कसरी बन्छ सिमेन्ट ?

खैरो रङको नरम धूलोको रूपमा चिनिने सिमेन्ट चुनढुंगा, बालुवा, पत्रे चट्टान र माटोबाट बन्छ । यही धूलोलाई पानीको अनुपात मिलाएर मिश्रण गरी निर्माणमा प्रयोग गरिन्छ । सिमेन्ट बनाउन उल्लिखित सामग्रीसहित यस्ता तत्त्व सम्मिश्रण गरिएको हुन्छ :
१. क्याल्सियम, २. सिलिकन, ३. एल्मुनियम, ४. आइरन

क्याल्सियम सिमेन्ट उत्पादनका लागि महत्त्वपूर्ण तत्त्वमध्ये पर्छ । चुनढुंगाबाट क्याल्सियमको आवश्यकता पूर्ति गरिन्छ । यस्तै सिलिकन बालुवा र माटोबाट प्राप्त गरिन्छ भने एल्मुनियम र आइरन बक्साइटबाट पाउन सकिन्छ ।

प्रायः सिमेन्ट खरानी रङको हुने गर्दछ । सेतो रङको सिमेन्ट पनि हुन्छ । तर यसको मूल्य केही बढी हुने गरेको छ । विभिन्न प्रयोजनका लागि भन्दै अहिले विभिन्न कलरका सिमेन्टको उत्पादन र उपयोग पनि बढेको छ । तर यस्ता रङका सिमेन्ट साधारण टालटुल र शोपिसमा मात्र प्रयोग हुने गरेको छ ।

सिमेन्टमा पानी, बालुवा र ग्राभेल मिसाउँदा कंक्रिट बन्छ । पानी र बालुवा मिसाउँदा प्लास्टरका लागि उपयुक्त हुन्छ । चुन, पानी, र बालुवाको घोलबाट मोर्टार बनाइन्छ । बहुप्रयोगमा ल्याउन सकिने सिमेन्ट बजारमा विभिन्न ब्रान्डमा पाइन्छन् ।

१ केजी सिमेन्टमा ३ सय अर्ब कण हुने सिमेन्ट प्राविधिकको भनाइ छ । सिमेन्टमा पानी छेक्न सक्ने विशिष्ट प्रकारको गुण हुन्छ । तथापि यसको भण्डारण भने सुक्खा स्थानमा गर्नुपर्दछ । चिसो र ओसिलो स्थानमा राख्दा सिमेन्ट कडा भएर एउटै ढिक्कामा परिणत हुन पुग्छ, जसलाई हामी ‘बिग्रिएको’ भन्छौं ।

यसरी बन्छ सिमेन्ट
१. चुनढुंगा, बालुवा र माटो सिमेन्ट बनाउन चाहिने मुख्य कच्चापदार्थ हुन् ।
२. चुनढुंगालाई प्लान्टमा ल्याएर मार्बल आकारमा काटिन्छ ।
३. यसरी काटिएका चुनढुंगा र अन्य कच्चापदार्थको अनुपात मिलाएर ब्लेन्डर (मिश्रण गर्ने उपकरण)मा हालिन्छ ।
४. पाउडर वा धूलो बनेको कच्चापदार्थलाई रोलरमा हालिन्छ ।
५. त्यसपछि यसलाई ‘सिन्टरिङ’ (कच्चापदार्थ अत्यधिक तापक्रममा पनि नपग्लने) गरिन्छ । यो प्रक्रियामा कच्चापदार्थलाई घुमिरहेको ठूलो तातो भट्टीमा हालिन्छ । यसमा १ हजार ४८० डिग्री सेन्टिग्रेड तापक्रममा कच्चापदार्थ रोलरमा घुमेको हुन्छ । यसमा भौतिक र रासायनिक परिवर्तनपछि कच्चापदार्थ ठूलो, फराकिलो, रातो र तातो खरानीको रूपमा बाहिर निस्कन्छ, जसलाई ‘क्लिंकर’ भनिन्छ ।
६. ‘क्लिंकर’ चिसिएर खैरो रङमा परिवर्तन भइसकेको हुन्छ । लगभग तयार भइसकेको पदार्थलाई अन्तिम पटक ‘ग्राइन्डिङ’ गरिन्छ । त्यसपछि ‘पोर्टल्यान्ड’ सिमेन्ट तयार हुन्छ ।

