सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

सर्लाही : सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ। विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिए। पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो।

दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताए। चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो। अन्य तीन जना फरार रहेको पोखरेलले बताए।

प्रकाशित मितिः बिहिबार, असार ५, २०७६     3:47:55 PM