‘देहातमा’ बैंक हाँकिरहेका ‘म्यानेजर’को अनुभव

खडकप्रसाद देवकोटा : शाखा प्रबन्धक, सनराईज बैंक, नरैनापुर शाखा

बाँके(नरैनापुर),२८ जेठ : खडकप्रसाद देवकोटाले बैकिङ्ग ‘क्यारियर’ शुरु गरेको आठवर्ष जति भयो । शुरुका दिनमा माइक्रो फाईनान्स्मा काम गरे । प्रगति गर्दै गए,त्यहाँबाट फड््को मारेपछि सनराइज बैंकमा जोडिए । सोही बैंकमा देवकोटा अहिले शाखा प्रबन्धकको रुपमा कार्यरत छन् । बाँके जिल्लाको अति बिकट नरैनापुर गाउँपालिकामा बैंकिङ्ग सेवा दिने एक मात्र निजी बैक सम्हालिरहेका छन् ।  भारतसंग सिमा जोडिएको र सदरमुकाम नेपालगन्जबाट टाढा रहेको नरैनापुरमा नेपाली नोट समेत चल्दैन । साना,ठुला काम भारुमै गर्नुपर्छ ।

सडक जस्ता पूर्वाधारको अभावमा सदरमुकामको पहुँचबाट टाढा हुनुपरेपछि त्यहाँका सर्बसाधारणलाई भारतमै सबैथोकमा निर्भर हुनुपर्ने बाध्यता छ । त्यस्तो ठाउँमा बैंक चलाउने कुरा जो कोही बैंक कर्मचारीका लागि कम्ता चुनौतीपूर्ण काम थिएन । देवकोटाले त्यो चुनौती सामाना गर्ने प्रण गरे । २०७४ माघ ७ गते नरैनापुर गाउँपालिकामा पहिलो पटक निजी बैंक लिएर उनी पुगे । जिल्लाकै सबैभन्दा बिकट गाउँमा राष्ट्रियस्तरको बैंक स्थापना भएको समाचारले चर्चा पायो । कोहलपुर निवासी देवकोटालेले बैंक सम्हालेको करिव डेढ वर्ष भएको छ । न भब्य भवन र नत एसी जडित कोठा नै । कुनै तामझाम छैन । स्थानीयसंग सामान्यरुपमा घुलमिल गरेर बैंक हाँकिरहेका छन् । सोलारबाट आएको उर्जाले बैंक चलेको छ । भर्खर बैंकका बारेमा बुझ्दै गएको गाउँमा सुविधा खोज्ने टन्टा उनले गरेका छैनन् ।

काम चलाउँन भारु नोट लगेर गए

नरैनापुरका बारेमा देवकोटा जानकार थिए । त्यहाँ व्यवहारिकरुपमा नेपाली नोट चल्दैन भन्ने थाहा थियो । राज्यको पहुँचबाट टाढा भएका नरैनापुरबासी सामू भारु नोट चलाउनु बाहेक अर्को बिकल्न पनि थिएन । ‘त्यहाँका जनताको बाध्यता मलाई पनि आईलाग्छ भनेर खर्च चलाउन २५ सय भारु लिएर आएको थिए ।’ देवकोटाले भने–‘देश अनुसारको भेष त गर्नैपर्यो ।’ नरैनापुरमा बैंक खोल्नु भन्दा पहिले बाटो,घाटो, उर्जा र इन्टरनेटको असुविधा थियो । सबैकोे सहकार्यमा यि पूर्वाधारको जोहो भएपछि बैंक खुल्यो । गाउँकाका अध्यक्ष र कार्यकारी प्रमुखले निकै सहयोग पुर्याएको देवकोटाले अनुभव सुनाए ।

बैंकप्रति अबिश्वास थियो

बैंक खुल्यो । सरकारी काम सबै त्यही बैंकबाट हुने भयो । तर सरकारी कामले बैंक चल्ने कुरा भएन । आमनागरिकलाई पनि बैंकको पहुँचसम्म पुर्याउनै पर्ने जिम्मेवारी थियो, देवकोटालाई । ‘यहाँ धेरै जसो बैंकको कारोवार नेपालगन्ज कित भारतमा गर्नुपर्ने बाध्यता रहेछ । सदरमुकाम आउनका लागि पनि पुरा दिन खर्च गर्नुपर्ने बाध्यता थियो ।’ देवकोटा भन्छन्,–‘गाउँमा आएको बैंकप्रति बिश्वास कम पाए ।’ नरैनापुरमा धेरै पहिले सरकारी बैंकको शाखा थियो । संकटकालसंगै त्यो सदरमुकाम सारियो । त्यही सम्झेर नरैनापुरबासीले देवकोटालाई ‘भाग तो नही जाइयो’ भनेर हैरान पार्थे । भारु पाईन्छ की पाईदैन भनेर सोध्ने गर्थे ।

