गार्मेन्ट उद्योग सञ्चालनको तयारी

बारबर्दिया (बर्दिया) ७ जेठ : केही दिन पहिलेसम्म रोजगारी नहुँदा घरमै बसेर यताउता गरी समय विताउने बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका थारु समुदायका युवतीहरुले ब्याग बनाउने तालिम पाएपछि सामुहिक गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका छन् ।
बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत प्लान इन्टरनेशनलको सहयोग र बारबर्दिया नगरपालिकाको समन्वयमा राईजिंग आईडल्स बाँकेले बारबर्दियाका १६ जना युवतीहरुलाई एक महिने ब्याग बनाउने तालिम दिएपछि उनिहरु गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका हुन् ।
राईजिंग आईडल्स बाँकेले तालिमसंगै उद्योग सञ्चालनका लागि सिलाई मेसिन र ब्याग बनाउने सामाग्री गरेर २ लाख २० हजार बढीको सामाग्री समेत उनिहरुलाई वितरण गरेपछि उद्योग सञ्चालनमा सहज भएको छ ।  सो तालिम लिएकी बारबर्दिया–७ की रिता चौधरीले तालिम लिएका १६ जना युवतीले सामुहिक रुपमा मिलेर गोचाली गार्मेन्ट उद्योग सञ्चालन गरेर आधुनिक किसिमका ब्याग उत्पादन गर्ने योजना सुनाइन् ।  उनले कामै नपाएर बेरोजगार बसीरहेको बेला यस्तो तालिम पाएपछि आर्थिक रुपमा सबल बन्न केही गर्ने जोश र जाँगर उत्पन्न भएको जनाइन् ।
यस्तै सोही तालिम लिएकी अर्की युवती सबिना थारुले तालिमले विश्वास बढाएपनि बजार ब्यबस्थापन र अन्य सहयोगका लागि स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गरिदिनु पर्ने कुरामा जोड दिईन् ।
यसैविच ब्याग बनाउने तालिम पाएका युवतीहरुलाई उद्यमी बनाउन हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता बारबर्दिया नगरपालिकाले पनि जनाएको छ । तालिमको समापन गर्दै तथा प्रशिक्षार्थिलाई ब्याग बनाउने सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारुले युवतीहरुले सिकेको ब्याग बनाउने सिप नगरपालिकाको सम्पत्ति भएको जनाउँदै गार्मेन्ट उद्योग स्थापनादेखि सञ्चालन सम्मका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले बारबर्दियामा बनेको ब्याग नेपालभरीनै प्रसिद्ध हुनेगरी ब्याग बनाउन आग्रह गर्दै बाँकी सबै सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताए ।
सोही अवसरमा बोल्दै बारबर्दिया नगरपालिकाका उपमेयर अन्जु दहितले महिलाहरुलाई स्वरोजगार बनाउनु भनेको घरको आर्थिक अवस्था बलियो बनाउनु हो भन्दै यो तालिमको सदुपयोग गर्न आग्रह गरिन् । उनले अहिले बजेट तयार भैरहेकोले नगरपालिकाले के गर्न सक्छ योजना लिएर आउन आग्रह समेत गरिन् ।
वडा नम्बर ६ का वडा अध्यक्ष कर्ण बहादुर विकले उद्योगका लागि आफ्नो वडाले गर्नुपर्ने सबै काम निशुल्क गर्ने घोषणा गरे ।
बालिका तथा युवा सशक्तिकरण अभियानका बारेमा जानकरी दिदै राईजिंग आईडल्सका संस्थापक अध्यक्ष आशिष बर्माले युवा युवतीहरुको क्षमता र दक्षतामा बृद्धि गर्दै उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले यस्ता तालिमहरु बाँके र बर्दियाका विभिन्न ठाउँमा संचालन गरिएको जानकारी दिए ।
उनले तालिम लिएकाहरुलाई करिब ५ सय ब्याग तयार हुने सामाग्री प्रदान गरिएको जनाउँदै यसबाटै ठुलो गार्मेन्ट उद्योग सञ्चालन गर्न सकिने बताए ।
राईजिङ आईडल्स बाँकेका अध्यक्ष विनोद शर्माको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष फत्तु थारु, तालिमका विजनेश प्रशिक्षक अनिल चौधरी, प्रमुख प्रशिक्षक नारायण थारु, राईजिङ आईडल्स बाँकेका सचिव रोहित वर्मा, सदस्य शतिश शर्मा, लेखा अधिकृत राजन वर्मा र कार्यक्रम संयोजक विष्णु अधिकारीको पनि उपस्थिति रहेको थियो ।
तालिम समापनको सो अवसरमा तालिममा तयार गरिएका ब्यागहरु अतिथिहरुलाई एक एक थान उपहार स्वरुप प्रशिक्षार्थिले प्रदान गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६     1:31:34 PM