महायज्ञ लगाएर खोलेको क्यान्सर अस्पतालका कर्मचारीलाई सरकारले तलव दिन सकेन

 

नेपालगन्ज, ३ जेठ : महायज्ञ लगाएर निर्माण शुरु गरेको बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल सन्चालनको वर्षदिनमै चिकित्सकदेखि अन्य कर्मचारीले तलव नपाएर आन्दोलनको घोषणा गर्नुपरेको छ । अस्पतालमा कार्यरत कर्मचारीले चार महिनादेखि तलव र नियुक्तिपत्र समेत नपाएपछि सेवा बन्द गर्नेसम्मको आन्दोलनको घोषणा गरेका छन् ।

उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्र नपाएको भन्दै माग पुरा गर्न अस्पताल प्रशाशनलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । लोकसेवा आयोग लगायत अन्य प्रक्रियाबाट लिखित परीक्षा मार्फत छनौट भएका कर्मचारीहरुले करीव ४ महिनादेखी तलव र नियुक्ति पत्र नपाएका हुन् । अस्पतालमा कार्यरत  ३० जना कर्मचारीले तलव नपाएका हुन् । उनिहरुले संयुक्त रुपमा  सन्चालक समीति र अस्पताल प्रशासनको ध्यानार्कषण गराएका छन् । समस्या समाधान नगरीए कडा आन्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।

प्रखर परोपकार मिशनको अगुवाईमा खजुराका सर्बसाधारणहरुले महायज्ञ लगाएर क्यान्सर अस्पताल निर्माणको काम शुरु गरेका थिए । पश्चिम नेपालकै एक मात्र उक्त क्यान्सर अस्पताल सन्चालनको वर्षदिनमै बिभिन्न झमेलामा फसेपछि खजुराका सर्बसाधारण चिन्तित छन् । प्रखर परोपकार मिशनका सचिव सतिश निरौलालले अस्पतालको अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनले यस्तो रबैयाले पश्चिम नेपालकै ठुलो क्यान्सर अस्पताल बनाउन मुस्किल हुने बताए । अस्पतालमा पुर्वप्रधानमन्त्री सुशिल कोइरालाको नाम झुण्ड्याएपछि चौतर्फी बिरोध भएको थियो । पक्ष र बिपक्षमा संसदसम्म कुरा उठ्यो । उक्त बिबाद सकिएपछि अहिले कर्मचारीले तलव नपाएर अस्पतालनै ठप्प हुने अवस्था आईपुगेको छ ।

उक्त अस्पताल अहिले संघीय सरकार मार्फत सन्चालनमा छ । बजेट नदिएपछि कर्मचारीको तलव खुवाउन सकिएको छैन । अस्पतालका लागि कर्मचारी अभाव भइरहेका बेला काम गर्दै गरेका कर्मचारीलाई नै तलव दिईएको छैन ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     5:46:48 PM