एकै हप्तामा प्रहरी बिट सामुन्नेकै दुईवटा इलेक्ट्रोनिक्स पसल चोरी

नेपालगञ्ज/नेपालगञ्ज–११ स्थित व्यस्त मानिने बिपीचोकमा रहेको श्लोक मोवाइल पसलमा मंगलवार राती चोरी भएको घटना सेलाउन नपाउँदै शुक्रवार राती न्यूरोडस्थित स्वर्गदारी इलेक्ट्रोनिक्समा चोरी भएको छ । बिहान पसल खोलेपछि चोरीका बारे थाहा पाएको सञ्चालक कमल बोहराले जानकारी दिए । दश लाखसम्मको सामान चोरी भएको प्रारम्भिक अनुमान गरेपनि प्रहरीले क्षति विवरण र अनुसन्धान गरिरहेको छ ।

गत मंगलबार मात्र बिपीचोक प्रहरी बिट नजिकै रहेको हिमाल डेण्टरको छेउमै रहेको श्लोक मोवाइल सेन्टरमा सटक फोडेर चोरी भएको थियो । सञ्चालक विजय बैश्यका अनुसार चोरले नगद एक लाख ७५ हजार र १२ थान स्मार्ट मोवाईल लगेको छ । बुधवार विहान नौं बजे पसल खोल्दा चोरी भएको थाहा पाएको बैश्यले बताए । बिपीचोकमा सुरक्षाका लागि प्रहरी बिट छ । त्यहाँ रात,दिन प्रहरी तैनाथ हुन्छ ।

प्रहरी बिट सामुन्नेकै पसल एकपछि अर्को गर्दै चोरी भएपछि व्यावसायीमा त्रास उत्पन्न भएको नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरंजिवी ओलीले बताए । उनले आन यस बिषयमा बैठक बसेर आवश्यक निर्णय लिने र प्रहरी, प्रशासनको गम्भीर ध्यानार्कषण गराउने जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     9:52:34 AM