सिमेन्टको ग्रेड र प्रयोग अवस्था
१ ३३ ग्रेड : यो ग्रेडको सिमेन्ट साधारण निर्माण कार्यमा मात्र प्रयोग गरिन्छ ।
२ ४३ ग्रेड : यो सिमेन्ट निर्माण कार्यका लागि सबैभन्दा बढी प्रयोग हुन्छ । उत्पादनको लगभग आधा हिस्सा ४३ ग्रेडको सिमेन्टले ओगटेको व्यवसायी बताउँछन् । साधारण निर्माण, आरसीसी ढलान, प्लास्टर लगायत कार्यका लागि ४३ ग्रेडको सिमेन्ट प्रयोग हुँदै आएको छ ।
३ ५३ ग्रेड : यो उच्च टिकाउ हुने सिमेन्टको स्तरमा पर्छ । बलियो कंक्रिट निर्माणका लागि यसको प्रयोग हुन्छ । आरसीसी विद्युत् स्टेशन, सडक, पुल र रनवे बनाउन यो सिमेन्टको प्रयोग गरिन्छ ।

क्लिंकर के हो ?
सिमेन्ट क्लिंकरमा मुख्य अवयवका रूपमा ‘ट्राइक्याल्सियम सिलिकेट’ र ‘डाइक्याल्सियम सिलिकेट’ तथा सहायक अवयवका रूपमा ‘ट्राइक्याल्सियम एलुमिनेट’ र ‘टेट्राक्याल्सियम एलुमिनोफेराइट’ रहेका हुन्छन् । अक्साइडको रूपमा रहेको क्याल्सियमको स्रोत चुनढुंगा हो । क्लिंकर उत्पादनका लागि कच्चापदार्थको ८० प्रतिशत भन्दा बढी हिस्सा चुनढुंगाले ओगटेको हुन्छ भने सिलिकेट, एलुमिनेट र फेराइटका लागि मुख्य रूपमा माटो, सेल तथा आवश्यक भएमा फलामको धाउ र बक्साइट प्रयोग गरिन्छ । सही मात्रामा सम्मिश्रण गरी तयार गरिएको कच्चापदार्थको धूलोलाई भट्टीभित्र कोइलाको मद्दतले १४०० डिग्री सेल्सियस तापमा पग्लनुअगावै जम्न लागेको अवस्थामा पुर्‍याएपछि क्लिंकर बन्दछ । राम्रो क्लिंकरका लागि कच्चापदार्थको मात्रा सही हुनुपर्छ र अनुकूल रासायनिक प्रक्रियाका लागि कम पाकेको हुनु हुँदैन र डढेको पनि ठीक हुँदैन ।

कच्चापदार्थमा अशुद्घिका रूपमा रहेका तŒवहरूबाट पनि गुणस्तर प्रभावित हुन सक्छ । चुनढुंगामा म्याग्नेसियम अक्साइड ३ प्रतिशतभन्दा बढी भएमा निर्माणमा प्रयोग गरिएको सिमेन्ट कालान्तरमा चर्किन सक्छ । चुनढुंगा उच्चस्तरको अथवा क्याल्सियम अक्साइड ज्यादा भएमा कच्चापदार्थको सही मात्रा निर्धारण गर्न सजिलो हुन्छ । क्लिकरलाई करीब ४ प्रतिशत जिप्समसँग मिसाएर सिमेन्ट मिलमा पिँधेपछि ओपीसी सिमेन्ट बन्छ । साथै फ्लाईआस र स्लाग मिसाएर पिस्दा क्रमशः पीपीसी र पीएससी सिमेन्ट तयार हुन्छ ।

सिमेन्ट भण्डारण विधि
सिमेन्टको भण्डारणले पनि यसकोे गुणस्तरमा प्रभाव पार्छ । यदि भण्डारण गर्दा गलत तरीका अपनाइयो भने प्रयोग गर्नुअगावै डल्लो पर्ने र गुणस्तर खस्किँदै जाने सम्भावना रहन्छ । वर्षायाममा सिमेन्ट भण्डारण गर्दा विशेष सावधानी अपनाउन सकिएन भने बिग्रिएर कामै नलाग्ने हुन सक्छ । त्यसैले सिमेन्ट भण्डारण गर्दा कहिल्यै पनि भित्तामा टाँसिने गरी राख्नुहुँदैन । भुइँमा काठ बिछ्याएर वा टाँड बनाएर मात्र भण्डारण गर्नुपर्छ । भण्डारण गर्ने स्थानको झ्यालढोका सधैं बन्द राख्नुपर्छ भने एउटा चाङमा सामान्यतया १० बोराभन्दा बढी राख्नु राम्रो मानिँदैन । सिमेन्टलाई निर्माणाधीन भवनमै राख्ने हो भने भवन पूर्णरूपले सुकेको हुनुपर्छ । अन्यथा प्रयोग गर्नुअघि नै सिमेन्ट ओसिएर काम नलाग्ने हुन सक्छ । साथै सिमेन्ट झिक्दा माथिको मात्र नभई सबैतिरबाट झिक्दै जानुपर्छ र समयसमयमा तलको माथि र माथिको तल हुनेगरीे उल्ट्याउनुपर्छ ।

