प्रादेशिक विश्वविद्यालयका लागि बाँकेमा कहाँ खोज्ने ‘सय बिघा’ जग्गा ?

नेपालगञ्ज – प्रादेशिक विश्वविद्यालय बाँकेमा स्थापना गर्नुपर्ने माग गर्दै बुधवार नेपालगञ्जबाट गएको डेलिगेशन टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई भेट्यो । डेलिगेशन टोलीले अध्ययनकै चरणमा रहेको प्रादेशिक बिश्वविद्यालय बाँकेमा किन स्थापना गरिनुपर्छ भन्ने तर्क औपचारिकरुपमै मुख्यमन्त्री समक्ष प्रस्तुत गरेको थियो । उक्त टोलीको कुरा सुनेपछि मुख्यमन्त्री पोखरेलले ‘विश्वविद्यालय कहाँ स्थापना गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको’ प्रतिक्रिया दिदै नेपालगञ्जका विषयमा नकारात्मक देखिएनन् । साथै उनले ‘विश्वविद्यालय स्थापना गर्न सय बिघा जग्गा आवश्यक पर्ने र त्यसको व्यवस्थापन बाँकेले कसरी गर्छ ?’ भन्ने जिज्ञासा राखेको डेलिगेशन टोलीका सदस्य पशुपति दयाल मिश्रले जानकारी दिए ।

मुख्यमन्त्रीको भेटपछि डेलिगेशन टोलीका धेरै सदस्य नेपालगञ्जमा प्रादेशिक बिश्वविद्यालय स्थापना भईहाल्छ भन्ने विषयमा उत्साहित छैनन् । प्रदेशको अहिलेको संरचना तयार भएपछि नेपालगञ्जमा भएका पुराना पूर्वाधार अन्यत्र सार्ने र नयाँ बन्नै नदिने गरेकाले विश्वविद्यालय पनि त्यस्तै हुन्छ की भन्ने आशंका गरिएको छ ।  डेलिगेशन टोलीको नेतृत्व गरेका नेपालगञ्जका मेयर धवल शमसेर राणाले नेपालगञ्ज बिजनेशसंग ‘ विश्वविद्यालयका विषयमा आफु उत्साहित नभएको तर छलफलको सुरुवात भएकोमा खुःसी ’ रहेको प्रतिक्रिया दिए । मुख्यमन्त्री पोखरेलले डेलिगेशन टोलीसंग भने जस्तै ‘सय विघा जग्गाको जोहो’ कसरी गर्ने ? अब नेपालगञ्जमा यो विषयमा घनिभूत छलफल हुने देखिन्छ । डेलिगेशन टोलीका सदस्य मिश्रले विश्वविद्यालयका लागि प्रदेश सरकारले मुआब्जा दिएर जग्गाको व्यवस्थापन गर्न नसक्ने संकेत दिएकोे छ ।

‘यसबाट के स्पष्ट भएको छ भने हामीले कतै न कतैबाट जग्गाको व्यवस्थापन गर्नै पर्छ । त्यसका लागि स्थानीय तहसंग छलफल गर्नुपर्ने आवश्यकता देखियो ।’ मिश्रले भने–‘एकै प्लटमा सय बिघा नभएपनि कम्तिमा विश्वविद्यालयको नाममा फरक -फरक प्लटमा भएपनि त्यतिका जग्गा चाहिन्छ भन्ने कुरा आयो ।’ अब जग्गा लगायतको पूर्वाधारको व्यवस्थापन कसरी हुन्छ र प्रदेश सरकारले नेपालगञ्जमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्न प्राथमिकता दिन्छ की दिदैन् हेर्न बाँकी छ ।

बिश्वविद्यालयका लागि तात्तियो नेपालगञ्ज : ‘डेलिगेशन’ टोलीले भेट्यो मुख्यमन्त्री, छलफलमा के भयो ?

प्रकाशित मितिः बिहिबार, साउन २, २०७६     7:32:15 AM