भार्गव विकास बैंकको विशेष साधारणसभा आज

नेपालगञ्ज / तीन विकास बैंकले मर्जका लागि शुक्रबार विशेष साधारणसभा बोलाएका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति लागि विशेष साधारणसभा बोलाएका हुन । शाइन रेसुङ्गाले भार्गव र पूर्णिमालाई प्राप्ती गर्न दुबै बैंकको चल अचल सम्पत्तिको मूल्याङ्कन प्रतिवेदन अनुमोदन गरी दुबै बैंकको शेयरमूल्य ( स्वाप रेशियो) निर्धारण गर्नेछ ।
दुबै बैंकलाई प्राप्ती गरेपश्चात बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत फेरवदल हुने हुँदा प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावलाई समेत शुक्रबारको सभाले पारित गर्नेछ ।

साथै दुबै बैंकलाई प्राप्ति गरेपश्चात हुन आउने चुक्तापूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारणसभामा पेश हुने छ । हाल दश जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक दुई बैंकलाई प्राप्ती गरेपछि राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ । हाल शाइन रेसुङ्गाको चुक्तापूँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ छ । त्यस्तै भार्गव विकास बैंकको ५० करोड १६ लाख रुपैयाँ र पूर्णिमा विकास बैंकको ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ रहेको छ । तीन वटै बैंक एक भएपछि २ अर्ब ६७ करोड ५५ लाख ४८ हजार रुपैयाँ चुक्तापूँजी कायम हुनेछ ।

शाइन रेसुङ्गासँग मिसिने भएपछि पूर्णिमा र भार्गवको शेयरकारोबार बन्द रहेको छ । शाइन रेसुङ्गाले बुटवलमा पूर्णिमाले रुपन्देही र भार्गवले नेपालगञ्जमा विशेष साधारण सभा आयोजना गर्न लागेका हुन । विशेष सधारणसभा प्रयोजनका लागि शाइन रेसुङ्गाले असार १९ गनेदेखि बुक क्लोज गरेको छ भने पूर्णिमाले फागुन २७ गते र भार्गवले जेठ १ गते बुक क्लोज गरेको छ ।  बुक क्लोजभन्दा एक दिन अघिसम्म कायम सदस्यहरु विशेष सभामा भाग लिन र पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकको प्रतिनिधित्व गर्दै शाइन रेसुङ्गाको शेयर सदस्य हुन पाउनेछन् ।

प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६     8:04:22 AM