राजस्व सचिव भन्छन्-‘आर्थिक क्रियाकलाप दबाएर चल्दैन’

काठमाडौं।राजस्व सचिव लालशंकर घिमिरेले धरपकड गरेर राजस्व संकलनको पक्षमा सरकार नरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले गरेको छलफल कार्यक्रममा सचिव घिमिरेले अधिक राजस्व उठाएर निजी क्षेत्रलाई अप्ठेरोमा पार्ने सरकारको मनसाय नरहेको स्पष्ट पारेका छन्। व्यावसायिक गतिविधिलाई बढाएर सरकार अघि बढ्न खोजेको भन्दै उनले आर्थिक क्रियाकलाप दबाएर सरकार चल्न नखोजेको बताए। ‘व्यवसाय सुरु गर्ने, त्यसलाई विस्तार गर्ने र त्यसपछि मात्रै राजस्व संकलन गर्ने गरी सरकार अघि बढ्न खोजेको छ,’ सचिव घिमिरेले भने।

उनले सरकारले बजारबाट पैसा ढुकुटीमा थुपार्न मात्रै नखोजेको भन्दै बजार चल्न नसक्ने अवस्थामा सरकारले आन्तरिक ऋण मात्रै नउठाउने बताए। ‘अहिले पनि हामीले एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेकोमा ५३ अर्ब रुपैयाँ मात्रै उठाएका छौँ, अर्को वर्ष पनि एक खर्ब ९५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको हो, त्यो सबै उठाउने होइन,’ उनले भने।

सचिव घिमिरेले सरकार व्यवसायीसँग छलफलका लागि सधैँ खुला रहेको पनि उल्लेख गरेका छन्। उनले राजस्व परामर्श समितिमा प्रतिनिधित्व गर्ने व्यवसायीले संस्थागत भन्दा व्यक्तिगत विषयम धेरै जोड दिने गरेको पनि बताए। कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकार राजस्वमुखी हुँदा बजारमा पर्ने प्रभावलाई पनि ध्यानमा राख्न आग्रह गरे। यस्तै निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिले बजेट पढ्दा खुशी लागे पनि आर्थिक ऐनबाट आफूहरुलाई दुखी बनाइएको गुनासो गरे।

प्रकाशित मितिः बिहिबार, असार १९, २०७६     8:06:32 AM