निर्माण सामग्री प्रयोग विधि
कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्दा सिमेन्ट बालुवाको सही अनुपात भएमा मात्र बन्ने संरचना गुणस्तरीय हुन्छ । वाल लगाउँदा इँटाको जोडाइमा सिमेन्ट र बालुवाको भूमिका महत्त्वपूर्ण हुन्छ । सामान्यतया ९ इन्चको पर्खाल लगाउँदा १ः६ र ४ इन्चको पर्खालमा १ः४ को अनुपातमा मसला बनाउने गरिन्छ । यसरी पर्खालको चौडाइअनुसार मसलाको अनुपात मिलाउँदा त्यसको भार वहन क्षमतामा कमी आउ“दैन । पर्खाल लगाउँदा दुई इँटाको बीचमा राम्रोसँग मसला हालिएको हुनुपर्छ भने तलदेखि माथिसम्म सीधा ज्वाइन्ट पर्नेगरी लगाउनु हुँदैन । हरेक इँटालाई माथिपट्टि बुट्टा पर्नेगरी मिलाएर लगाउनुपर्छ । त्यस्तै सबै ज्वाइन्टको ग्याप समान हुनुपर्छ । पर्खाल लगाउने कार्य सकिएको १ हप्तासम्म निरन्तर पानीले भिजाउने गर्नुपर्छ ।

सिमेन्टका प्रकार
ओपीसी
अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) शुद्ध सिमेन्ट हो । यसबाट ताप छिटो बाहिर निस्कने हुनाले यसको प्रयोगबाट गरिएको प्लास्टर चर्कने सम्भावना बढी हुन्छ । ओपीसीको प्रयोग बढी तापक्रम भएका स्थानका लागि त्यति उपयुक्त हुँदैन । ओपीसी सिमेन्टमा जिप्सम (आवश्यकता अनुसार) बाहेक अन्य पदार्थ मिसाइँदैन । ओपीसी सिमेन्टले प्रयोग गरेको २८ दिनसम्ममा आवश्यक ‘स्ट्रेन्थ’ प्राप्त गरिसकेको हुन्छ ।

पीपीसी
पोर्टल्यान्ड पोजोल्याना सिमेन्ट (पीपीसी) कम ताप भएको सिमेन्ट हो । पीपीसीलाई प्लेन पोजोलाना सिमेन्ट पनि भनिन्छ । यस्ता सिमेन्ट सेट हुन लामो सयम लाग्ने भएकाले पीपीसी प्रयोग गरिएको ठाउँको ‘फर्मा’ धेरै दिनसम्म निकाल्न मिल्दैन । पीपीसी प्रयोग गरिएको ठाउँमा लामो समयसम्म डिजाइन (बुट्टा) निकाल्न सकिन्छ । पीपीसीमा फलाम, कोइलाको भष्म जस्ता तŒवको प्रयोग गरिने भएकाले यसको तापक्रम नियन्त्रन गर्न सजिलो हुन्छ । पीपीसी सिमेन्टमा जिप्समको अतिरिक्त फ्लाईआस (खरानी)को मिश्रन हुन्छ । पीपीसी सिमेन्टको प्रयोगमा शुरूमा ओपीसी सिमेन्टको जस्तो ‘स्ट्रेन्थ’ आउँदैन । तर पीपीसी सिमेन्टमा भएको अध्ययनअनुसार ‘स्ट्रेन्थ’ विस्तारै बढ्दै जाने र सो क्रम ५ वर्षसम्म लम्बिरहेको पाइएको छ । मिश्रणसहितको पीपीसी सिमेन्ट सस्तो पर्ने हुनाले साधारण कार्यमा बढी प्रयोग हुन्छ । विश्वबजारमा ५५ प्रतिशत पीपीसी सिमेन्ट, ३५ प्रतिशत ओपीसी सिमेन्ट र १० प्रतिशत पीएससी सिमेन्टको उत्पादन भइरहेको मानिन्छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     2:12:22 PM