मेयर पुनद्धारा कोट–हिले जोड्ने सडकको शिलान्यास, स्थानीय हर्षित

सडक शिलान्यास गर्दै मेयर पुन । वर्षौदेखिको प्रतिक्षापछि हिलेमा सडक बन्नेभएपछि स्थानीय हर्षित भएका हुन ।

सुर्खेत (गुर्भाकोट)१८ असार : गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बुधवार कोट–हिले जोड्ने सडकको शिलान्यास गरेसंगै स्थानीयवासिन्दा हर्षित भएका छन् ।  उक्त सडकखण्डले गुर्भाकोट नगरपालिका वडा नं.४ कोट देखि वडा नं.३ वडा कार्यालय हिले जोड्ने छ । नगरपालिकाको गौरवको आयोजना भित्र पर्ने सडकखण्डको काम शुरु भएसंगै वर्षौदेखि सडक निर्माणको पर्खाइमा रहेका स्थानीयवासिन्दामा खुसियाली छाएको छ । पाँच किलोमिटर उक्त सडक निर्माणको काम शुभ आर्शिवाद निर्माण सेवाले लिएको छ ।

हिले गुर्भाकोटको समथर भु–भाग भन्दा माथिको दुर्गम गाउँभित्र पर्छ । जहाँ सडक लगायतका पूर्वाधार नहुँदा स्थानीयले कठिनाई भोग्नुपरेको छ । सामान्य कामका लागि पनि आधा दिन पैदल हिडेर बोटेचौर आउनुपर्छ । बारीमा उत्पादन भएका तरकारी, फलफुल र पशुपालक कृषकलाई मासु, दुधजन्य पदार्थको बिक्री बितरण गर्न समस्या छ ।

मेयर पुनले हरेक गाउँमा सडकको पहुँच पुर्याउने नीति लिएका छन् । उक्त ठाउँमा सडक निर्माण भएपछि स्थानीयका धेरै समस्या समाधान हुने मेयर पुनले बताए । उनले भने,–‘कुनै पनि गाउँका सर्वसाधारणलाई हामी पूर्वाधार बिहिन बनाएर राख्दैनौ । जतिसक्यो छिटो सडक बनाएर दैनिक जिवनयापन सहज बनाउनेतिर लाग्छौ । ’ मेयर पुनले हरेक ठाउँलाई पूर्वाधारयुक्त बनाउँदै समग्र गुर्भाकोटको आर्थिक विकास गर्ने लक्ष्य राखिएको बताए ।

कोट–हिले पर्यटकिय, कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ हो । मेयर पुनले पूर्वाधारको विकाससंगै पर्यटक, कृषि र पशुपालनका लागि थप प्रोत्साहन गरिने बताए । सडक शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष ओमप्रकाश बुढा, वडा नम्बर ४ का अध्यक्ष प्रसन्न शाह , निमित्त प्रशासकिय अधिकृत मेघराज सोनी, इन्जिनियर मेघराज खत्री, स्वास्थ्य शाखा प्रमुख किरण ओली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, असार १८, २०७६     3:47:44 PM