एकै वर्षमा पर्यटन क्षेत्रबाट रु ६९ अर्ब आम्दानी

नेपालगञ्ज -मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो।

सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो। उक्त आम्दानी सन् २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो। उक्त वर्ष ४१ अर्ब ७६ करोड पाँच लाख आम्दानी भएको थियो। सन् २०१८ मा पर्यटकको बसाइँ अवधि औसत १२।४ दिन रहेको थियो। पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन्।

अघिल्लो वर्ष पर्यटकको बसाइँ अवधि १२.६ दिन थियो। सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो। सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

विगत वर्षझै सन् २०१८ मा पनि छिमेकीमूलुक भारत र चीनबाट धेरै पर्यटक नेपाल भ्रमणमा आएका थिए। नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छ। भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र चीनबाट एक लाख ५३ हजार ६३३ र पर्यटक नेपाल आएका थिए।

बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रोमा छ। अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए। नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन्। सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएको सो स्टाटिसटिक्समा उल्लेख छ। त्यस्तै साहसिक पर्यटनमा रुचि राख्नेहरुको रोजाइँमा पनि नेपाल पर्ने गरेको छ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     4:57:13 PM