करमा सामान्य हेरफेर, तम्बाकु उद्योगमा ४००% बृद्धि (हेर्नुहोस् बिस्तृत)

  • कमल डाँगी

नेपालगन्ज १९ असार : नेपालगन्ज उपमहानगरपालिकाले आ.व २०७६/०७७ का लागि करको दरमा सामान्य हेरफेर गरेको छ । बिहिवार सम्पन्न नगरसभाले आर्थिक विधेयक लगायत अन्य बिधेयक पारित गरेको हो । उप-मेयर उमा थापामगरले हरेक वर्ष करको दर हेरफेर गर्दा असन्तुष्टि बढ्ने भएकाले सामान्य हेरफेर गरिएको बताउनुभयो । यसपटक कर बृद्धि नगरी करको दायरा बृद्धि गरिएको र बैज्ञानिक तरिकाले निर्धारण गर्ने प्रयास गरिएको थापाको भनाई छ ।

वातावरणमैत्री, महिलाले र साना उद्यमीले सन्चालन गर्ने उद्योगमा लाग्ने कर घटाइएको छ भने तम्बाकु जस्ता उद्योगमा कर बृद्धि गरिएको छ ।  नगरभित्रका तम्बाकु उद्योग माथि चार सय प्रतिशतले कर वृद्धि गरेको हो । चालु आर्थिक वर्ष २०७५/०७६ मा त्यस्ता उद्योगमा वार्षिक कर रु ७ हजार ५ सय लगाउँदै आएकोमा आ. व २०७६/७७ मा भने चार सय प्रतिशत बृद्धि गरी रु ३० हजार पु¥याइएको छ । तम्बाकु जस्ता स्वास्थ्यका लागि हानिकारक मानिने बस्तुको उत्पादनलाई निरुत्साहित गर्ने नीति सहित तम्बाकु उद्योगमा कर बृद्धि गरिएको हो । तर खुद्रा सुर्तिजन्य पदार्थको बिक्री बितरण गर्ने र पान पसलको हकमा भने कर यथावत छ । खुद्रा पसलहरुले वार्षिक रु २५ सय कर बुझाउँदै आएका छन् ।

सम्पत्ति कर, शिक्षाक्षेत्रमा लाग्ने करमा भने हेरफेर गरिएको छ । प्राविधिक शिक्षालयमा १५ हजार वार्षिक कर लाग्दै आएकोमा त्यसलाई बृद्धि गरेर रु २५ हजार पुर्याईएको छ । स–मिलमा लाग्ने कर दोब्बरले बृद्धि गरिएको छ । रु ७ हजार ५ सय लाग्दै आएकोमा अब भने रु १५ हजार लगाउने निर्णय गरिएको छ । कंक्रिट, हलोब्लक जस्ता उद्योगमा रु ५ हजार कर लाग्दै आएकोमा अब भने रु १५ हजार लाग्ने भएको छ । तम्बाकु लगायतका उद्योगलाई निरुत्साहित गरेको उपमहानगरपालिकाले सिलाई मेशिन भएकालाई निश्चित संख्याको आधारमा कर छुट र अन्य उद्योग सिफारिस गर्दाको हकमा करको दायरा घटाएको छ ।

उप–मेयर उमा थापामगरले यसपटक कर बृद्धि भन्दा पनि करको दायरा बढाउन ध्यान दिइएको बताउनुभयो । ‘थोरै कुरामा बृद्धि भएको छ तर त्यसबाहेक अन्य कुरामा जनतालाई मर्का नपर्ने गरी बैज्ञानिक तरिकाले कर परिमार्जन गरिएको छ ।’– उप–मेयर थापाले भन्नुभयो । जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय भएकाले तम्बाकु जस्ता उद्योगमा कर बृद्धि गर्ने निर्णय भएको बताउँदै भन्नुभयो,–‘तर राम्रा उद्योग सन्चालन गर्ने कुरालाई प्रोत्साहन गरिएको छ ।’ उप–मेयर थापाले प्रत्यक्ष वर्ष करको दर हेरफेर गर्दा नराम्रो सन्देश दिने भएकाले यसपटक खासै परिमार्जन गर्न नपरेको जानकारी दिनुभयो ।

मेयर धवल शमसेर राणा

यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाको पाचौ नगर सभाले आ.व २०७६÷०७७ का लागि सार्वजनिक गरेको दुई अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित गरेको छ । विनीयोजन विधेयक र आर्थिक विधेयक स्वीकृत गर्दै असार १० गतेदेखि जारी नगर सभा सकिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले पेश गर्नु भएको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले यस अघि पेशगर्नु भएको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको हो । नगर उप–प्रमुख थापामगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित वजेट प्रस्तुत गर्नु भएको थियो । यस अघि वडाका लागि छुटयाइएको वजेटमा पनि थप गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाद्धारा सभामा प्रस्तुत आर्थिक विधेयकले कर, राजश्व संकलनलाई सहज र प्रभावकारी बनाइने विश्वास गरिएको छ । नगर सभा समापन समारोहमा २९ जनालाई कदरपत्रसहित सम्मान पनि गरिएको छ । उपपमहानगरपालिकाले कलाकार, सफल उद्यमी, पत्रकार, कर्मचारी गरि २९ जनालाई सम्मान गरेको हो ।

उप-मेयर उमा थापामगर

सम्मान समारोहमा बोल्दै नगर प्रमुख राणाले दुई वर्षे अवधीमा भौतीक पुर्वाधार लगायत महत्वपूर्ण कार्य गरिएको भन्दै नेपालगञ्जलाई चाडै नै विकासको उत्कृष्ट शहर बनाउने उदघोष गर्नुृ भयो । बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्स, नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण, नगर वस सञ्चालन आदिलाई प्राथमिकता दिईएको उहाँले बताउनु भयो । कर संकलनको दायरा फराकिलो बनाउँदै फुटपात र फोहरलाई व्यवस्थित गरिने पनि उहाँले जनाउनु भयो । उपमहानगरपालिकाले खेलाडी पे्रत्साहन कार्यक्रम पनि ल्याएको छ । राष्ट्रिय तथा अन्तर्राष्टिय खेलकुद प्रतियोगीतामा नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रतिनीधीत्व गर्दै विभिन्न पदक प्राप्त गर्ने खेलाडी तथा टीमलाई प्रोत्साहन स्वरुप नगद दिइनेछ । सो कालागि खेलाडी प्रोत्साहन कोष सञ्चालन गरिने उपप्रमुख थापामगरले जानकारी दिनु भयो । सौहार्दपूर्ण रुपमा सञ्चालित सभामा वडा अध्यक्ष तथा सदस्यले राख्नु भएको जिज्ञाशालाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सम्वोधनगर्नु भएको थियो ।

प्रकाशित मितिः बिहिबार, असार १९, २०७६     7:29:39 PM