बाँकेका ३८.९ % व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित

बाँके २२ असार : बाँकेमा रहेका मध्ये ३८.९ प्रतिशत व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित छन् । तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को प्रतिवेदन अनुसार ७ हजार ८ सय ८३ व्यावसायिक प्रतिष्ठानले कारोवारका लागि बैंक तथा वित्तिय क्षेत्रवाट ऋण लिएको उल्लेख छ ।  जिल्लामा १८ हजार ६ सय ६६ व्यावसायिक प्रतिष्ठान रहेका छन् । ती मध्ये ३८. ९ प्रतिशतले ऋण लिएको देखिन्छ । ऋण लिने व्यावसायिक प्रतिष्ठानमा पनि ३ हजार ६ सय ३० प्रतिष्ठानले बैंक, फाईनान्स, लद्युवित्तबाट र ३ हजार ४ सय ५३ प्रतिष्ठानले सहकारी र व्यक्तिगतरुप ऋण लिएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्योग, व्यवसाय ऋणकै माध्यमबाट चलेकाले बैंक तथा वित्तिय क्षेत्रले सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिए । उनले भने,–‘यतिका ठुलो संख्याका व्यावसायिक फर्म ऋणबाट चलेका छन् । उनीहरुलाई प्रोत्साहन गर्न ब्याजदर लगायतका विषयमा सहुलियत प्रदान गर्नुपर्छ ।’

जिल्लामा रहेका व्यवसायिक प्रतिष्ठान मध्ये सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाईकल मर्मतका ११ हजार १ सय ९२ अर्थात कुल प्रतिष्ठानमा ६० प्रतिशत रहेको छ । उत्पादन क्षेत्रमा जम्मा २ हजार ५१ अर्थात ११ प्रतिशत मात्र रहेको छ । अनुत्पादक क्षेत्रका प्रतिष्ठानहरु बाँकेमा धेरै देखिन्छ ।  बैंक तथा वित्तिय क्षेत्रको संख्या २ सय २१ वटा रहेको छ । यहाँ रहेका व्यावसायिक प्रतिष्ठानमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएको उल्लेख गरेको छ । रोजगारी पाउनेमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ४९ जना महिला रहेका छन् । त्यस्तै बर्दियामा १४ हजार ८ सय ९३ प्रतिष्ठानमा ४० हजार ७ सय १४ जनाले रोजगारी पाएका छन् । बाँके जिल्लामा पछिल्लो समय साना ठूला उद्योग, कलकारखाना खुल्ने क्रम बढेको छ । जसले गर्दा रोजगारी थपिदै छ ।

तथ्यांक विभागका अनुसार देशभरमा ९ लाखभन्दा बढी प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेको देखाएको छ । ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४ सय ५७ रोजगारी सिर्जना गरेका छन् । कुल रोजगारमध्ये पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ र महिलाको संख्या १२ लाख १६ हजार २२० रहेको छ । तथ्यांक कार्यालय बाँकेले आईतवार नेपालगञ्जमा सरोकारवाला निकायसंग अन्तरक्रिया गर्दै आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रमलमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले आर्थिक गणना देशको समृद्धीका लागि कोशेढुङ्गा सावित गर्ने बताए । तथ्यांक बिभागका निर्देशक अनिल शर्मा, पोम नारायाण पौडेलले सरोकारावाला निकायका प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     10:55:08 AM