प्लाष्टिकका झोला उत्पादकले विकल्प खोजे, अञ्सारी भन्छन्,–‘राम्रो काममा बाधक बन्दैनौ’

बाँके / प्लाष्टिकका झोला उत्पादक उद्योगले विकल्प खोजेका छन् । प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि उद्योगले त्यस्ता झोला उत्पादन बन्द गरेका छन् । विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिट’ उत्पादन गरिएको होली प्लाष्टिक उद्योग, नेपालगञ्ज औद्योगिक क्षेत्रका सञ्चालक निसार अहमद अञ्सारीले जानकारी दिए ।

‘यि दुई बस्तुहरु जहाँ पायो त्यही फाल्न मिल्दैन । फेरी झोला जस्तो कहिल्यै नसड्ने पनि होइन ।’ निसारले भने–‘प्लाष्टिकको जस्तो नकारात्मक असर नपर्ने भएकाले नयाँ उत्पादन शुरु गरेको छु ।’ क्यारी ब्याग र ढलान सिटको बाँकेमै राम्रो बजार रहेको छ । स्थानीय बजारमै खपत हुने भएकाले होली प्लाष्टिकले उत्पादन शुरु गरेका हो । अञ्सारीले हालकै मेशिनबाट सड्ने खालको झोला उत्पादन गर्ने तयारी गरेका छन् । उनी भन्छन्,–‘अहिलेको मेशिनलाई केही परिवर्तन गरेर नयाँ झोला उत्पादन गर्न सकिन्छ । त्यसका लागि राज्यका निकायको सहयोग चाहिन्छ ।’

बाँकेमा होली बाहेक कोहलपुरमा अर्को झोला उत्पादक उद्योग रहेको छ । होली प्लाष्टिक उद्योग चार वर्ष अघिदेखि सञ्चालनमा छ । जहाँ छ जना कर्मचारी कार्यरत रहेका छन् । उनीहरुले उत्पादन गरेका झोला स्थानीय बजारमा खपत हुन्छन् । नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहले प्लाष्टिकमुक्त अभियान चलाएपछि उद्योगीहरु विकल्प खोज्न थालेका हुन । उद्योगी अञ्सारी भन्छन्,–‘हामी पनि यही समाजको मान्छे हो । राम्रो काम हुन्छ भने त्यसका लागि बाधक बन्दैनौ । नाफा, घाटा हेर्दैनौ ।’ अञ्सारीले प्लाष्टिकमुक्त अभियानकोे स्वागत गरेका छन् । तर यसको पूर्ण कार्यान्वयनका लागि प्लाष्टिकको झोलामा प्रतिवन्ध लगाएर नहुने बताउँछन् ।

‘यो सुरुवात हो । तर सवैथोक होइन ।’ अञ्सारी भन्छन्–‘हामी जस्ता उद्योगले त बुझेर उत्पादन गर्छौ । तर वाहिरबाट आयो भने त्यसको के अर्थ भयो र ?’ अञ्सारीले विभिन्न ‘ड्राइफुड’ प्याक गरेर भित्रिने प्लाष्टिकहरु कसरी नियन्त्रण हुने हो भन्दै प्रति प्रश्न गरेका छन् । उनी भन्छन्,–‘प्लाष्टिकमुक्त अभियान सफल बनाउन धेरै काम गर्न बाँकी छ । त्यसमा हाम्रो साथ रहन्छ ।’

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     4:20:31 PM