कोहलपुर नगरपालिका साक्षर घोषणा,५० लाख पुरस्कार

बाँके ३१ जेठ : बाँकेको कोहलपुर नगरपालिकालाई जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरलाई साक्षर घोषणा गरेका हुन । नेपाल सरकारले लिएको ‘साक्षर नेपाल’ को लक्ष्य अनुरुप कोहलपुरलाई साक्षर घोषणा गरिएको हो ।

बाँकेकै पहिलो साक्षर नगरपालिका भएको भन्दै कोहलपुर नगरपालिका पुरस्कृत हुने भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्ला प्रथम हुन सफल कोहलपुर नगरपालिकालाई ५० लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन । जिल्ला समन्वय समितिले केही समय पहिले जिल्लामा सबैभन्दा छिटो साक्षर घोषणा हुने स्थानिय तहलाई नगद राशी सहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि तथा संघिय साँसद महेश्वर गतराज ‘अथक’ ले शैक्षिक विकासमा कोहलपुर नगरपालिका जिल्लाकै प्रथम हुन सफल भएको भन्दै खुसी ब्यक्त गरे । शिक्षा क्षेत्रको विकासमा विशेष रणनितिका साथ आफु लागिरहेको बताउँदै साँसद अथकले कोहलपुरसँगै आसपासका स्थानिय तहहरुमा समेत शिक्षाको विकास अपरिहार्य रहेको बताए ।

कोहलपुरलाई साक्षर नगरपालिका घोषणा गर्नकालागि आवश्यक सबै प्रक्रियाहरु पुरा गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । नगरपालिकाभित्र हालको अवस्थामा ९६ दशमलव ८५ प्रतिशत साक्षरताको सँख्या रहेको जानकारी दिदैं रावतले आगामी आर्थिक वर्ष्भित्रै सबै नगरवासीलाई साक्षर बनाउने गरी अभियान संचालन गरिने प्रतिवद्धता समेत जनाए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     4:02:35 PM