‘खर मुक्त घर’का लागि १३ करोड ५० रुपैया बजेट

नेपालगन्ज : संघिय सरकारले बाकेका गरिब तथा विपन्न वर्गका लागि ‘खर मुक्त घर’ अभियान सुरु गर्ने भएको छ । त्यसका लागि १३ करोड ५० रुपैया बजेट छुट्याएको सरकारले सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरेको हो ।

‘बाकेमा २ हजार ७ सय सुरक्षित नागरिक आवासका लागि बजेट छुट्याइएको छ,’ नेपालगन्जस्थित सघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयका इन्जिनियर होमनाथ भुषालले भने, ‘सोही बजेट अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा रहेको समितिले काम सुरु गरेको हो ।’

इन्जिनियर भुषालका अनुसार, नेपालगन्ज नगरपालिकामा सबैभन्दा बढी १ हजार ४ सय घरका लागि सरकारले प्रति घर ५० हजारका दरले नगद सहयोग गर्दैछ । बाँकेको डुडुवा गाउपालीकामा ७ सय, जानकी गाउपालीका मा ३ सय र नरैनापुर गाउपालीकामा ३ सय घरका लागि सरकारले बजेट छुट्याएको छ ।

‘खासगरी खरका छाना भएका घरलाई सुरक्षित बनाउन टिनको छाना उपलब्ध गराउने सरकारको अभियान हो’, इन्जिनियर भुषालले यसैबर्ष कार्यविधि बनेर बजेट कार्यान्वयनमा आएको जानकारी दिंदै भने, ‘आगलागीको जोखिमबाट सिङ्गो बस्ती जोखिममा पर्दै गएपछि सरकारले यसखालको योजना अघि सारेको हो ।’

खर मुक्त घरका लागि छनौट प्रक्रिया समेत सुरु भैसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागले बाकेसँगै बर्दियाका ३ सय ५० घरलाई घर मुक्त बनाउने छ । बर्दियाको बढैयातालमा १ सय र गुलरिया नगरपालिकामा २ सय खरका घरमा टिनका लागि अनुदान दिइने इन्जिनियर भुसालले बताए ।

‘वडामा आवेदन परेपछि आर्थिक रुपमा कमजोरलाई प्राथमिकतामा राखेर अनुदान दिइनेछ’, उनले भने । ‘छानिएका स्थानीय तहका वडामा २५ देखि १ सय ४० वटा घरसम्म योजनामा समेटिनेछन्’, इन्जिनियर भुषालले भने, ‘वडाले स्थानीय तह र स्थानीय तहले समितिमा पठाएपछि अनुदानका दिने क्रम सुरु हुनेछ ।’
सरकारले प्रति घर टिन लगाउनका लागि ५० हजार रुपैयाँ नगद नै सहयोग गर्नेछ । ‘घर छनोट भएपछि पहिलो किस्ता वापत ३० हजार रुपैयाँ दिइनेछ’, इन्जिनियर भुषालले भने, ‘टिन लगाएपछि बाँकी २० हजार रुपैयाँ बिलका आधारमा भुक्तानी दिइनेछ ।’

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     6:25:09 AM