमा आएको हो । शुरुआती चरणमा केकको मात्र सेवा प्रदान गरे पनि दीर्घकालमा अन्य सेवा समेत विस्तार गर्ने ढकाल र पौडेलको योजना छ ।

फुडमारियो
आफ्नै घरमा पकाएर बाहिर खाना बेच्न चाहनेहरूलाई ‘फुडमारियो’ मार्फत अनलाइन प्लेटफर्म बनाइदिएका छन् रोहित तिवारीले । यसबाट रेस्टुराँमा बनेको भन्दा कसैको घरमै पकाएको खाना खान चाहनेहरूलाई पनि राहत मिलेको छ ।

करीब २ वर्षअघि सञ्चालनमा आएको फुडमारियोमा अहिले ८० जनाभन्दा बढी आबद्ध भएका छन्, जसमध्ये अधिकांश महिला छन् । उनीहरू फुडमारियोको सिस्टमबाट आएको अर्डर अनुसार आआफ्नै घरमा खाना तयार गर्छन् र फुडमारियोलाई दिन्छन् । फुडमारियोले त्यो खाना ग्राहककहाँ पुर्‍याइदिन्छ र भुक्तानी लिन्छ । यसमा फेसबुक, मोबाइल एप र फोनबाट खाना अर्डर गर्न सकिन्छ । फुडमारियोमा खाना बनाउने व्यक्तिको सम्पूर्ण जानकारी राखिएको हुन्छ । ग्राहकले तीमध्ये आफ्नो रोजाइको व्यक्तिले बनाएको खाना अर्डर गर्न सक्छन् ।

फुडमान्डु
सन् २०१० देखि सेवा दिन थालेको अनलाइन होटल प्लेटफर्म ‘फुडमान्डु’का जन्मदाता हुन् मनोहर अधिकारी । यसबाट विभिन्न रेस्टुराँमा बनाएका खाजा र खानाका परिकार मोबाइल मार्पmत अर्डर गर्न सकिन्छ ।

मोबाइल एप, वेबसाइट र फोनबाट अर्डर गर्न सकिने फुडमान्डुमा अहिलेसम्म ३०० भन्दा बढी होटल र रेस्टुराँ आबद्ध भएका छन् । यसले तिनका परिकारलाई वेबसाइटमा राख्छ र अर्डर गरेको १ घण्टाभित्र घरमै खाना/खाजा पुर्‍याउँछ ।

स्मार्ट डोको
बेलायतमा पढेर आएका सुविनमान प्रधानले शुरू गरेको अनलाइन किनमेल प्लेटफर्म ‘स्मार्ट डोको’ २०१७ देखि सञ्चालनमा आएको हो । यसमा अनलाइनबाट १८ भन्दा बढी उत्पादन समूहका ४ हजार ५ सयभन्दा बढी सामान खरीद गर्न सकिन्छ ।

कम्पनीको वेबसाइटमा राखिएका सामानहरूबाट ग्राहकको अर्डर अनुसार घरमै सामान पुर्‍याइँदै आएको प्रधानले जानकारी दिए । हाल कम्पनीले काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र वीरगञ्जमा सेवा दिइरहेको छ । दरबारमार्गमा मुख्य अफिस रहेको स्मार्ट डोकोले पाटनमा पनि शाखा कार्यालय खोलेको छ । #आर्थिक अभियानबाट साभार#

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     7:25:54 AM