एउटै वडामा ६३ ठुला उद्योग

नेपालगन्ज, ४ जेठ : बाँके जानकी गाउँपालिका –६ गनापुरमा मात्र ६३ वटा उद्योग सन्चालनमा छन् । औद्योगिकक्षेत्र बनाउने सरकारको कुनै योजनाबद्ध काम नभएपनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताहरुले उद्योग सन्चालन गरिरहेका छन् । उक्त वडामा सिमेन्ट, आईरन, खाद्य, इट्टा,जडिबुटि,रोजिन, औषधी जस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठुला उद्योग सन्चालनमा रहेको वडा अध्यक्ष सुरेश यादवले जानकारी दिए ।

‘पश्चिम नेपालमा एउटै वडामा यतिका उद्योग सन्चालन भएको सम्भवत एकमात्र वडा होला ’ वडा अध्यक्ष यादवले भने–‘ठुला –ठुला उद्योगको आर्कषण छ ।’ नेपालगन्ज औद्योगिकक्षेत्रमा झण्डै ३० वटा उद्योग मात्र सन्चालनमा रहेका बेला गनापुरमा भने त्यसको दोब्बर उद्योग सन्चालनमा छन् । वडा कार्यालयका अनुसार ६३ उद्योगमा छ वटा उद्योग बन्द छन् भने पाँचवटा उद्योग सन्चालन हुँदै छन् । बाँकी सबै अहिले सन्चालनमा छन् ।

यहाँ जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी आईरन उद्योग, बाहुबलि हर्बल उद्योग, गंगा रोजिन, यसक्षेत्रकै एक मात्र औषध उत्पादक कम्पनी पानस फर्मास्यिुटिक्लस जस्ता ६३ वटा उद्योग रहेका छन् ।

वडा नम्बर ६ मै किन आर्कषण ?

राजनीतिक अस्थिरतासंगै बाँकेमा ठुला उद्योग सन्चालनको संख्या बढ्दैछ । बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै रहेको पाईन्छ । यो गाउँपालिका नेपालगन्ज–कोहलपुर सडकखण्डसंगै जोडिएको छ । गनापुरदेखि पश्चिम जानेबाटोमै लहरै उद्योगहरु स्थापना भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका भित्र ठुलो जग्गा खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाईहाले पनि निकै महङ्गो मूल्य तिर्नुपर्ने हुन्छ । त्यसको बिकल्पमा उपमहानगरसंगै जोडिएको र राजमार्गकै छेउ जानकी गाउँपालिका सस्तो र धेरै जग्गा पाउन सहज छ । ‘शहर भन्दा यहाँ जग्गा सस्तो छ । त्यही भएर पनि यहाँ उद्योगीको आर्कषण छ’– वडा अध्यक्ष यादवले भने । तर उद्योग सन्चालन हुने क्रम बढेसंगै जग्गाको मुल्य बढेको छ ।

पूर्वाधार निर्माणको काममा गाउँपालिकाको ध्यान

यतिका उद्योग सन्चालन भएपनि जानकीमा बाटो लगायतका पूर्वाधार निर्माणको काम प्रभवाकारी हुन सकेको छैन । उद्योगसम्म पुग्नका लागि बाटो त छ तर अति नै साँघुरो । जेठ ९ गतेबाट बाटो बिस्तार लगायतको काम सुरु गर्न लागिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका उद्योगलाई पूर्वाधार लगायतका सुविधा दिने जनाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ४, २०७६     9:09:16 AM