नगरप्रहरीको दिनचर्या : बिहानभर तालिम, दिनभर ‘डियूटी’(भिडियो सहित)

बाँके ३१ जेठ : ‘अहिलेसम्म कसरी चलेको थियो, त्यो कुरा छोडिदिनुहोेस् तर हामी अब एक्सन्मा जान्छौ’–सुर्य बोगटी भन्दै थिए,–‘अब नेपालगन्जमा नगर प्रहरीको सक्रिय देख्नुहुनेछ ।’ नेपाल प्रहरीको इन्स्पेक्टरबाट अवकास पाएको छ महिना नकट्दै नेपालगन्ज उपमहानगरपालिका अन्र्तगतको नगर प्रहरीको निरिक्षकका रुपमा ‘कमाण्ड’ सम्हालिरहेका छन्, बोगटीले ।

जेठ दोस्रो साता उनी सहित १२ जना नयाँ नगर प्रहरीले नियुक्ती पाएका थिए । शारीरिक र लिखित परिक्षा उत्तिर्ण गरेपछि उनीहरुले नियुक्ती पाएका थिए । नयाँ १२ जना सहित हाल सेवारत गरी १५ जना नगरप्रहरीले यतिबेला तालिम लिइरहेका छन् ।‘नेपाल प्रहरीमा तीस वर्ष सेवा गरे । पेन्सन भइसकेपछि घरमा बसेर खान मन लागेन् । उमेर छ प्रहरीमा सिकेको सीप अन्यत्र प्रयोग गरौं भनेर नगर प्रहरीको इन्चार्जमा फारम भरेको थियो ।’ बोगटी भन्छन्,–‘नाम निस्कियो । अब फेरी काममा दौडादौड छ ।’

बोगटी नेतृत्वको नगर प्रहरीको टोली यतिबेला महेन्द्रपार्कमा बिहान छ बजेदेखि नौ बजेसम्म शारीरिक तथा अन्य कक्षाहरु लिइरहेका हुन्छन् । नेपालगन्ज उपमहानगरपालिकाका इतिहास, स्थानीय तहका कार्यभार, मानवअधिकार, नगरको भौतिक संरचनाको सुरक्षा कसरी गर्ने ? फुटपाथ कसरी क्लियर गर्ने, ट्राफिक व्यवस्थापनदेखि छाडाचौपाय नियन्त्रण जस्ता बिषयमा बिज्ञहरुले प्रशिक्षण दिइरहेका छन् । बोगटी भन्छन्,–‘जनतासंग प्रत्यक्ष डिल गरेर काम गर्नुपर्ने पेशा हो यो सबै कुराको ज्ञान त हुनुपर्यो नी ।’ नेपाल प्रहरीका असई डिल्ली चन्द, हवलदार हरीबहादुर घले र जवान रामबहादुर बिक नगर प्रहरीलाई प्रशिक्षण दिइरहेका छन् ।

स्थानीय तह गठन नहुँदासम्म नगर प्रहरी बेकामे जस्तै थिए । चारजनाको दरबन्दी भएपनि काम प्रभावकारी थिएन । तर जनप्रतिनिधि आएसंगै कामको चाप बढेको छ भने नगर प्रहरीको आवश्यकता महसुस गरी दरबन्दी थपिएको हो । नगर प्रहरीको खाकी रंगको पोशाकको व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई जवानदेखि, हवलदार, प्रहरी सहायक, नायव निरिक्षक र कमाण्डरका रुपमा निरिक्षक दरबन्दी भनेर छुट्याईएको हुन्छ । कुममा ओहोदा अनुसारको चिन्ह पनि हुन्छ । ‘हामीसंग हातहतियार हुँदैन र अपराध अनुसन्धानको काम पनि हुने कुरा भएन । बाँकी नगरपालिकाको आदेशमा गर्नुपर्ने सबै कामका लागि हामी परिचालित हुनुपर्छ ।’– बोगटीले भने ।

नगर प्रहरीले फुटपाथ हटाउने, छाडाचौपायको व्यवस्थापन गर्ने, उपमहानगरपालिकाभित्र रहेका जग्गा अतिक्रमण गर्ने लगायतका नगरकार्यपालिकाका मार्फत हुने आदेश कार्यान्वयन गर्छन् । नगर प्रहरी निरिक्षक बोगटी भन्छन् –‘हामी अहिले पनि त्यो काम गरिरहेका छौं । बिहानभर तालिममा हुन्छौ । त्यसलगत्तै अफिसको काम गर्छौ ।’ बोगटीले नगरक्षेत्रमा काम गर्न धेरै चुनौतीहरु भएपनि जनप्रतिनिधि र स्थानीयबासिन्दाको सहकार्यमा त्यस्ता चुनौतीको सामना गरिने बताए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     8:39:38 AM