जडीबुटीले बदलेको विर्षको जीवन

खलङ्गा । गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएनन् । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने, नोकरीको सम्भावना नै सकियो । ज्याला मजदूरी बाहेक अरु उपाय उनका सामु थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई अगाडि बढाउने सङ्कल्प गर्नु थियो, उनले त्यही गरे ।

बुबाको अनुहार निचोरेको कपडा जस्तो गरी मुजा परेपछि, दुधमुखे भाइ हुँदै आमाले परान छाडेपछि, जिम्मेवारीको भारी उसै–उसै बढेर पहाड बनेको थियो । त्यसमाथि थपिएकी थिइन् श्रीमती, बढेका थिए लालाबाला । आफैंलाई च्याप्लाजस्तो जिम्मेवारीको पहाड । उनी चिन्तित हुन्थे । कमाउने अरु उपाय थिएन ।

परेपछि जिन्दगीले कामलाई नै प्रेम गर्न सिकाउँदो रहेछ । विर्षले पनि त्यही सिके । मजदूरी गरेर जीविकोपार्जन गरिरहेका विर्षको जीवनमा उनैले नचिताएको जागीरको अवसर मिल्यो । त्यसबेला सरकारी कार्यालयका सबैभन्दा तल्लो दर्जाको कर्मचारी ‘पियन’ हुन्थ्यो । त्यही पद गैरसरकारी संस्थामा ‘कार्यालय सहायक’ ले चिनिने । विर्ष बने कार्यालय सहायक । उक्त कार्यालयका हाकिम करण नेपाली जडीबुटीमा खुबै रुचि राख्थे ।

हाकिमले भने अनुसार सहायक हिँड्नुपर्ने । विर्ष पनि हाकिमले भने अनुसार नै कयौं पटक पाटनमा पुगे । जङ्गलहरू डुले । अनेकौं महत्त्वका जडीबुटी देखे । तिनलाई दैनिक जीवनमा उपयोगी हुने उपयोगिता सिक्दै गए । उनी सोच्थे – ‘गरीबहरूको ठूलो समस्या नुन तेल हो । नुनतेल नै नभएपछि अरु सोच्न भ्याइँदैन ।’ उनले एउटा खुद्रा पसल थापे ।

कार्यालय सहायक भएर जङ्गल डुल्दाडुल्दै उनलाई थाहा भइसकेको थियो, जङ्गल त जडीबुटीको भण्डार पो रहेछ । अब यसैलाई उपयोग गर्ने निष्कर्षमा उनी पुगे । भुल्ते, कुटकी, सुगन्धवाल, पदमचाल, विषम लगायत जडीबुटी किन्न व्यापारी गाउँ आउन थालेका थिए । ‘सिजन’मा मौका छोपे राम्रै कमाइ हुने । जङ्गलबाट कोरेर व्यापार गर्ने जति सबै जडीबुटी खेती गरेर व्यापार गर्यो भने फस्टाउँछ भन्ने उनलाई लाग्यो । सधैं जङ्गलका जडीबुटीमा भर परे एकदिन यी सबै जडीबुटी लोप हुनेछन् । प्रतिबन्धित अवस्थामै पाँच औंले लगभग लोप भइसक्यो । अरु जडीबुटी हिजोको तुलनामा निकै घटिसकेका छन् ।

कुनै ज्ञान बिना नै जङ्गलबाट भुल्ते, कुटकी, सुमयोका जरा ल्याएर लगाए । यो जडिबुटी हो भनेर थाहा पाउने बित्तिकै त्यसलाई ल्याएर पाखो बारी र खेत दुवैमा रोपे तर, सप्रिएन । जडीबुटी खेतीबारे कुनै किताब भए पनि उनलाई पढ्न आउँदैन । प्रयोग स्वरुप नजोतेको खेतमा बीऊ पनि छरे । त्यसपछि जडिबुटी भएका ठाउँनेरको माटो ल्याएर त्यसैको बेर्ना बनाए, यसपटक भने विस्तारै बीऊ उम्रन थाल्यो । कुनै जडीबुटी कम मेहनत मै सप्रिए, केहीलाई हुर्काउन निकै कष्ट गर्नु पर्यो ।

केही स्याउका बुटा कलमी गर्न पनि सिके उनले । नर्सरीमा उत्पादन भएका स्याउका बोटले ग्राहक पाउन थालिसकेका थिए । नर्सरी राम्रो हुँदै थियो । घोडमच्चो, तुलसी, वन कचुर, गुन्नाइनो, बायजडी, पदमचाल लगायत आठ वटा जडीबुटी मिलाएर पछि स्वादिलो ‘हिमाली अर्गानिक जडीबुटी चिया’ नामको हर्बल चिया बनाए । शुरुमा यसका ग्राहक थिएनन् । विस्तारै बढ्दै गए । पछि बजार भयो । कसैले उनलाई सुझायो कि कानुनी रूपमा उद्योग दर्ता गरी अघि बढ्नुपर्छ । अनि सरकारलाई प्रतिवर्ष राजश्व बुझाउने गरी दर्ता भए एकै पटक दुई उद्योग – ‘दिलक फलफूल तथा नर्सरी उद्योग’ र ‘शान्ति हिमाली अर्गानिक चिया मसला उद्योग’ । यिनै दुई उद्योगका मालिक हुन् विर्ष । तर, यसरी उद्यम गर्न सहज भने थिएन ।

