नेकपा बाँकेको सपथग्रहण : घमण्ड नगर्न कार्यकर्तालाई नेता नेपालको निर्देशन(फोटो फिचर)

नेपालगन्ज, १० जेठ : तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण पछि बनेको नेकपा बाँकेको जिल्ला कमिटिका सदस्यले शुक्रबार सपथ लिएका छन् । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जिल्ला कमिटिका रहेका १ सय ५५ सदस्यलाई सपथ खुवाए । सपथग्रहण समारोहमा बोल्दै बरिष्ठ नेता पूर्वप्रधानमन्त्री नेपालले एकिकरण भएसंगै पार्टी अब क्रियाशिल बन्ने बताए । ‘एक वर्षसम्म जिम्मेवारी पाएनौं भन्ने थियो । अब जिम्मेवारी प्राप्त भएको छ । पार्टीलाई क्रियाशिल बनाएर लैजानुहोला ।’– बरिष्ठ नेता नेपालले कार्यकर्तालाई निर्देशन दिदै भन्नुभयो ।

बरिष्ठ नेता नेपालले नेकपाले प्राप्त गरेको उपलब्धीलाई जोगाईराख्न नेता कार्यकर्ताहरुले आचरणमा ठुलो परिवर्तन ल्याउन बाँकी रहेको उद्घोष गरे । उनले नेता कार्यकर्तामा घमण्ड पलाए भारतको बामपन्थी आन्दोलनको हालत हुने भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरे । नेता नेपालले भने,‘भर्खरै भारतमा निर्वाचको मतपरिणाम देख्नुभएकै होला । त्यसमा बामपन्थी शक्तिले एउटै सिट ल्याउन सकेन । बामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भनेर हेर्नका लागि टाडा जानैपर्दैन । छिमेकमा हेरे पुग्छ ।’

नेता कार्यकर्तामा घमण्ड, धनको लोभ, राज्यशक्तिको दुरुपयोग र आलोचना सुन्न नसक्ने प्रबृत्ति बढ्दै गए कम्युनिष्ट आन्दोलन सकिन समय नलाग्ने नेता नेपालले स्पष्ट पारे । उनले भने,–‘हामीले पनि घमण्ड नगरौैं । अत्यन्त होसियारीपुर्वक जनताले दिएको शक्तिको उपयोग गरौं ।’ सपथग्रहण समारोहमा बोल्दै नेकपा प्रदेश ५ का सहइन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक, दिनेशचन्द्र यादव, अकलबहादुर बम लगायतले कार्यकर्ताबीचमा भावनात्मक एकतालाई सुदृड गरेर लैजानुपर्नेमा जोड दिए । उनीहरुले पार्टी र देश निर्माणप्रति जिम्मेवारीबोध गरेर काम गर्न आग्रह समेत गरेका छन् ।नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन पार्टी सचिव अशोक कोइरालाले गरेका थिए । उक्त सपथग्रहण कार्यक्रममा प्रदेश कमिटि सदस्य, संविधानसभाका सदस्य, प्रदेश सांसद लगायतको सहभागिता थियो ।

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६     3:23:15 PM