राजधानी जस्तै प्रादेशिक विश्वविद्यालय गुमाउने पक्षमा छैन नेपालगन्ज

प्रादेशिक विश्वविद्यालयका लागि छलफल गर्न नेपालगन्जका मेयर डा धवल शमसेर राणाको अध्यक्षतामा सोमबार बसेको बैठकका सहभागिहरु ।

बाँके २७ जेठ : संघीय संरचना कार्यान्वयनसंगै नेपालगन्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गयो । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ्ग सरेपछि यहाँ निरासा छाएका बेला प्रादेशिक बिश्वबिद्यालयको बहसले भने उत्साह जगाएको छ ।

प्रदेश नम्बर ५ सरकारले प्रादेशिक बिश्वबिद्यालय निर्माणका लागि अध्ययन गरिरहेको छ । उक्त अध्ययन समितिले पहिलेबाटै बिश्वबिद्यालयको माग गर्दै आन्दोलन चर्काएको नेपालगन्जलाई प्रादेशिक बिश्वबिद्यालयका लागि उपयुक्त मान्छ भन्नेमा यहाँका अगुवाहरु आशाबादी छन् । नेपालगन्जले एकदशक अघि नै नेपालगन्ज बिश्वबिद्यालयका लागि आन्दोलन चर्काएको थियो । आन्दोलनकै कारण उक्त बिश्वबिद्यालयको बिधेयक संसदमा पेश भयो । तर संसदमा पेश भएको बिधेयक अहिले पनि अलपत्र छ ।

नेपालगन्ज बिश्वबिद्यालयको आन्दोलनको अगुवाई गरेका पशुपति दयाल मिश्र भन्छन्,–‘त्यो बेला बिश्वबिद्यालयका लागि धेरै योजनाहरु अघि बढेको थियो । तर नियत राखेर बिधेयक अगाडी बढाउने काम भएन । अहिले प्रादेशिक बिश्वबिद्यालय बन्ने कुराले हामीलाई उत्साह जगाएको छ ।’ प्रदेश ५ मा रुपन्देहीमा लुम्बिनी बिश्वबिद्यालय, दाङ्गमा महेन्द्र संस्कृत बिश्वबिद्यालय भएको अवस्थामा नेपालगन्जमा प्रादेशिक बिश्वबिद्यालय हुनेमा आशाबादी रहेको उनको भनाई छ ।

प्रादेशिक बिश्वबिद्यालयका लागि यहाँका जनप्रतिनिधि,प्राध्यापक, उद्योगी, व्यवसायी, पत्रकारहरु तात्तिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणको नेतृत्वमा प्रादेशिक बिश्वबिद्यालय स्थापनाका लागि दबाब दिन शुरु भइसकेको छ । । यसै बिषयमा सोमबार छलफल भयो । जसको अगुवाई नेपालगन्ज उपमहानगरपालिकाले नै गरेको थियो । छलफलले नेपालगन्जमा प्रादेशिक बिश्वबिद्यालय किन बनाउनुपर्छ भन्ने बिषयमा प्रदेश सरकारलाई निवेदन पठाउने र असार १५ गते डेलिगेशन जाने निर्णय गरेको छ । नेपालगन्जलाई राजनीतिक पूर्वाग्रह नराखी हेर्ने हो भने प्रादेशिक बिश्वबिद्यालय बन्न कुनै कुराले नरोक्ने छलफलको निष्कर्ष थियो  । प्रादेशिक राजधानी लगभग अब पाईदैन भन्ने निश्चित भइसकेको नेपालगन्जले प्रादेशिक बिश्वबिद्यालय गुमाउने पक्षमा भने देखिदैन । यद्यपी राजधानीको दाबीबाट नेपालगन्ज टाडा भने भएको छैन ।

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले प्रादेशिक बिभाजनको शुरुदेखि नै असन्तुष्ट रहेको बाँकेलाई सन्तुष्टि बनाउन पनि प्रादेशिक बिश्वबिद्यालयको प्रादेशिक बिश्वबिद्यालय स्थापना गरिनुपर्ने बताए । उनले भने,–‘सन्तुष्ट पार्नका लागि बिश्वबिद्यालय बनाउ भनेर बार्गेनिङ्ग गर्ने कुरा भएन । बिश्वबिद्यालय आवश्यकताका आधारमा बन्ने होला । त्यो आवश्यकता यहाँ छ । त्यसकारण प्रादेशिक बिश्वबिद्यालय नेपालगन्जमा हुनुपर्छ ।’ श्रेष्ठले पूर्वाधार, स्थानीयको सहयोगका हिसावले प्रादेशिक बिश्वबिद्यालय नबन्न सक्ने कुनै बिषय नै नभएको बताए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     8:07:28 PM