जैविक विविधता संरक्षणमा हातेमालो गरौं-इन्द्रजीत परियारको लेख

भौगोलिक विविधताको प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन् जसको चक्र प्रणालीबाट जीबको अस्तित्व सम्भव हुन्छ । मानवीय क्रियाकलापका कारण जैविक विविधता नाश हुदै जाँदा यहि चक्रमा असर पर्दैछ । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीबजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अबस्थामा पुगिसकेको सन्दर्भमा भावी संकट टार्नको लागि मानव समुदायले जैविक विविधता रक्षामा कदम चाल्नु अपरिहार्य बनिसकेको छ ।

बढिरहेको मरुभुमिकरण र जलवायुको परिवर्तनले १२ सयभन्दा बढी चराका प्रजाति संकटापन्न अबस्थामा पुगेको एक सर्वेक्षणले देखाएको छ । त्यस्तै ३२ प्रजातिका शंखे किरा पनि लोपोन्मुख भएको वन्यजन्तु विदहरुको एक अध्ययनले देखाएको छ । अन्तराष्ट्रिय स्तरमा वन्यजन्तुको अवस्था अत्यन्तै चिन्ताजक छ । विगत तीस वर्षमा मात्रै जमिनमा बस्ने वन्यजन्तुको संख्या २५ प्रतिशतले घटेको छ । नेपालमा ८७८ प्रजातिका चरा, १८६ प्रजातिका माछा, २०७ प्रजातिका स्तनधारी जीब, ६५३ प्रजातिका पुतली, ७ हजार प्रजातिका फूल फूल्ने बिरुवा, २४६ प्रजातिका महत्वपूर्ण जडिबुटी, ५ हजार प्रजातिका किराफट्यांग्रा, ४ सय प्रजातिका बहुवर्षीय बाली तथा ६० प्रजातिका जंगली खाद्य फलफूल पाइन्छन् ।
यी प्राणी र वनस्पतिका प्रजातिमध्ये कैयन् प्रजाति रैथाने प्रजातिका रुपमा छन् । हामीसँग जैविक विविधताको खानी रहेपनि यसको महत्व र संरक्षणको बारेमा चेतना नहुँदा यो हाम्रो लागि आकाशको फल सावित भएको छ । बढ्दो सहरीकरण, प्रदुषण तथा विश्व जलवायु परिवर्तनका असरहरुको कारण नेपालको जैविक विविधता पनि नराम्ररी प्रभावित हुन पुगेको छ ।

जैविक विविधता संरक्षणका लागि प्रयाप्त प्रभावकारी कदम चालिएको छैन भने सर्वसाधारणको बीचमा जैविक विविधताको महत्वको ज्ञानसमेत पुग्न सकेको छैन । सन् १९७३ मा राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन कार्यान्वयनमा आएसँगै औपचारिक रुपमा सुरु भएको जैविक विविधता संरक्षणको दायरा अहिले फराकिलो भएको छ र नेपालको कुल भूभागको करीब २३ प्रतिशत भूभागलाई संरक्षित क्षेत्र बनाएर जैविक विविधताको रक्षा गर्ने प्रयास गरिएको छ । तर, अझैपनि त्यो प्रयाप्त देखिएको छैन । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, वातावरण संरक्षण ऐन, जलचर संरक्षण ऐनलगायतका राष्ट्रिय कानुनको अन्तराष्ट्रियस्तरका धेरै सन्धीहरुमा नेपालले हस्ताक्षर गरेको छ । एकातिर जलवायु परिवर्तनका कारण जीबजन्तु तथा वनस्पतिका लागि वातावरण प्रतिकुल बनिरहेको छ भने अर्को्तिर बासस्थानको विनाश र प्राकृतिक साधनका दोहनका कारणले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् ।

विश्वको तापमानमा लगातार वृद्धि भैरहेको छ । अर्को शताब्दीसम्ममा विश्वको तापमान करीब ४ प्रतिशतसम्मले बढ्ने खतरा रहेको अनुमान बैज्ञानिकहरुले अनुमान गरेका छन् । जलवायु परिवर्तनको कारण विश्वमा प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा पनि असर पारेको छ । विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै आएको छ । कोरलिएका चल्लाहरुमा अनौठो गुण देखिने, उत्परिवर्तनबाट अशक्त र अनुत्पादनशील बन्ने तथा विभिन्न कृषि बालीको फल लाग्ने र पाक्ने समयसमेत नियमित नहुने र उत्पादन घट्ने समस्याहरु पनि जलवायु परिवर्तनबाट सिर्जित समस्या हुन् ।  जलवायु परिवर्तनको कारण वायुमण्डल तातिदै जाँदा उष्णीय क्षेत्र वन्यजन्तु र वनस्पतिका लागि प्रतिकुल बन्दै गइरहेको छ भने, जलश्रोतको विनाशले जीब वनस्पतिको अस्तित्वमाथि प्रश्न उठाइदिएको छ । सबै प्राणी र वनस्पति प्रकृतिका अनुपम श्रृष्टि मात्र होइनन् अभिन्न अंगसमेत हुन् जसको अभावमा मानवअस्तित्व सम्भव छैन । त्यसैले जैविक विविधताको संरक्षणप्रति हामी सबैको चासो जाग्नु आवश्यक छ ।

बाँके राष्ट्रिय निकुञ्जका केही झलकहरु :

 

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     4:34:58 PM