वर्षेनी ‘लक्जरी’ होटल थपिदै, भएकालाई खर्च धान्न धौधौ

नेपालगञ्ज २१ असार : बाँकेमा होटल क्षेत्रमा उत्साहजक लगानी भएको छ । एक दशकयता मात्र पाँच तारे सहित दर्जन लक्जरी होटल सञ्चालन भए । थप नयाँ होटल आउँदै छन् । तर वर्षेनी नयाँ –नयाँ होटल थपिदै गएपनि हाल सञ्चालनमै रहेकालाई भने व्यवस्थापन खर्च धान्न मुस्किल परेको छ । मुनाफा आर्जन गर्ने त टाडाको कुरा छ ।

‘तारे होटलमा भएको लगानी झट् हेर्दा वाहा ! भन्ने खालको छ  ’ होटलका एकजना सञ्चालक नाम नबताउने सर्तमा भन्छन्–‘तर भित्रि कुरा अर्कै छ । व्यापार नभएर बैंकको किस्ता तिर्न समेत धौधौ पर्ने अवस्था आइसक्यो ।’ ती लगानीकर्ताका अनुसार यतिबेला बाँकेका अधिकांस होटललाई व्यवस्थापन खर्च धान्न मुस्किल छ । ‘मेरो होटलले नाफा कमायो भन्ने लगानीकर्ता भेट्नु भयो भने अचम्म माने हुन्छ ।’– ती होटल सञ्चालकले भने । मानसरोवर यात्राको लागी आउने भारतीय पर्यटकलाई नै लक्षित गर्दै नेपालगंञ्जमा ठूलो लगानीमा नयाँ होटल खोल्ने र पुरानाको स्तरोन्नती गर्ने कार्य भइरहेको छ । गतवर्षदेखि पाँच तारे होटल सोल्टी वेस्ट एण्ड र सेन्ट्रल प्लाजा संचालनमा आएका छन् । संचालनको पहिलो वर्ष चार तारेबाट सेवा शुरु गरेका यी दुबै होटलले गत माघमा पाँच तारेको मान्यता पाएका थिए ।

होटल सिद्धार्थ र सिग्नेट इन चार तारे, होटल स्नेहा र कलपत्रु तीन तारे होटलको रुपमा संचालनमा रहेका छन् । तीन तारे स्तरको सिटी प्यालेस र किचन हटले समेत लगानी र पूर्वाधार थपेर चार तारेमा स्तरोन्नतीको प्रयास गरिरहेका छन् । राँझ विमानस्थल नजिकै निर्माणाधीन तीन तारे स्तरको द गोल्डेन ब्लिस होटल चाँडै संचालनको तयारीमा छ । ती बाहेक साना अन्य तीनवटा होटल नेपालगञ्ज र कोहलपुरमा सञ्चालन हुँदै छन् ।

ती होटलको मुख्य स्रोत मानिएको मानसरोवरका तिर्थयात्री अधिकांश पर्यटक ट्राभल एजेन्सी मार्फत् आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा स्थानीय होटलले अपेक्षितरुपमा लाभ लिन भने सकेका छैनन् । यसपटक त झन् मानसरोवरका तिर्थयात्री घटेका छन् । पर्यटकीय मौसम सकिए लगत्तै होटलको व्यवसाय यसरी ओरालो लाग्छ की फेरी अर्को मानसरोवर यात्राको सिजन शुरु नहुँदासम्म होटलका कोठा खचाखच भरिदैनन् । त्यसैले यो पनि यहाँका होटलका लागि भरपर्दो बिकल्प बन्न सकेको छ्रन ।

ग्राहक तान्न होटल व्यवसायीबीच अघोषितरुपमा अस्वस्थ्य प्रतिस्पर्धा पनि छ । संचालन खर्च मात्रै भएपनि धान्ने ध्याउन्नले सस्तो मूल्यमा सेवा प्रदान गर्नेतर्फ ध्यान केन्द्रित हुँदा चौतर्फी नोक्सानीको अवस्था निम्त्याउँछ । अर्ब भन्दा बढीको लगानीमा खुलेका होटल मौसमी व्यापारमा मात्र सीमित रहँदा दीर्घकालमा चर्को घाटा व्यहोर्नु पर्ने भन्दै अहिले होटल व्यवसायीहरु सेवामा विविधतामा केन्द्रित हुने प्रयास गरिरहेका छन् ।
मानसरोवर सिजन बाहेक पनि भारतीय पर्यटकलाई नेपालगञ्ज भ्रमणको लागी प्रोत्साहित गर्न ‘क्यासिनो हब’ (जुवा केन्द्र), वैवाहिक समारोह केन्द्र र मनोरन्जनात्मक क्रिडा स्थलको रुपमा विकास गर्ने प्रयास शुरु भइसकेको छ । विगतमा गैरसरकारी संस्थाको सेमिनार र कार्यक्रमले धानेका थिए । अब त्यो पनि धेरै कम छ । संघीयता कार्यान्वनसंगै कर्णालीसंग अलग हुनु र प्रदेश राजधानी बुटवलमा भएपछि यहाँका अधिकांस सरकारी तथा गैरसरकारी कार्यालय उतै लागे । त्यसअघि यहाँ हुने कार्यक्रमहरु हुन छाडे । यसकारणले गर्दा पनि यहाँका होटल व्यवसायमा संकट निम्तिएको हो ।

हचुवाको भरमा लगानी गर्ने प्रवृत्ति बढ्दै

मानसरोवर र पश्चिमको ट्रान्जिट देखेर यहाँ होटल खोल्ने क्रम सुरु भएको । होटल क्षेत्रका बारेमा राम्रो जानकार नभएका व्यक्तिहरुले एकपछि अर्को गर्दै लगानी गरे । कतिसंग त बिजनेश प्लान नै थिएन । मनग्य आम्दानी हुने ठानेर लगानी गरेका कयौं लगानीकर्ता अहिले बैंकको ऋण कसरी चुक्ता गर्ने भन्ने तनाव झेल्दै छन् ।

‘अर्कै फिल्डबाट आएकाले होटल चलाउनै नसक्ने भन्ने होइन । धेरे ठाउँमा राम्रै चलेका पनि छन् ।’ अर्का एक होटल सञ्चालक भन्छन–‘ तर लगानी गरेपछि आफुले कहिल्यै नहेर्ने र अर्कैको जिम्मा त्यत्रो लगानी छाड्ने गरिएको छ ।’ ती होटल सञ्चालकले अब नेपालगञ्जमा होटलमा लगानी गर्न आउनेले दश पटक सोच्ने प्रतिक्रिया दिए । ‘करोडौ लगानी गर्ने कुरा चानचुने होइन । त्यसै कसैले जोखिममा पार्दैन । भोली के हुन्छ थाहा भएन । तर आजको अवस्था भने सन्तोषजनक होइन । सन्तोषजनक बनाउन धेरै मेहेनत गर्नुपर्ने देखिन्छ ।’– ती सञ्चालकले भने ।

प्रकाशित मितिः शनिबार, असार २१, २०७६     12:59:27 PM