केही समय उनी जस्ता उत्पादकहरूबाट उत्पादित स्याऊका बुटा खरिद गरेर कृषि विकास कार्यालयको अनुदानमा कृषकलाई वितरण गर्ने कार्यक्रम गर्दा कमाइ राम्रै भयो तर, सरकारी अनुदानको कार्यक्रम बीचमै रोकियो । बुटा बिक्री हुन छोडे । विर्ष भन्छन् – “बुटाले धोका दिए । एउटा बुटा दुई रूपैयाँमा पनि बिकेन । राजस्व तिर्न नसकिने स्थिति आयो । मेहनत त्यसै खेर गयो हजुर ।” धोका बुटाले दिएका हुन् वा सरकारले रु यद्यपि उनले फलफूल तथा नर्सरी उद्योगको राजस्व तिर्न भए पनि बुटा कलमी गर्न छोडेनन् ।

प्रयोग गरेको १३ औं वर्ष पुग्दा जिल्ला घरेलुु तथा साना उद्योग विकास समितिले एउटा सुनौलो अवसर दियो विर्षलाई । फलफूल र जडीबुटी उत्पादनमा अब्बल ठहरिए पछि उनी एक हप्ताका लागि थाइल्याण्ड उडे । यो थियो २०६६ सालको कुरा । थाइल्याण्डबाट फर्किदा उनमा फरक खालको जोश थियो । नयाँ काम गर्ने, नयाँ खोज गर्ने । उनले त्यहाँ सिकेको महत्वपूर्ण पक्ष थियो – पेटेन्ट राइट (अग्राधिकार) । उनलाई पनि आफ्नो उद्योगबाट सबैभन्दा बढी बिक्री हुने ‘चिया’ को पेटेन्ट राइट लिनुपर्छ भन्ने लाग्यो ।

त्यसका लागि उनले सबै प्रक्रिया पूरा गरिसकेका छन् । वनस्पति विभागबाट प्रयोगशालाको प्रतिवेदन ‘चिया गुणस्तरीय’ भनेर आइसकेको छ । अनेकन चुनौती चिर्दै विर्षले अहिले आफूलाई सहज र सुरक्षित मार्गमा उभ्याइसकेका छन् । शुरुका वर्षमा १०० प्याकेट चिया बेच्ने उनी अहिले वार्षिक पन्ध्र हजार प्याकेट बेच्छन् । यो वर्ष बीस हजार बेच्ने लक्ष्य लिएका छन् । बजार विस्तार भइरहेको छ । पहिला स–परिवार बेकामे हुन्थे । अहिले सबै आफ्नै उद्योगमा कार्यरत छन् । जडीबुटी झन् राम्रो हुँदै गइरहेको छ । सुमयो १५ देखि २० किलो उत्पादन हुन्छ । अत्तिस डेढ क्विन्टलसम्म उत्पादन भइरहेको छ । यो नौ सयदेखि हजार रूपैयाँ किलोमा बिक्री हुन्छ ।

उनलाई एउटा पिरले भने छोडेको छैन । जङ्गलबाट अव्यवस्थित रुपमा जडीबुटी सङ्कलन गर्दा बीऊ मासिने पो हो कि ? देशमै औषधि उत्पादन गर्ने उद्योग नहुँदा सुन भन्दा महङ्गा जडीबुटी कौडीको मोलमा भारत बेचिन्छ । हाम्रै जडीबुटीबाट बनेको औषधि सुनभन्दा महङ्गो मोलमा हामीले नै किन्नुपरेको छ ।

औषधि उद्योग र जडीबुटी प्रशोधन केन्द्र नेपालमै स्थापना हुनुपर्छ भन्नेमा उनी दृढ छन् । अहिले उनी जडीबुटी बजारमा सबैभन्दा बढी माग भएको वन लसुन र ह्याड्या (सेतो चिनी) को बीऊ उत्पादन गर्ने तयारी गरिरहेका छन् र भन्छन् – “सफल भयो भने ठूलै काम हुनेछ ।” उनले जिल्लामा पाइने ११० वटा जडीबुटीको सूची बनाएका छन् । केही संस्थाहरू जडीबुटीको भण्डारबाट बीऊ मास्ने गरी लागेका छन् । उनीहरू जति सकिन्छ जडीबुटी सङ्कलन गर पैसा कमाउ भन्दैछन् । रामदेवहरू पाटन कब्जा जमाउन सरकारलाई समेत प्रभाव पार्दैछन् । ‘मियाके जुत्ते मियाके शिरपर’ हुँदैछ । एक पटक भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले विर्षलाई जङ्गलबाट अत्तीसका चार हजार बिरुवा ल्याउन भनेको पनि थियो ।

उनले बीऊ मासिने खतरा देखेपछि ऊ सँग काम गरेनन् । बरु बीऊ सङ्कलन गरेर आफूले खेती गरे । उनलाई सबैभन्दा बढी चिन्ता जडीबुटीकै छ । नहोस् पनि किन, जडीबुटीले नै उनको जीवन बदलिएको हो । गाउँघरमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने परम्परागत शीप भएका थुप्रै मान्छेहरू छन् । कति त्यस्ता सिपालु मान्छे मरेसँगै उनीहरूको शीप र उपचार पद्धति पनि मरेका छन् । विर्र्षले भने उक्त शीप सिकेका छन् ।

गाउँघरमा कसैलाई सानोतिनो बिमार लाग्यो भने उनी वैद्यको काम गर्छन् । गानुगोलो, दम, सुगरलगायत रोग निदानको औषधि बनाउँछन् । कुनै समय मजदूरी गरेर जीविकोपार्जन गर्ने उनी आफ्नै मेहनत र पौरखले अहिले दुई वटा उद्योगका मालिक भएका छन् । उद्यमी बनेका छन् । – विजय रावत/रासस

प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६     8:07:24 AM