फोहोरबाट मोहर : फालेका प्लाष्टिक प्रशोधनबाट नेपालगञ्जमै बन्छ पाइप

नेपालगञ्ज/ तपाई हामीले फोहोर  फालेको प्लाष्टिकजन्य सामाग्रीबाट बाँकेका प्लाष्टिक उद्योगले पाईप बनाउने गरेका छन् । यहाँ रहेका चारवटा प्लाष्टिक उद्योगका लागि कच्चा पदार्थ भनेकै स्थानीयस्तरमा फालिएका प्लाष्टिकका सामाग्री हुन । फोहोरबाट मोहर बनाउने चर्चा भर्खरै शुरु भएपनि प्लाष्टिक उद्योगले भने बर्षौदेखि यही काम गर्दै आएका छन् ।

‘बाँकेमा जति पनि प्रशोधनमुखी प्लाष्टिक उद्योग छन्, उनीहरुको कच्चा पदार्थ भनेकै कवाडमा पाइने फोहोर प्लाष्टिक हो’ मेनका प्लाष्टिक उद्योगका सञ्चालक गिरीधर रेग्मीले भने–‘कसैले पनि बाहिरबाट कच्चा पदार्थ ल्याउँदैनन् ।’ ठुला प्लाष्टिक उद्योगले तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउने गरे पनि बिशेष गरी घरमा प्रयोग हुने पाईप उत्पादन गर्ने उद्योगले स्थानीय बजारकै कच्चा पदार्थ प्रयोग गर्दै आएका छन् । ‘प्रशोधन गर्न मिल्ने प्लाष्टिकजन्य सामाग्री ल्याएपछि प्रशोधन गरिन्छ । त्यसलाई हिट गरेर तानाका रुपमा विकास गरेपछि पाईप बनाउने प्रयोग हुन्छ ।’ रेग्मीले भने । यसरी उत्पादित पाईपको बजार बाँके, बर्दिया रहेको छ ।

उद्योगीहरुका अनुसार, अधिकांस प्लाष्टिकजन्य लगायतका कवाड अवैधरुपमा भारत जाने गरेका कारण पाईप बनाउने उद्योगलाई कच्चा पदार्थको अभाव छ । धेरे मूल्य पाउने नाममा कवाड भारत पठाईन्छ । कच्चा पदार्थ नपाउँदा यहाँका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । रेग्मीले भने,–‘अहिले आठ घण्टा मात्र चलेको छ । यदि कच्चा पदार्थ र बिद्युत पर्याप्त मात्रामा हुने हो भने दुई सिफ्टमा उत्पादन गर्न सकिन्छ ।’

उद्योगीहरुले कवाड संकलक ठेकेदारबाट प्लाष्टिकजन्य सामाग्री खरिद गर्दै आउका छन् । यदि ठेकेदारहरुले नदिएको अवस्थामा बिरेन्द्रनगर लगायतका ठाउँबाट ल्याउनुपर्ने अवस्था छ । तर त्यहाँबाठ ल्याएको प्लाष्टिकजन्य सामाग्री कमसल हुने गरेको उद्योगी बताउँछन् । ‘व्यक्तिगतरुपमा यदि कसैले प्लाष्टिकजन्य सामाग्री खरिद गर्न चाहान्छ भने हामी तयार छौं । उचित मूल्य दिन्छौ ।’– रेग्मीले भने ।

 

प्लाष्टिकका झोला उत्पादकले विकल्प खोजे, अञ्सारी भन्छन्,–‘राम्रो काममा बाधक बन्दैनौ’

प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६     11:13:43 AM