देशको झण्डा बनाउने अनवर !

जिल्ला पंचायत सुर्खेतले अनवर अली इद्रिसीलाई ठुलो संख्यामा राष्ट्रिय झण्डा बनाउन ‘अर्डर’ गर्यो । समय पंचायतकालको थियो । आफ्नो मनपर्ने ठाउँ सुर्खेतमा राजा बिरेन्द्र ‘सवारी’ भएका थिए । राजाको सवारी तामझामपूर्ण बनाउन जिल्ला पंचायतले कुनै कसर बाँकी राखेको थिएन । त्यसका लागि नेपालगन्जका अनवरलाई राजाको सवारीको तीन महिना अघि नै राष्ट्रिय झण्डा, ब्याच जस्ता सामाग्री बनाउन भनेको थियो । अनवर राष्ट्रिय झण्डा बनाउने एक्ला व्यक्ति थिए ।
राजाको सवारीमा फहराउने झण्डा बनाउने जिम्मा पाएपछि अनवर खुःसी नहुने कुरै भएन । दिन रात नभनी उनले काम सके । सुर्खेत ती सामाग्री बनाउने दिन आइपुग्यो । सडक यातायातको पूर्वाधारसंग नजोडिएको सुर्खेतमा जानुपर्ने एकमात्र बिकल्प पैदल नै थियो । तर जुन दिन अनवर जाने तयारी गर्दै थिए, सुर्खेतमा हावाहुरी मात्र होइन हिउँ नै परेर जानै नसकिने अवस्था आएछ । मौसमका कारण उनी हच्किए । तर राजाको सवारीमा झण्डा नपुर्याई नहुने । तर कसरी ? टाउको दुखाई भयो ।


त्यही बेला राँझास्थित सेनाको ब्यारेकबाट नेपाली सेनाका सुवेदार आईपुगे । ‘अनवर साब राजाको सवारीमा जाने होइन ? भन्दै सुवेदार आउनुभयो । मैले जानैपर्ने हो तर कसरी ?’ ती दिन सम्झदै अनवरले भने–‘ सुवेदारले म तपाईलाई लिन आएको हो । ल हिड्नुहोस् ब्यारेक तपाईलाई हेलिकप्टरमा सुर्खेत लैजाने आदेश छ भन्नुभयो ।’ एक त आफ्नो काम बन्ने अर्कोतिर हेलिकप्टरमा पहिलो पटक चढ्न पाइने भएपछि अनवरलाई खुःसीको सिमा नै भएन । अर्डर गरेको सामानको भारी बोकेर अनवर राँझा ब्यारेक लागे । त्यहाँबाट सिधै सुर्खेत ।

‘राजा पहिल्यै त्यहाँ आईसक्नुभएको रहेछ । बुलबुले तालको छेउमा राजा बिरेन्द्रको टेण्ट सहितको बस्ने व्यवस्था थियो । त्यही हेलिप्याड पनि । म चढेको हेलिकप्टर त्यही ओर्लियो ।’ अनवरले भने–‘जब हेलिकप्टरबाट ओर्लिए त्यहाँ राजालाई नजिकबाट देख्न पाए । सेनाका ठुला ठुला मान्छेसंगै थिए । त्यत्रा मान्छेका अगाडी म जस्तो सामान्य मान्छेलाई देख्दा धेरैले मुखामुख गरेको महसुस गरे ।’ उनले राजासंग प्रत्यक्ष कुराकानी गर्न भने पाएनन् । हेलिकप्टरबाट ओर्लिएपछि सेनाको टिमसंगै उनी जिल्ला पंचायत तर्फ लागे, जहाँ उनले अर्डर बुझाउनुपथ्र्यो । करिव एक हप्ता सुर्खेत बसेपछि घर फर्किए ।