बुझाउन समय लाग्यो

शहरमै बित्तिय साक्षरताको अभाव छ । झन् नरैनापुर जस्ता ग्रामिणक्षेत्रमा त्यसको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । भारु नोट चल्ने र अवधी,हिन्दी भाषाको प्रयोग हुने ठाउँमा नेपाली बैंकका बारेमा बुझाउन समय लाग्नु स्वभाविक नै हो । यसका लागि देवकोटाले निकै मेहेनत गर्नुपर्यो । बैंकका बारेमा बुझाउन घरघरमा पुगेर बित्तिय साक्षरताका बारेमा जानकारी गराए । सर्बसाधारणलाई खाता खोल्न प्रेरित गरे । भाग्ने बैंक होइन भनेर बिश्वास दिलाए । त्यसैको परिणाम आज बैंकमा सरकारी र व्यक्तिगत गरी ५५ सय खाता खुलेका छन् । बैंकमा भिड लाग्छ । बिदेश गएकालाई पैसा पठाउन सहज भएको छ । त्यसका लागि नेपालगन्ज र भारत धाउनुपर्ने बाध्यता हटेको छ । नेपाली नोटको प्रयोग बढेको देवकोटाले महसुस गरेका छन् । बैंक त्यसैपनि हरेक कुरामा संवेदनशिल हुन्छन । सामान्य हस्ताक्षर मिलेन भने पनि काम अघि बढ्दैन । नरैनापुरमा त्यस्तो समस्या नआएका होइनन् । जस्तो एकचालिस लेख्नुपर्ने ठाउँमा एकतालिस लेखिदिन्छन् । ‘त्यस्तो अवस्थामा हामी आफैले चेकमा लेखिदिन्छौ । यो काम भएन भनेर फर्काइदिएर भो त ?’– देवकोटाले भने ।

सेवाग्राही आफन्त जस्ता

सामान्यतय बैंकका शाखा प्रबन्धक नै भएपनि सेवाग्राहीलाई सहजै भेट्न मुस्किल हुन्छ । देवकोटाको कोठामा सामान्य सेवाग्राहीपनि सहजै जान सक्छन् । भेट्न सक्छन् । खुलेर बैंकका बारेमा कुराकानी गर्न सक्छन् । एक हजार रुपैया लिएर आफ्नो खातामा जम्मा गर्नेहरुलाई बैंकमा स्वागत गरिन्छ । एकप्रकारले सेवाग्राही आफन्तजस्तो भएको महसुस त्यहाँका बैंक कर्मचारीले गरेका छन् । बैंकमा चारजना कर्मचारी छन् । सबैले कुनै झर्को नमानी सेवाग्राहीको काम गरिदिन्छन् । ‘शहरमा सेवाग्राहीसंग यस्तो सामिप्यता कहाँ हुन्छ र ?’ देवकोटा भन्छन्–‘गाउँमा असाध्यै माया पाइएको छ ।’

जसले अवधी सिके

कोहलपुरमा घर भएका देवकोटालाई अवधी भाषा आउदैनथ्यो । तर नरैनापुरमा बैंक सम्हालेपछि यति मिठो अवधी बोल्छन्, स्थानीय पनि चित खान्छन् । उनी सेवाग्राहीसंग अवधीमै चल्छन् । उनी भन्छन्,–‘त्यसो गर्दा सेवाग्राहीले बैंकप्रति अपनत्व महसुस गर्नुहुन्छ ।’

डर लाग्दैन भनेर साथीले सोध्छन्

अन्यत्र ठाउँमा काम गर्ने बैंकका सहकर्मीहरु बिकटमा काम गर्दा दुःख र डर लाग्दैन भनेर देवकोटालाई सोध्छन् । तर देवकाटा जागिर मात्र नभएर बैंकको पहुँच नपुगेका सेवाग्राहीलाई बैंकका बारेमा बुझाउनुलाई सेवा गरेको रुपमा पनि बुझ्छन् । त्यसैले उनले डर र दुःख मान्ने कुरै भएन । उनी भलन्छन्,–‘नरैनापुर मेरो देशको भुभाग हो । त्यहाँका जनता नेपाली हुन । उनीहरुको सेवा गर्न पाउनु मेरो सौभाग्य हो । कोही न कोहीले यहाँ बैंक चलाउनैपथ्र्यो । मैले चलाउन पाए गौरब गर्छु ।’

सहयोगी नरैनापुरबासी

नरैनापुरका सर्बसाधारणले आफुलाई सहयोग गरेको देवकोटाले बताए । विकासको पहुँचबाट टाडा रहेका सर्बसाधारणलाई नयाँ काम गर्दा असजिलो लाग्नु स्वभाविक हो । त्यसमा बिस्तारै अभ्यस्त भइरहेका छन् । ‘नयाँ कुरामा अभ्यस्त बनाउन कुनै झर्को नमानी हामीले सहयोग गर्नुपर्छ’ देवकोटा भन्छन ।

प्रस्तुती : कमल डाँगी/नेपालगन्ज बिजनेश

‘नेपाली नोट नचल्ने’ गाउँमा बैंक खुलेपछिको उत्साह

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६     9:53:15 AM