मजदुर नेताले लिए प्यान, अरुलाई पनि लिन सुझाव

  • कमल डाँगी

नेपालगञ्ज ३ साउन – अखिल टे«ड युनियन महासंघ बाँके अध्यक्ष बसन्त मल्लले शुक्रवार स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । ‘नयाँ व्यवस्था तत्कालका लागि झण्झटिलो भए पनि दिर्घकालिनरुपमा मजदुरकै हितमा आएको छ ।’– प्यान लिए पछि मल्लको प्रतिक्रिया यस्तो थियो ।

सरकारले चालु बजेटबाट ’एक ब्यक्ति एक लेखा नम्बर’ नीति लिएको छ । सबैले प्यान नम्बर लिनु पर्ने ब्यवस्था गरेपछि सरकारले आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुमा छुट्टै काउन्टर बनाएर प्यान वितरण गरिरहेको छ । कार्यालयले राजश्वको वेवसाइटमा गएर प्यानको फारम भर्ने ब्यवस्था मिलाएको जनाएको छ ।

सरकारको नयाँ घोषणासँगै साउन १ गतेबाट प्यान बिना तलब तथा १००० रुपैयाँभन्दा माथिको ज्याला भुक्तानी गर्न पाइँदैन । प्यान नलिएको अवस्थामा भुक्तानी गरेमा त्यसलाई सरकारले खर्च नमान्ने ब्यवस्था गरेको छ। यसो हुँदा भुक्तानी गरेको ब्यक्ति तथा संस्थाले आयकर बढि तिर्नु पर्ने हुन्छ । ‘प्यान नम्बरका आधारमा तलव भुक्तानी गर्दा यो बैंकिङ्ग प्रणालीमा जान्छ । त्यसो गर्दा मजदुर हितमा आएका जति पनि सरकारी निर्णय छन् सबै कार्यान्वयन हुन्छ ।’ मजदुर नेता मल्लले भने–‘ मजदुरहरु ठगिनबाट जोगिन्छन् ।’

तत्कालका लागि भने सरकारी निकाय र रोजगार प्रदायक निकायले मजदुरहरुलाई प्यान नम्बर दिलाउन र बैंकमा खाता खोल्नका लागि सहयोग गर्नुपर्ने मल्ले बताए । ‘कयौं मजदुरलाई यि प्रक्रियाका बारेमा थाहा छैन । दैनिक काममा व्यस्त हुने मजदुरलाई प्यान लिनका लागि सहयोग गर्न जरुरी छ ।’– मल्लले भने । पैसा नलाग्ने भएकाले सबै मजदुरले लिनुपर्ने उनको सुझाव छ । प्यान लिनुपर्ने व्यवस्था लागु भएपछि आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा सेवाग्राहीको अत्याधिक भिड लागेको छ ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका बाँके उपाध्यक्ष केपी घिमिरेले प्यान नम्बर लिनु मजदुरका लागि फाईदाजनक हुने बताए । उनले अन्य मजदुरलाई ल्याउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६     6:01:32 PM