राजाको धेरै सवारीमा फहराउने झण्डा बनाउने जिम्मा अनवरकै हुन्थ्यो । उमेरले यतिबेला ७० वर्ष पुगेका नेपालगन्ज वडा नम्बर ४ घोसीटोलका अनवरसंग यस्ता धेरै ‘गौरव’ लाग्ने पुराना सम्झनाहरु छन् । पंचायतकालमा झण्डा बनाउन शुरु गरेका उनलाई उछिन्न गणतन्त्रसम्म आईपुग्दा कसैले सकेको छैन । बैशाखमा नेपालगन्जमा सम्पन्न भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनैले बनाएका झण्डा प्रयोग भए । जसको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको थियो । ‘देशमा जुनसुकै व्यवस्था आओस् मेरो राष्ट्रिय झण्डा बनाउने काम चलिरहन्छ । देशमा झण्डा फहराईरहन्छ’– अनवर भन्छन् । पंचायतकालमा सुर्खेत मात्र होइन झण्डा बनाउन राजाकै सवारीमा दिपायलसम्म पुगेको अनुभव छ । उनी भन्छन् –‘ पश्चिममा जहाँ जहाँ राजाको सवारी हुन्थ्यो त्यहाँको झण्डा बनाउने जिम्मा मेरै हुन्थ्यो । सेना, प्रहरीका झण्डा बनाउने जिम्मा पनि मलाई नै मिल्थ्यो ।’

४२ वर्षको उमेरदेखि झण्डा बनाउन सुरु गरेका अनवरले राष्ट्रिय झण्डा बनाएर नाम र दाम दुबै कमाए । झण्डा बनाउने अनवर भन्ने बित्तिकै ठुला ठुला मान्छेले माया गरेर बोलाउथे । आर्थिक उपार्जन पनि राम्रै भएको छ । त्यहीबाट आएको पैसाले घर बनाए । छोराछोरीको पढाईदेखि बिहेसम्म गराउन सके । ‘अब अहिले बुढाबुढीलाई आरम छ ।’ अनवर भन्छन्–‘हरेक नेपालीका लागि देशको झण्डा गौरबमय हुन्छ नै तर मेरो लागि अझ खास हो । यसले मलाई नाम दियो, दाम थियो ।’ उमेरले ७० पुग्दा पनि उनी अहिले  झण्डा बनाउँदै गरेको भेटिन्छन् ।

झण्डा बनाउने सीप सिके, बिदेश जान रोकिए

साउदी अरवमा कमाउन जान भन्दै अनवर राहादानी बनाउन काठमाण्डौ गएका थिए । राहादानी बनाउन त्यसबेला सात /आठ महिना कुर्नुपथ्र्यो रे । त्यो अवधीभर काठमाण्डौमा टिक्नका लागि उनले झोसे भन्ने ठाउँमा झण्डा, ब्याच बनाउन सिके । मासिक तीन हजारमा जागिर पनि पाए । ‘मैले काम गर्ने ठाउँमा झण्डाको काम निकै आउँथ्यो । त्यही देखेर यस्तो त नेपालगन्जमा पनि चल्छ जस्तो लाग्यो । त्यहीबाट बिदेश नगएर घर फर्किए ।’– अनवरले भने । नेपालगन्जमा फर्किएपछि कोठा भाडा लिएर काम सुरु गरे । झण्डा, सेना प्रहरीको ब्याच जस्ता काम आउन थाल्यो । अत्यन्त कलात्मक तरिकाले बनाउने भएकाले सबैको रोजाईमा उनी नै पर्थे । भन्छन्,–‘सीपालुले बनाउने कुरा हो यो । जोकोहीले बनाउन सक्दैनन् । राम्रो भएर होला सायद राजाको सवारीमा पनि मैले बनाएको झण्डा फहराउथ्यो।’

अब कस्ले बनाउने ?

उमेर छिप्पिदै गएपछि अनवरलाई आफुले गर्दै आएको काम कस्ले गर्ला भन्ने चिन्ताले सताउँछ । छोराहरुलाई यस्तो सीपका बारेमा थोरै जानकारी छ । उनीहरुले यही काम गर्लान् भन्ने बिश्वास छैन । धेरै नाफा आउने कामको खोजी गर्न थालेका छन् ।

सीप सिके पैसा कमाईन्छ 

अनवरको निष्कर्ष छ, सीप सिके भोकै मरिदैन । झण्डा बनाउने सीप नसिकेर बिदेश गएको भए सम्भवत उनको जीवन अर्कै हुन्थ्यो । मान, प्रतिष्ठा र स्वदेशमै बसेर पैसा कमाउन हुने थिएनन् । त्यसैले उनले अहिले पनि आफ्नो परिवारका सदस्यलाई सीप सिकेर देशमै काम गर्न सुझाव दिदै आएका छन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १२, २०७६     4:29:56 PM