हिरो स्प्लेन्डर नेपालमा पनि नम्बर वान ?

नेपालगन्ज : भारतीय बजारमा हिरो स्प्लेन्डरले लामो समय देखि राज कायम गर्दै आएको छ । सबैभन्दा बढी बिक्री हुने दुई पांग्रे सवारी साधनको रुपमा हिरो स्प्लेन्डरको पहिचान कायम छ । के नेपालमा पनि नम्बर वान भन्न मिल्छ ? नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका सेल्स म्यानेजर दिनेश बज्राचार्य समेत यो कुरा दावी गर्छन् । भन्छन्, ‘१०० सीसी सेगमेन्टमा नेपालमा पनि स्प्लेन्डर नम्बर वान नै हो ।’ यद्यपि उनले नेपालमा कति संख्यामा यो बाइक बिक्री हुन्छ भन्ने वारेमा संख्या खुलाउन भने चाहेनन् ।

नेपाली बजारमा हिरो स्प्लेन्डरका विभिन्न मोडल उपलब्ध छन् । ती मध्ये १०० सीसीको स्प्लेन्डर आईस्मार्ट आईथ्रीएसको मूल्य १ लाख ६२ हजार ५ सय रुपैयाँ छ । यसैको नयाँ भर्सन ११० सीसीको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी १२५ सीसीको सुपर स्प्लेन्डर बीएस फोर आईथ्रीएसको मूल्य १ लाख ९४ हजार रुपैयाँ छ ।

हिरो स्प्लेन्डरले हालै भारतमा आफ्नो उत्पादनको २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यसको नयाँ भर्सन ल्याएको छ । नयाँ भर्सनको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै ९७.२ सीसीको सिंगल सिलिन्डर इन्जिन छ जसले ८.३६ बीएचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ ।

यसबाहेक बाइकमा चार स्पिड गियरबक्स राखिएको छ । यसको फ्रन्ट र रियरमा ड्रम ब्रेक्स राखिएको छ, तर डिस्क ब्रेकको सुविधा छैन ।

स्प्लेन्डरको नयाँ भर्सनको ह्यान्डलमा मोबाइल चार्जिङको सुविधा छ । त्यसैगरी बाइकमा नयाँ म्याट ब्ल्याक आयल ह्विल, ट्युबलेस टायर, पाँच स्टेप एडजस्टेबल ट्विन हाइड्रोलिक सक एब्जर्बर, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम र ह्यालोजन हेडल्याम्प जस्ता फिचर राखिएको छ । यो बाइक भने नेपालमा केही समय पछि मात्र उपलब्ध हुनेछ ।

नेपाली बजारमा पनि सबैभन्दा माथिल्लो भर्सनको रुपमा १२५ सीसीको सुपर स्प्लेन्डर उपलब्ध छ । यसमा १२४.७ सीसीको इन्जिन छ, जसले ९ एचपी पावर र १०.३५ एनएम टर्क जेनेरेट गर्छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     4:33:36 PM