व्यवसायीले भने,–‘मालपोतमा जस्तै भीसीटीएसमा इन्टरनेट नचले के गर्ने ?’

नेपालगञ्ज : नयाँ आर्थिक वर्षबाट लागु भएका प्रावधानप्रति असन्तुष्ट जनाउँदै निजी क्षेत्र यतिबेला आन्दोलित छ । प्यानका आधारमा तलव दिनुपर्ने, विभिन्न क्षेत्रमा भ्याट लगाइएको र भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्या्किङ सिस्टम (भीसीटीएस) लागु गरिएको भन्दै चरणबद्ध आन्दोन भइरहेको छ ।

बाँकेमा पनि नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्दोलनको सुरुवात गर्यो । आन्दोलनकै क्रममा शुक्रवार कोहलपुर, बाँसगढीका उद्योग वाणिज्य संघका अध्यक्ष, यस क्षेत्रमा उद्योगी, व्यवसायी संघ, राजनीतिक दलका प्रतिनिधिहरु सहभागि भएको बृहद छलफलको आयोजना गरिएको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणादेखि प्रमुख जिल्ला अधिकारी मदन भुजेलसम्म सहभागि भएका थिए ।

कार्यक्रममा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगायतका उद्योगी, व्यवसायीले नयाँ प्रावधाले पार्ने प्रभावका बारेमा बोलेका थिए । उनीहरुले मालपोत, राजश्व र यातायात कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले दुःख पाउने गरेको उदाहरण दिदै भने,–‘ भीसीटीएस लागु गरिएको छ । यदि मालपोत, यातायात, कर कार्यालयमा जस्तै इन्टरनेट चलेन भने ढुवानीकर्ताले भनेको बेला समान नपुर्याउने त ?’

देश प्रविधिमैत्री नभइसकेको अवस्थामा लागु गरिएका व्यवस्था लागु हुन नसक्ने व्यवसायीको दावी थियो । अन्य प्रावधान पनि अव्यवहारिक भएको उनीहरुको आरोप छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले अब देशव्यापीरुपमा आन्दोलन शुरु हुने जानकारी दिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६     8:13:50 PM